मतदान पछि देउवा–ओली जुहारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार मतदानपश्चात् शीर्ष नेताबीच आरोपप्रत्यारोप चलेको छ । उम्मेदवारी दर्ताअघि र प्रचारप्रसारका क्रममा एकअर्कालाई आरोप–प्रत्यारोपमा बढी समय खर्च गरेका शीर्ष नेता मौन अवधिमा केही समय मौन जस्तै भए पनि मतदान गरेपछि उही पुरानै शैलीमा उत्रेका छन् ।

सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच रोचक वादविवाद भएको छ । शुक्रबार मतदान गरिसकेपछि दुई नेताले एकअर्कालाई आरोप लगाएका हुन् ।

प्रधानमन्त्री देउवाले डडेल्धुरा गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’बाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबैको भ्रम चिरेर निर्वाचन भएको टिप्पणी गरेका छन् ।

निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो हो । निर्वाचनविरोधी शक्ति पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महŒवपूर्ण छ ।’

दउवाले अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजे पनि सरकारले चुनाव गर्न सफल भएको उनले बताए । उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको भन्दै कांग्रेस गठबन्धन कमजोर नभएको जिकिर गरे ।

उता एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’मा मतदान गरेका छन् । मतदान गरिसकेपछि ओलीले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत ९ वैशाखसम्म स्थानीय तहको निर्वाचन सारौं भन्ने प्रस्ताव गरेको खुलासा गरे ।

‘वैशाख ९ गते उहाँ (देउवा)ले चुनाव सारौं भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भने, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ’ अध्यक्ष ओलीले भने, ‘निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’

ओलीले थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

मतदानपछि अध्यक्ष प्रचण्डले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदानमा मतदाता सहभागी भएको बताए । प्रचण्डले भने, ‘स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशिला भएको हो ।’

एक अर्को प्रसंगमा दाहालले भने, ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित कन्या प्राथमिक विद्यालयमा मतदान गरेका छन् । उनी काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मतदान गरिसकेपछि अध्यक्ष नेपालले निर्वाचन आचारसंहिताको पालना गराउन निर्वाचन आयोग असफल भएको टिप्पणी गरेका छन् । भोजभतेर, प्रचारप्रसारलगायतका बिषयमा आयोगले आचारसंहिता पालना गराउन नसकेको र उल्लंघन गर्नेलाई कारबाहीसमेत नगरेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मतपत्र भद्दा भएको टिप्पणी गरेका छन् । विराटनगर–१४ स्थित स्नात्तकोत्तर क्याम्पस मतदान केन्द्रमा मतदान गरेपछि उनले निर्वाचन आयोगले सहज किसिमको मतपत्र बनाउन नसकेको टिप्पणी गरेका छन् ।

‘मतपत्र भद्दा हुँदा सर्वसाधारणले सहज रूपमा मतदान गर्न पाएनन् । मतपत्रकै कारण धेरै मत बदर हुने स्थिति देखियो,’ अध्यक्ष यादवले भने, ‘सर्वसाधारणलाई होइन निर्वाचन आयोगलाई नै मतदान शिक्षाको आवश्यकता देखिएको छ ।’

यादवले अगाडि भने, ‘चेतना र शिक्षाको अभाव भएको मुलुकमा दुई÷दुई पन्नाको लामो मत पत्र बनाउन हुन्न थियो । मतपत्र दुई÷तीन भागमा बाँडेर दिँदा सहज हुन्थ्यो ।’

दलहरूले दिएको सुझावलाई आयोगले बेवास्ता गर्दै सुझावको आधारमा काम नभएको आरोप उनले लगाए । ‘आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमै त्रुटि देखियो,’ यादवले भने, ‘समयमै सच्याउनुपर्ने थियो । तर, आयोगले सच्याउने काम गरेन ।’

ऐतिहासिक निर्वाचनबाट ७ सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कुल ३५ हजार २ सय २१ जना निर्वाचित हुनेछन् । शुक्रबार भएको मतदानमा कतै शान्तिपूर्ण तरिकाले मतदान भएको छ भने कतै झडप, मतपेटिका लुटिएको समेत निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 542 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता