काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा ‘योजनाबद्ध धाँधली’ गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पुनः निर्वाचन गर्नुपर्ने माग गरेको छ ।
निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानका दिन तथा मतदान सम्पन्न भएपश्चात् मतगणनाको समयमा समेत सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको सहयोगमै योजनाबद्ध धाँधली गरेको आरोप एमालेले लगाएको हो ।
एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्तिमार्फत योजनाबद्ध धाँधली गरिएकाले त्यस्ता पालिका एवं वडामा पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । ‘पुनः मतदान र मतगणनाका लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न र हामीले २०७९÷१÷३० लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका निवेदनअनुसार निष्पक्षतवरले पुनः मतदान गराउने र मतगणना गराउन आग्रह गर्दछ,’ एमाले महासचिव पोखरेलले भनेका छन् ।
एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरेको गम्भीर आरोपसमेत लगाएको छ । उसले १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएको छ ।
निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोसी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोसी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बाग्मती, बरहथवा, रौतहटको करुनियालगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य सत्तारूढ गठबन्धनले सरकारकै सहयोगमा गरेको आरोप एमालेको छ ।
पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच देखाएको एमालेले जनाएको छ ।
‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पु¥याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारीसाधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो,’ एमालेले आरोप छ ।
देशैभरि शुक्रबार निर्वाचन सम्पन्न भएर अहिले मतगणना भइरहेको छ । केही ठाउँमा विवाद, झडप तथा झैंझगडा भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने जनाएको छ ।
‘हामी सत्ता गठबन्धनबाट नेकपा (एमाले)विरुद्ध गरिएका मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं,’ एमालेले माग गरेको छ ।
जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो । तर, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको आरोप एमालेको छ ।
सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ । एमालेले निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको निष्कर्ष निकालेको छ । निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारी खटाएको एमालेले आरोप लगाएको छ ।
‘हाम्रा मतदातालाई हतोत्साहित गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदानपछि मात्र छाड्ने कार्य गरियो । निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोस्टमार्टम गर्नसमेत नगरी त्यसै राखिएको’ एमालेले भनेको छ ।
मौन अवधिमा बुटवललगायतको स्थानमा एमालेका उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रूपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्नेलगायतको हत्कण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदासमेत रोक्न कुनै सार्थक प्रयास नभएको एमालेको भनाइ रहेको छ ।
‘उदयपुरको त्रियुुगा नगरपालिका–१२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिनेगरी गृह प्रशासनको चरम दुरुपयोग भएको छ,’ एमालेले भनेको छ ।
यस्तै, निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकैपटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य भएको ठहर एमालेको छ । निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगन्ज महानगरलगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्नेजस्ता कार्यप्रति एमालेले गम्भीर आपत्ति जनाएको छ ।
स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग भएको भएको जनाउँदै एमालेले केही स्थानमा मतगणना गर्दा खसेको मतभन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्यसमेत भएको छ ।
‘मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुुग्नेगरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिह्नमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्यसमेत गरिएको छ,’ एमाले भनेको छ ।
यसैगरी, मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र एमाले पक्षधर उम्मेदवारको मत बदर गर्नेगरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुुङको मध्य नेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना भइरहेको एमालेले जनाएको छ ।
मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरि वडा नम्बर ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेकोमा एमाले आपत्ति जनाएको छ ।
मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र एमालेले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको पार्टीले जनाएको छ । मत गणना कार्य छिटोछरितो हुनुपर्नेमा अनावश्यक ढिलाइ गर्ने कार्य भइरहेको भन्दै एमालेले मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसँग मागसमेत गरेको छ ।






