सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले खाता खोलेको छ । रामनगर गाउँपालिकामा २२ वर्षिय युवा राजा बाबु यादव अध्यक्षमा विजयी भएका छन् ।
यादवले ४ हजार ८१ मत ल्याएर बिजय भएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । यादवका निकटतम प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे । राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काकालाई पराजित गरेका हुन् ।
त्यस्तै रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गीता देवीले ३५२३ मत ल्याएर विजयी भएकी छिन । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरे । राजाबाबु माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् ।
२०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेद्वारी खारेजीमा परेको थियो । रामनगर गाउँपालिका गरी सर्लाहीमा तिन पालिकाको नतिजा सार्वजनिक भएको छ ।