काठमाडौं । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताएका छन् ।
मधेश प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत अन्य प्रदेशमा जाने गरेका छन् । यसले विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नाका साथै बसाइँ तथा अन्य व्यावहारिक समस्या सिर्जना गर्दै आएको छ ।
मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ ।
क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसकेको भए पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।
नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गर्ने सरकारको योजना छ । आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ ।
सरकारले मधेशमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना गरेपछि यस क्षेत्रका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरेको छ । साथै, स्थानीयस्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ ।
हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् । मधेश प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि डिस्चार्ज
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि माथिल्लो भागमा उद्धारकर्मी सक्रिय
हिम पहिरोवारे यस्तो आयो चिनियाँ तथ्य
राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरेका छौं: प्रधानमन्त्री शाह
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने






