काठमाडौं । सशस्त्र प्रहरी कर्मचारीहरूले अब शारीरिक व्यायाम र खानपानमा विशेष जोड दिनुपर्ने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले फौजीलायक शारीरिक स्वास्थ्य तथा चुस्ततामा विशेष जोड दिने निर्णय गरेसँगै सशस्त्र कर्मचारीहरूले अब आफ्नो उचाइअनुसारको तौल मिलाउनुपर्ने भएको छ । साथै ठूलो भुँडी भएकाले घटाउनुपर्नेछ ।
सशस्त्रले कार्यरत कर्मचारीहरूको ‘बडी मास इन्डेक्स’ (बीएमआई) प्रणालीलाई पेसागत वृत्ति विकाससँग आबद्ध गर्न शारीरिक स्वास्थ्य तथा चुस्ततामा विशेष जोड दिन लागेको हो । यसका लागि बैठकले आवश्यक नीतिगत व्यवस्थाका लागि रायसहितको प्रतिवेदन पेस गर्न मानवस्रोत विभागलाई भनेको छ ।
परामर्श समिति बैठकमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)देखि महानिरीक्षक (आईजीपी)सम्मको प्रतिनिधित्व रहने व्यवस्था छ ।
स्रोतका अनुसार बैठकले मानवस्रोत विभागसँग सम्बन्धित १० र भण्डार महाशाखासँग सम्बन्धित एकसहित ११ वटा निर्णय गरेको छ । मानवस्रोत विभागसँग सम्बन्धित बुँदाको चौथो बुँदामा बीएमआईलाई राखिएको छ ।
यस्तै, बैठकले सशस्त्र प्रहरी कर्मचारी सरुवा÷बढुवा भई एक युनिटबाट अर्काे युनिटमा जाँदा उनीहरूले प्रयोग गर्दै आएको बेड÷बिस्तारा साथैमा लिएर जाने परम्पराको अन्त्य गर्ने निर्णय गरेको छ । यो काम अत्यन्तै झन्झटिलो र असुविधायुक्त भएको ठहर गर्दै सो निर्णय लिइएको हो । बैठकले यसका लागि कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने बेड÷बिस्तराहरूको आवश्यक व्यवस्थापनका लागि गुल्म तहसम्मलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले सशस्त्र प्रहरी बलमा कार्यरत महिला कर्मचारीहरूको सुविधा एवं निजका सन्ततिको हितलाई ध्यानमा राखेर आवश्यकताको आधारमा शिशु स्याहार केन्द्र÷प्ले गु्रप स्थापना गरी सञ्चालन गर्ने निर्णय पनि लिएको छ । हाललाई गण तहसम्मका इकाईहरूले यो व्यवस्था गर्नुपर्नेछ ।
यस्तै, बैठकले निवृत्तिभरण शाखालाई आवश्यक जनशक्ति एवं साधनस्रोतको व्यवस्थापन गरी सोअन्तर्गत रहनेगरी सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा केन्द्रीय सहायता÷समन्वय कक्षको स्थापना गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी कर्मचारीहरूको बृहत्तर सुविधालाई ध्यानमा राखी निजहरूलाई अवश्यक पर्ने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, किताबखानालगायतका सेवा प्रदान गर्ने कार्यलाई सहज बनाउन र आवश्यक आर्थिक÷व्यक्तिगत परामर्श प्रदान गर्न यो व्यवस्था गर्न खोजिएको हो ।
पूर्वसशस्त्र प्रहरी कर्मचारी एवं आफन्तजन कुनै युनिटमा भेटघाटका लागि आउँदा उनीहरूलाई बस्न र खानाको प्रबन्ध संस्थागत तवरबाट सम्बन्धित युनिटले व्यवस्थापन गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरूको ‘अनपोल’ मिसनहरूमा सहभागिता बढाउन सशस्त्र प्रही बल प्रधान कार्यालयमा फ्रेन्च भाषा प्रशिक्षण कार्य सुरु गर्ने र यसका लागि आवश्यक कार्यविधि तयार गरी पेस गर्न बैठकले निर्देशन दिएको छ ।
बैठकमा युनिट तहलाई पनि आन्तरिक स्रोतहरूको पहिचान गरी सकल दर्जाको हितमा हुनेगरी सानातिना कल्याणकारी कार्यहरू सञ्चालन गर्नुपर्ने आवाज उठेको छ । बैठकले यस विषयमा कार्यविधि तयारी गरी पेस गर्न निर्देशन दिएको छ ।
बैठकले संगठनको ‘इन्स्टिच्युनल मेमोरी’लाई प्रविधियुक्त बनाउन एवं बिदा प्रणालीलाई ‘डिजिटलाइज्ड’ गर्न आवश्यक सफ्टवेयर निर्माण एवं कार्यविधि तयार गरी पेस गर्न निर्देशन दिएको छ ।
यसैगरी, बैठकले सशस्त्र प्रहरी परिचरहरूलाई जवानसरहको फ्रिस्केलका सामान, जुनियर अधिकृतहरूलाई टपबुट एवं सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकहरूले कार्यालय पोसाकमा कलर डक्स लगाउने व्यवस्था गर्न अन्य सुरक्षा निकायमा भएको व्यवस्थालाई समेत आधार मानी बृहत् छलफल गरी उपयुक्त रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
यस्तै, जुनियर अधिकृत तथा बिल्लादार, जवानलाई अनिवार्य रूपमा तालिम समापनपश्चात् प्रमाणपत्र दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । यसअघि वितरण गर्न बाँकी रहेका प्रमाणपत्र आवश्यक समन्वय गरी सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीहरूलाई उपलब्ध गराउन पनि बैठकले निर्देशन दिएको छ ।
बैठकले सशस्त्र प्रहरी कर्मचारीहरूले नियमानुसार पाउने फ्रि–स्केलका सामान समयमै वितरण यससम्बन्धी गुनासोलाई सम्बोधन गर्न भण्डार महाशाखालाई निर्देशन दिएको छ । बैठकले भण्डार महाशाखाले सामान प्राप्त गरी आम्दानी बाँधेको एक महिनाभित्र सम्बन्धित बाहिनी मुख्यालयमा पठाइसक्नुपर्ने र बाहिनी मुख्यालयहरूले सामान प्राप्त गरेको १५ दिनभित्र सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीले प्राप्त गरिसक्नेगरी व्यवस्था मिलाउनुपर्ने भनेको छ ।






