धरानदेखि धनगढीसम्म स्वतन्त्र

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुँदै छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहदेखि धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ र धनगढीका गोपाल हमालसम्म चर्चामा छन् ।

साम्पाङले धरान उपमहानगरको प्रमुखमा र हमालले धनगढी उपमहानगरको प्रमुखमा आइतबार दिउँसो नै जित हात पारिसकेका छन् भने काठमाडौं महानगरको मतगणना जारी छ ।

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङले राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत ल्याएका हुन् ।

यसैगरी, धनगढी उपमहानगरपालिकामा समेत आँप चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल निर्वाचित बन्दा कांग्रेसका उम्मेदवार नृप बड पराजित भए । हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा बडले १४ हजार ८ सय १७ मत मात्र ल्याएर पराजित बनेका हुन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका साहले ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा कांग्रेस र एमालेका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।

महोत्तरीको बर्दिवासमा ठूला राजनीतिक दललाई पराजित गर्दै प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बर्दिवास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षत्री १४ हजार २ सय १० मत ल्याउँदै विजयी भएका हुन् । उपप्रमुखमासमेत स्वतन्त्र उम्मेदवार तारादेवी महतो ९ हजार ७ सय ३६ मत पाएर विजयी भएकी हुन् ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि कांग्रेसका उम्मेदवारभन्दा फराकिलो मतान्तरले अघि छन् । भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि तेस्रो स्थानको मत पाइरहेका छन् । उनी कांग्रेसबाट टिकट नपाएपछि भुइँकटहर चिह्न लिएर स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका थिए ।

यसैगरी, माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ निर्वाचित भएका छन् । यस्तै, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भए ।

यसैगरी, कर्णाली प्रदेशअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन् ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनिल वली, ललितपुर महानगरपालिका एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।

पाँचथरको फालेलुङ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार अनिश गुरागाईं निर्वाचित भए । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार नारायण मल्ल विजयी भए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वली निर्वाचित भए ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडा अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ निर्वाचित भएका छन् । हुम्लाको चेफ्ली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला, सिरहाको सिरहा नगरपालिका २१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल निर्वाचित भए ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ निर्वाचित भए भने बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा निर्वाचित बने ।

यस्तै, डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी