आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त हुँदा १९ जना यात्रुसहित ३ जना चालक दलका सदस्य सबैको मृत्यु हुन पुगेपछि यसले नेपाली हवाई यात्रामा फेरि पनि गम्भीर प्रश्न उब्जाएको छ । विकट पहाडी धरातल, क्षणभरमा हुने मौसम परिवर्तन, आकस्मिक अवतरणका लागि मैदान वा एयरपोर्टको अभाव, बेलाबेलामा नेटवर्कमा आउने समस्या, टर्मिनल सम्पर्कको समस्या, पुराना र सस्ता मूल्यका जहाजको प्रयोग तथा नेपाली भूगोलको विशिष्टतामा अपर्याप्त तालिम आदि कारणले पटकपटक यस्ता दुर्घटना निम्तिने गरेका छन् । यसमा थप वैकल्पिक सञ्चारको अभाव, स्थानीय आकस्मिक सम्पर्क केन्द्रको अभाव, भूगोलको सही जानकारी नहुनु, जहाजमा हुन सक्ने सम्भाव्य गडबडी’bout लापबाही रहनु र ‘भइहाल्छ’ भन्ने नेपाली सोचले काम गरिरहेको देखिन्छ । कतिपय अवस्थामा त उचाइ मापनका यन्त्र समेतले धोखा दिने गरिरहेको सहज अनुमान पनि गर्न सकिन्छ । जहाज ‘टेकअफ’ तथा ‘ल्यान्डिङ’का बीचमा पार गर्नुपर्ने दूरी, हरेक दूरीपछि लिनुपर्ने ‘अप÷डाउन’ र खराब मौसममा आवश्यकताअनुसार यसले लिएको टर्निङ तथा प्राकृतिक भौगोलिक अवस्थितिको अंक गणितीय र ज्यामितीय हिसाब एकएक ख्याल गरिनु जरुरी छ ।
विमान चालक हुन पढिएको कोर्स र काम गरिने भूगोलमा विमान उडानका लागि आइपर्ने व्यावहारिक कठिनाइको तालमेल कमै हुने गरेको नेपालमा निरन्तर हुँदै आएका दुर्घटनाले देखाइरहेका छन् । अर्कोतिर सुरक्षा र खोजी कार्यका लागि जहाजका संवेदनशील रूटमा राखिनुपर्ने सुरक्षा पोस्ट, सम्पर्क कार्यालय र स्थानीय जनतासँगको जीवित सम्पर्क पनि कायम नगरिएको देखिएको छ । यसले दुर्घटना भइसकेपछि पनि हुनुपर्ने तत्कालको खोजी कार्यमा निकै ढिलाइ हुन गई तनाव र संकट सिर्जना गरिरहेको छ । दुर्घटना हुन र गराउन खराब मौसमले केही भूमिका त निर्वाह गर्छ, तर सिंगो र शतप्रतिशत भूमिका खराब मौसमको मात्र गर्ने भनिनु गाल छल्ने काम मात्र हो । साँचो हो, उडानमा ‘भिजिविलिटी’ अति आवश्यक छ र हुन्छ पनि । तर, ‘भिजिविलिटी पुअर’ भएको अवस्थामा फ्लाई ब्याक वा अति जरुरी अवतरणका लागि अपनाइने वैकल्पिक सोच तथा त्यसको कार्यान्वयनका लागि चालकले लिने पहलकदमीका बखत जहाजको ‘कन्डिसन’ले साथ दिन्छ वा दिँदैन, सो’bout कमै बोल्ने र अध्ययन गर्ने गरिएको छ । यसमा जहाजमा राखिएको ‘ब्ल्याक बक्स’को सहारा त लिने गरिएको छ । तर, यो नितान्त ‘टेक्निकल’ कुरा हो ।
जहाज आफैंमा मेसिन हो । यसले मेसिनरी डिजाइनअनुसार काम गर्छ । तर, जहाज चालक र चालक दल भनेका सचेत सोच र बदलिँदो परिस्थितिअनुसार निर्णय लिनसक्ने र कार्यान्वयन गर्ने सजीव प्राणी हुन् । हो, यसै बेलामा जहाजको ‘कन्डिसन’ सही वा बिग्रिएको हुनुले निर्णायक अवस्थामा पु¥याउँछ । उडानमा सेकेन्डभरमा पहल कदमी लिनुपर्ने हुन्छ । मेसिनमा हुने सेकेन्डभरको ढिलाढाला वा तीव्रताले पनि दुर्घटनामा पु¥याउन सक्छ । हरेक दुर्घटनापछि छानबिन हुने, छानबिन समितिले दुर्घटनाका कारण र सुझाव दिने गरे पनि उक्त सुझावअनुसार न त नागरिक उड्डयन क्षेत्रमा सुधार आउन सकेको छ, न त दुर्घटनामा कमी आइरहेको छ । सुझाव कागजमा सीमित रहन पुगेको देखिन्छ । थोत्रामोत्रा जहाज खरिद गरेर रातारात पैसा कमाउनेभन्दा पनि नयाँ र भरपर्दा जहाज खरिद गरेर दीर्घकालीन, बढी सुरक्षित र ढुक्क बनाउनेतिर व्यवसायीले ध्यान दिनैपर्छ । सरकारले पनि उड्डयन व्यवसायीका लागि सेवा र सुविधा दिन आँट गर्नुपर्छ ।






