स्थानीय निर्वाचन नेताका लागि शिक्षा

हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम परिवर्तनकारी सचेत मतदाताका निम्ति अपेक्षित रह्यो भने दलका निम्ति अनपेक्षित । निर्वाचन परिणामले दललाई मात्र होइन योग्य उम्मेदवार छानीछानी मत दिन समस्त मतदातालाई निर्देशित पनि गरायो । निर्वाचन परिणामले एकातिर मतदातालाई उत्साहित गरायो भने अर्कोतर्फ नेतालाई सवक पनि सिकायो । नेताको पकेटका दलीय उम्मेदवार मात्र होइन दलमै आवद्ध नभएको सामान्य व्यक्तिले पनि कुशल र दक्ष नेतृत्व दिन सक्ने जनविश्वास उत्पन्न गरायो । यसलाई हामीले मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुनुपर्दछ भने सूचकको रूपमै हेर्नुपर्दछ । जुन अहिलेको आवश्यकता नै हो ।

विकास निर्माणको दृष्टिले स्थानीय तहको निर्वाचन सबैभन्दा महŒवपूर्ण मानिन्छ । किनकि, देशको विकास भन्नु नै स्थानयि तहको विकास हो । स्थानीय तहको विकास नभए देशको विकास हुँदैन । स्थानीय तहका नेता सक्षम, दक्ष, इमानदार, सेवा भावनामा समर्पित, जागरूक र विकासप्रेमी भए जनताको जीवनस्तर नै सुध्रिन्छ । विकृति र विसंगति हट्छन् । सेवाग्राहीले लोकतन्त्रको व्यावहारिक अनुभूति गर्न पाउँछन् । राजनीतिक वातावरण पनि स्वच्छ र पारदर्शी हुन्छ । मुलुकमा उत्पन्न राजनीतिक वितृष्णा पनि व्यवस्थाको कारणट होइन परम्परागत प्रवृत्तिका राजनीतिक व्यक्तिकै कारण उत्पन्न भएको हो भन्ने कुरा पनि मतदाताले बुझ्दै आएका छन् । संकुचित मानसिकताका स्वार्थी नेताबाट राज्यले निकास पाउँदैन, यस्ता व्यक्तिको नेतृत्व फलदायी हुँदैन भन्ने ठानेरै विकल्प खोज्ने क्रममा स्थानीय तहमा अहिले अनपेक्षित रूपमा नयाँ योग्य व्यक्ति नेतृत्व लिन पुगेका हुन् । यो सह्रानीय पक्ष हो ।

नेता सम्वद्ध चुनौती नै पछिल्लो समयमा राष्ट्रिय चुनौती बन्दै आएको छ । व्यक्ति विशेषकै कारण तमाम नागरिकले समस्यामा रुमलिनुपरेको छ । कथित नेताको भूमिका वास्तविक नेताकै रूपको नहुँदा राजनीतिक विकृति फैलिएको छ । नेताले राजनीतिलाई सेवाबाट आर्जनको पेसा बनाउँदा नदीका दुई किनाराजस्तै बन्नुपर्ने अपराध र राजनीति एकै सिक्काका दुई पाटा जस्तै भए । यसपछि भने अपराध र राजनैति अप्राकृतिक गठोर संस्थागत रूपमै सुदृढ भयो । यसैको परिणाम उच्चपदस्थ राजनीतिक व्यक्ति नै अपराधमा संलग्न हुन थाले । भ्रष्टाचार, राजनीतिक अपराध, राजनीतिक छहारीभित्रै अपराध मौलाउँदै आए । कारबाही गर्नुपर्ने राजनीतिक अपराधीलाई राज्यले नै संरक्षण दिँदा आपराधिक जगत् नै प्रोत्साहित बन्यो । राजनीतिक पकडमा रहनुपर्ने अपराधीले उल्टै राजनीतिक व्यक्तिलाई नै पकडमा राखी स्वार्थमा परिचालित गराउन थाले । यसपछि त अपराधी कानुनभन्दा माथिको ठानिँदै आए । यो प्रवृत्तिलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा अझै प्रोत्साहित गराउँदै ल्याए ।

विकृतिकै कारण सर्वसाधारण नागरिकको अवस्था भने दयनीय बन्दै आएको छ । प्रचारमुखी विकास निर्माण जनताका निम्ति लाभदायक बन्न सकेको छैन । राज्यले नै विकास निर्माणको दायित्व अपराधिक गिरोहलाई सुम्पिँदा सालिन्दा राष्ट्रिय बजेट दोहन भइरहेको छ । पदीय दायित्वप्रति नेता संवेदनशील नबन्दा राज्यप्रतिको जनविश्वासमा ह्रास आएको छ । शीर्षस्थ नेताकै कार्यशैली र व्यवहार स्वार्थ केन्द्रित हुँदा त्यसले केन्द्रदेखि स्थानीय तहसम्मलाई प्रभावित बनाएको छ । यही व्यक्तिवादी प्रवृत्तिलाई हाबी गराउने उद्देश्यले हालैको स्थानीय तहको निर्वाचनमा पनि नेताले अधिकांश उम्मेदवार आफ्नै यसम्यान, सहयोगी, परिवारकै सदस्य तथा चाकडीदारलाई नै खडा गरे । नेताको रोजाइका व्यक्तिबाट जनता होइन नेता नै लाभाञ्वित बन्छन् भन्ने कुरा विगतकै अुनभवबाट सर्वसाधारणले अनुभूति गर्दै आएका थिए । यसै पृष्ठभूमिमा दलको ट्रेड मार्कवाला व्यक्तिभन्दा सक्षम, दक्ष र इमानदार जनसेवीलाई स्थानीय तहको सत्ता सुम्पने जनअभिालासा केही हदसम्म पूरा भएको छ । परम्परागत संकुचित मानसिकताकै अन्त्यका लागि मतदाताले चालेको यो प्रारम्भिक कदम हो । आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पनि मतदाताले यही छनोटशैली अपनाउँदै गए राष्ट्रिय राजनीतिलाई विकृतिरहित बनाउन सकिन्छ भन्ने कुरा सबैले बिर्सिनुहुँदैन ।

दलको कमीकमजोरीका कारण होइन, शीर्षस्थ नेताकै कार्यशैलीका कारण स्थानीय निर्वाचन ठूला दलका लागि शिक्षा लिने गतिलो झापड बनेको छ

वास्तवमा राष्ट्रिय राजनीतिको शल्यचित्सक भनेकै आममतदाता हुन् । जसरी शल्यचिकित्सकले चिरफार गरी शरीरको रोगी भाग निकाली तन्दुरूस्त बनाइदिन्छन्, उसैगरी राजनीतिक विकृतिवाला क्रोनिक व्यक्ति हटाई स्वच्छ र तन्दुरूस्त व्यक्तिलाई जिम्मेवारी दिई राजनीतिलाई जनहितकर बनाउने शल्यचिकित्सक आमजनता नै हुन् । यस क्रममा राजनीतिक चिकित्सक पनि शल्यचिकित्सक जतिकै दक्ष र पोख्त हुनैपर्दछ । यो दक्षता सर्वसाधारण नागरिकले विगतकै राजनीतिक व्यक्तिको कार्यशैली र व्यवहार’bout विस्तृत मूल्यांकनबाटै आर्जन गरेका हुन्छन् । राजनीतिक व्यक्ति कुन दक्ष छ, कुन अदक्ष तथा को रोगी छ को तन्दुरूस्त छ ? भन्ने उनीहरूकै व्यवहारबाट जनताले पहिचान गर्न सक्छन् । यही क्रममा हालैको स्थानीय निर्वाचनमा आममतदाताले राजनीतिक चिकित्सकको दक्षता हासिल नगरे पनि सामान्य राजनीतिक स्वास्थ्यसेवक र सेविकाको भूमिका सम्पादन गरेर देखाइदिए । यो प्रयासलाई निरन्तरता दिँदै गए आगामी दिनमा हुने संघीय एवं प्रदेश संसद्को निर्वाचनमा मतदाताले आफू विज्ञ राजनीतिक चिकित्सक बनेको प्रमाणित गर्नेछन् ।

सर्वसाधारण नागरिकमा राजनीतिक चेतना विस्तार भइरहेको छ भन्ने कुरा मतदाताले मात्र होइन स्वतन्त्र उम्मेदवारले नै प्रमाणित गरिदिएका छन् । स्वतन्त्र उम्मेदवारको बढ्दो संख्याले मौलाउँदो अवस्थाको राजनीतिक विकृति उन्मुलन हुनुपर्छ भन्ने संकेत दिएको छ । यो ठूला भनिएका दलका शीर्षस्थ नेताकै कार्यशैलीप्रतिको असन्तुष्टि पनि हो । यस अर्थमा स्वतन्त्र उम्मेदवारले शीर्षस्थ नेतालाई चुनौती दिए, जुन प्रशंसनीय छ । यो राजनीतिक सुधारको सकारात्मक सन्देश हो । लोकतन्त्रमा कानुनी मापदण्ड पुगेको जुनसुकै व्यक्तिले पनि उम्मेदवारी दिन सक्छ । उम्मेदवारप्रतिको दलीय वक्रदृष्टि कहिल्यै पनि लोकतान्त्रिक हुन सक्दैन । लोकतान्त्रिक व्यवहार अनाउने जननेताले त स्वच्छ प्रतिस्पर्धाबाट छानिएको दक्ष व्यक्तिलाई बढी प्रोत्साहित गराउनुपर्छ ।

तर, गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका व्यक्तिलाई शीर्षस्थ नेताले शत्रुतापूर्ण व्यवहार गर्नुले शीर्षस्थ नेता नै लोकतन्त्रको आवरणभित्र हैकमवादी पारिवारिक शासन स्थापित गराउन लागिपरेको संकेत गर्दछ । हालै, सम्पन्न स्थानीय तहको निर्वाचनकै कुरा गर्ने हो भने काठमाडौं र भरतपुर महापालिकाको मेयर पदका उम्मेदवारमध्ये क्रमशः वालेन साह र रेणु दाहाल सबैको चासोको उम्मेदवार बने । मुलुककै सम्पूर्ण मतदाताको दृष्टि यी दुईमा प¥यो । तर, त्यसमध्येकै बालेन साहप्रतिको जनदृष्टिकोण सकारात्मक थियो भने रेणु दाहाल पारिवारिक राजनीतिकै निरन्तरताको पात्र भएकै कारण उनीप्रतिको आमनागरिकको दृष्टिकोण सकारात्मक थिएन । तथापि बालेन साह जनसमर्थनकै कारण राजधानीको मेयर बन्न सफल भए । रेणु दाहालले भने पाँचवटै दलको गठबन्धनकै वैशाखी टेक्नुप¥यो । यी दुई चर्चित उम्मेदवारमध्ये बालेन साह जनबलमा उभिएका व्यक्ति हुन् भने रणु दाहाल दलीय गठबन्धनको सहारामा उभ्याइएकी हुन् । यसैले बालेन स्थायी हुन सक्छन् भने अर्काको भरमा टेकिएको रेणु अस्थिर हुन सक्छिन् ।

स्वतन्त्र उम्मेदवारको विजय र प्राप्त मतलाई शीर्षस्थ नेता र दलले शिक्षाकै रूपमा लिनुपर्दछ । अहिले मतदाताको ध्यान दलीय उम्मेदवारप्रतिभन्दा स्वतन्त्र उम्मेदवारप्रति बढी आकर्षित हुँदै आएको छ । दलीय विश्वासमा ह्रास आउनु स्वतन्त्र उम्मेदवारप्रति विश्वास बढ्नुको कारण पनि नेतामुखी दलीय गतिविधि नै हो । पछिल्लो समयमा शीर्षस्थ नेतामै दलीय अधिकार र कामकार्य केन्द्रिकृत हुँदै आएको छ । संघीय संसददेखि स्थानीय तहसम्मकै जनप्रतिनिधिहरू शीर्षस्थ नेताको इसारामा चल्दै आएका छन् । शीर्षस्थ नेताको आदेश लोकतान्त्रिक होस् वा हुकुमी ? त्यस’bout कसैले प्रतिक्रिया दिने हिम्मत गर्दैनन् । स्वस्थ्य प्रतिक्रिया नै नेताका निम्ति षड्यन्त्र ठानिने भएकाले कारबाहीमा परिने डरले पनि दलभित्र आन्तरिक वैचारिक वहस हुन छोडेको छ । नेता कार्यकर्ता त शीर्षस्थ नेताकै रबर स्ट्याम्प बन्दै आएका छन् । यस्तै व्यक्ति केन्द्रित लोकतन्त्रकै पराकाष्ठाको उपज स्वतन्त्र उम्मेदवारको विजाय हो ।

स्थानीय तहको निर्वाचनमा मतदाताले नेतालाई खुलेआम रूपमै चुनौती दिए । मतदाता शीर्षस्थ नेतासँग किन चिढिए ? यस’boutमा नेकपा एमालेकै अध्यक्ष केपी शर्मा ओली संवद्ध एक दृष्टान्त यहाँ उल्लेख गर्दछु । यो दृष्टान्त ओलीकै गृहजिल्ला झापासँग सम्बन्धित छ, जुन जिल्ला स्तम्भकारकै चासो र सरोकारको जिल्ला पनि हो । झापा जिल्लाको दमक नगरपालिका–५ केपी ओलीको गृहवडा हो । यसैले झापा जिल्ला र दमक नगरपालिका मात्र होइन दमककै ५ नम्बर वडा समेत केपी ओलीको प्रतिष्ठासँग जोडिएको स्थान हो । सो क्षेत्रका मतदाताले ओलीलाई आफ्नो गौरवकै प्रतीक मान्दै आएका थिए । करिब २ वर्ष पहिलेको कुरा हो ।

संकुचित मानसिकता बोकेका स्वार्थी नेताबाट राज्यले निकास नपाउने देखेपछि विकल्प खोज्ने क्रममा स्थानीय तहमा नयाँ योग्य व्यक्तिले नेतृत्व लिन पुगेका छन्

त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री क्वाटर बालुवाटारमा बस्दथें । उनकै गृहवडा दमक नगरपालिका वड–५ का केही प्रबुद्ध व्यक्तिकै अगुवाइमा सो क्षेत्रका समाजसेवी झापा मोरंग काठमाडौँलगायतका ४÷५ जिल्लाकै सर्वपक्षीय प्रतिनिधि तथा विभिन्न क्षेत्रमा प्रसिद्धि प्राप्त प्रतिष्ठित व्यक्ति समेतको चौध, पन्ध्र जनाको प्रतिनिधि मण्डल राष्ट्रिय गौरवको महŒवपूर्ण मुद्दा’bout गाउँ टोलका बासिन्दा केपी शर्मा ओलीलाई होइन मुलुककै कार्यकारी प्रधानमन्त्रीलाई भेटी आफ्ना कुरा राख्न प्रधानमन्त्री निवास बालुवाटार जाने उद्देश्यले पत्रद्वारै तत्कालन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रिम जानकारी गराएका रहेछन् ।

भेट गर्ने समय निश्चित गरी केही दिनमै जानकारी गराइने भन्ने ओलीको सन्देश उनकै निवासको सचिव राजेश वज्राचार्य र इन्द्र भण्डारीमार्फत प्रतिनिधिमण्डलले प्राप्त ग¥यो । केही महिना बितेपछि, सचिव वज्राचार्य र इन्द्र भण्डारीमार्फत बराबर केपी ओलीलाई स्मरण गराउँदा पनि ओलीले भेट दिएनछन् । करिब एक डेढ वर्ष नै बित्दा पनि सो’bout ओलीले चासो नदिएपछि केपी ओलीकै बाल शाखा, सहपाठी विद्यार्थी साथी, जिल्लाका प्रतिनिधिमध्येकै केहीले ओलीलाई नै फोन गरी हामीले राष्ट्रिय सरोकारकै महŒवपूर्ण विषयमा कुरा राख्न खोजेका थियौं । करिब २ वर्ष बित्न लाग्दा पनि १५÷२० मिनेटको समय हामीलाई दिनु भएन । तपाईंसँग भेट्ने कुरा टुंग्याइएको छ । तर, यसको नकारात्मक असर तपाईंले राजनीतिक जीवनभर सामना गर्नुपर्ने छ भनी जानकारी गराएका रहेछन् ।

ओलीकै गृहनगरका तिनै स्थानीय प्रभावशाली व्यक्ति अहिलेको स्थानीय निर्वाचनमा ओली नेतृत्वको नेकपा एमाले पार्टीलाई उनको गृहनगरकै मेयर, उपमेयर र वडा अध्यक्षमै हराउन सक्रिय रहेको परिणाम ओली सो स्थानमा अहिले पराजित भए । ओलीको यो पराजयलाई उनीहरूले आफ्नो प्रारम्भिक चरणको जित ठानेका छन् । पराजय पनि नेकपा एमाले पार्टीको नभै ओलीको हैकमवादको पराजय टोलीले ठानेको छ । आगामी संघीय संसद् र प्रदेश संसद्को चुनावमा पनि सो क्षेत्रबाट ओली पक्षलाई प्रभावशून्य बनाउने रणनीतिसहित सो समूह सक्रिय रहँदै आएको जानकारी स्तम्भकारले पाएको छ । यस्ता दृष्टान्त अनेत्र पनि प्रशस्त छन् । नेतृत्व विशेषको कारण सिँगो पार्टी पंक्तिलाई यस्तो असर पुग्ने कार्य पछिल्लो समयमा भैरहेको छ । स्वतन्त्र उम्मेदवारको विजय यसैको परिणाम हो । यसलाई पार्टीभित्र अन्तर्घात भएको र उम्मेदवारको टिकट वितरण त्रटिपूर्ण भएर पार्टी पराजित भएको भनी अध्यक्ष केपी ओलीले नै स्वीकार गरिसकेका छन् । तर अन्तर्घात के कारणले भयो भन्ने’boutमा उनी आफैँ लाचार बने ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहवडा डडेलधुरा र काठमाडौंको बुढानीलकण्डमा पनि देउवाको हैकमवादलाई मतदाताहरूले लत्याइदिए । देउवाकै गृहवडामा भएको नेपाली कांग्रेसको लज्जास्पद पराजय पनि पार्टीको होइन देउवाको पराजयको रूपमा मतदाताले अथ्र्याएका छन् । डडेरधुराको सन्दर्भ त आरजु भाउजूको चुनावी वक्तव्यपछि त झन् चुनौतीपूर्ण बनेको कांग्रेस पार्टीका मतदाताले महसुस गरेँ । नेकपा एमाले र कांग्रेसका यी दुई दृष्टान्त दलको कमीकमजोरीको कारण होइन शीर्षस्थ नेताकै कार्यशैलीको कारण उत्पन्न भएको हो । गृहवडाकै चुनाव परिणामले ओली र देउवालाई सच्चिने शिक्षा दिएको छ । त्यसलाई अनुसरण गरी सुध्रने वा यथावस्थालाई नै निरन्तरता दिएर पार्टीलाई नै धाराशयी बनाउने ? देउवा र ओलीले मात्र होइन यही प्रवृत्तिका अरू सबै शीर्षस्थ नेताले बुझ्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 384 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ