निर्वाचन हारेका शिक्षकलाई पुनर्नियुक्ति

कपिलवस्तु ।शिक्षण पेसाबाट राजीनामा दिई स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ का अजितकुमार सिंहलाई विद्यालयले प्रक्रिया मिचेर शिक्षकमा पुनः नियुक्त गरेको छ ।

कृष्णनगर नगरपालिका–९ बहादुरगन्जमा रहेको राम गोरखा माध्यमिक विद्यालयमा सीटीईभीटीको कोर्स अध्यापन गराउँदै आएका सिंहले वडाध्यक्ष पद उम्मेदवारी दिन विद्यालयमा राजीनामा पेस गरेका थिए । उनलाई विद्यालय व्यवस्थापन समितिको बैठकले १६ जेठदेखि लागू हुनेगरी पुनः नियुक्त गरेको विद्यालयका प्रधानाध्यापक प्रदीपकुमार सिंहले बताए ।

शिक्षक सिंहले ८ वैशाखमा राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएको पत्र पाएपछि उनले महाराजगन्ज नगरपालिका–६ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । ९ वैशाखमा उनको राजीनामा स्वीकृत गरेको जनाउँदै विद्यालयले प्रमाणित गरेपछि उम्मेदवार बनेका थिए । जनता समाजवादी पार्टीबाट उम्मेदवार भएका सिंह ४ सय ९४ मत प्राप्त गरी पराजित भएका थिए ।

शिक्षक सिंह सीटीईभीटीको १८ महिने बाली विज्ञान कार्यक्रमतर्फ सहायक प्रशिक्षक पदमा नियुक्त भई अध्यापन गराउँदै आएका थिए । राजीनामा स्वीकृत भए पनि १५ जेठमा विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक आवश्यकताको सूचना प्रकाशन नगरी सोझै नियुक्त गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहको अध्यक्षतामा बसेको बैठकले पुरानै सेवासुविधा दिने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 441 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम