हरितारा चलचित्र पुरस्कार मिथिला र बिदूरलाई

काठमाडौं । अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरी हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत भएका छन् । राजधानीमा एक समारोहबीच हरितारा चलचित्र पुरस्कार गुठीद्धारा २०७७ को पुरस्कारबाट अभिनेत्री मिथिला शर्मालाई र ०७८ को हरितारा चलचित्र पुरस्कारबाट पत्रकार बिदुर गिरीलाई पुरस्कृत गरिएको हो । तामपत्र सहित दुबैलाई जनही २५ हजार रुपैयाँबाट कार्यक्रममा पुरस्कृत गरियो ।

‘नेपाली चलचित्र क्षेत्रमा मिथिलाई शर्माले चार दशकदेखि निरन्तर अब्बल अभिनयबाट योगदान दिनु भएको छ भने बिदुर गिरीले चलचित्र पत्रकारितामार्फत त्यत्तिकै समय योगदान दिनु भएको छ । सोही कारण उहाँहरुलाई यो पुरस्कार अर्पण गरिएको हो ।’ आयोजक मोहन निरौलाले कार्यक्रममा बताए । ‘ यो चलचित्र सम्बन्धि नेपालको पहिलो पुरस्कार हो र २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी) ले पति हरि शम्शेरसमेतको नाममा अक्षय कोष खडा गरी यो पुरस्कार स्थापन गर्नु भएको थियो ।’

सोही कार्यक्रममा २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारबाट अभिनेता विनोद श्रेष्ठ र अग्रज प्राविधिक मनोज केसीलाई पुरस्कृत गरियो । यी दुईलाई जनही १० हजार रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत गरिएको हो ।

यो वर्षको चेतन कार्की स्मृति चलचित्र पुरस्कारबाट अग्रज चरित्र अभिनेता देशभक्त खनाललाई पुरस्कृत गरियो । उनलाई पुरस्कार स्वरुप ११ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरियो । कार्यक्रममा निर्देशकहरु मदन घिमिरे, ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, राजकुमार शाह, लेखक तथा निर्माता मौनता श्रेष्ठलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गरियो । सोही क्रममा कलाकारहरु शारदा गिरी, जनक खकुरेल, देवेन्द्र पाण्डे, दीपाशा विसी, नन्दा बस्याल, मञ्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई परिवर्तन सम्मान प्रदान गरियो ।

कार्यक्रममा आयोजक मालिका राना, मोहन निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्माता संघका अध्यष आकाश अधिकारी, फिल्मकर्मी चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, समाजसेवी शाबित्री कोइराला, प्रथम नायिका भुवन चन्द थापा, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, अभिनेत्री रेजिना उप्रेतीलगायतले सो पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रमको व्यबस्थापन चलचित्र निर्देशक माधवराज खरेलले गरेका थिए ।

पुरस्कार तथा सम्मानका लागि आयोजक संस्था परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौला, हरितारा चलचित्र चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी–गीतकार शान्तिप्रियको निर्णायक समितिले नाम चयन गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 844 times, 1 visits today)

epaper

ताजा समाचार

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा