काठमाडौं । कर्णाली नदीमाथि रहेको पुरानो झोलुङ्गे पुल हल्लिँदा स्थानीयवासीको मन पनि डरले काँप्ने गरेको छ। मुगुको सोरु गाउँपालिका–६ र ९ लाई जोड्ने कुलाहाँस्थित सस्पेन्सन ट्रेल ब्रिज संरक्षण अभावमा जिर्ण बन्दै गएको छ। दशकौँ पुरानो पुल कमजोर बन्दै जाँदा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
पूर्व जिल्ला विकास समिति सभापति डिल्लीप्रसाद भट्टका अनुसार पञ्चायती शासनकालमा २०४० सालतिर स्वीस सरकारको सहयोगमा करिब ५५ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको थियो। उनले पुल अझै केही वर्ष टिक्न सक्ने अवस्थामा भए पनि विकास निर्माणका क्रममा भएको लापरवाहीले संरचना कमजोर बन्दै गएको बताए ।
“सडक विस्तारलगायतका काम गर्दा पुलमाथिबाट ढुंगा–माटो खसालियो, त्यसको असर संरचनामा पर्यो,” भट्टले भने, “नियमित मर्मत र संरक्षण नहुँदा अहिले पुलका फलामे सामग्रीसमेत चोरी हुन थालेका छन्।”
प्राविधिक पृष्ठभूमिसमेत रहेका भट्टका अनुसार पुलको दुवैतर्फ क्षति देखिन थालेको छ। कतिपय स्थानमा बिछ्याइएका फलामे पाटा हराइसकेका छन् भने केही ठाउँमा लठ्ठामात्र बाँकी छन्। पुलका फलामे सामग्रीसमेत लथालिङ्ग अवस्थामा देखिन्छन्।
यो पुल सोरु क्षेत्रका ११ वटै वडाअन्तर्गत करिब छ दर्जन बस्तीका नागरिकको दैनिक आवतजावतको मुख्य माध्यम बनेको छ। हिउँद याममा सोरु तातोपानी कुण्ड पुग्ने सर्वसाधारणले पनि यही पुल प्रयोग गर्ने गरेका छन्।
सोरु–८ तारापानीका युवा प्रेमबहादुर रावलले पुल तर्दा हरेक पटक डर लाग्ने गरेको बताउनुभयो। “विशेषगरी वर्षायाममा कर्णाली नदीमा पानीको सतह बढ्दा पुल झन् जोखिमपूर्ण हुन्छ,” उनले भने, “तर विकल्प नहुँदा यही पुल प्रयोग गर्नुपरेको छ।”
छायाँनाथ यातायात प्रालिका अध्यक्ष नवराज चौँलागाईंले पनि पुलको अवस्था निकै कमजोर रहेको बताउनुभयो। “तातोपानी कुण्डतर्फ जाँदा पुल तर्नै डर लाग्छ,” उनले भने, “सम्बन्धित निकायले तत्काल मर्मत र संरक्षणमा ध्यान दिन जरुरी छ।”
स्थानीयवासीका अनुसार पुल जिर्ण बन्दै गए पनि हालसम्म प्रभावकारी मर्मतको पहल हुन सकेको छैन। दैनिक सयौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन्। स्थानीयले समयमै मर्मत र संरक्षण नगरिए कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
सम्बन्धित समाचार
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया
मेलम्चीको पानी आपूर्ति बन्द
तामुटारमा पक्की पुल निर्माण
‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने
मधेशको अधिकार र भविष्य’bout सर्लाहीमा छलफल
पहिराले मेची राजमार्ग अवरुद्ध
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?






