अप्प दीपो भव

महात्मा बुद्धको उमेर ७८ वर्ष पूरा भइसकेको थियो । बुद्धलाई भेट्न आएका समान उमेरका कोसल नरेश प्रसेनजितले भनेका थिए, ‘म पनि तपाईं जस्तै नयाँ र रमणीय ठाउँको भ्रमण गर्न निस्कन्छु, तपाईं जहाँ जानुहुन्छ, त्यहाँका प्रजाको अनुहारमा चमक हुन्छ । तपाईंलाई भेट्न आउने प्रत्येक व्यक्तिको शिर श्रद्धाले झुकेको हुन्छ, परन्तु मलाई भेट्न आउनेको डरले । मैले राजाले राजासँग कलह र सुलह गरेको देखेको छु । राजाका भक्त सेवक मानिएका सेनापतिले भयानक षड्यन्त्र गरेको देखेको छु । असल र विद्वान कहलिएका ब्राह्मणले आपसमा द्वेष गरेको देखेको छु । मैले अनगिन्ती सन्तानले मातापिताको अवज्ञा गेरेको देखेको छु । परन्तु जब म तपाईंका अनुयायी भिक्षुमाझ सदैव आपसी सद्भाव, सम्मान र सामन्जस्य देख्दछु, ममा तपाईंप्रति श्रद्धा जागेर आउँछ ।

म युद्धप्रिय र सुरवीर क्षेत्री कुलमा जन्मेको राजा हुँ । देश देशावरमा मेरो ठूलो प्रताप र प्रभाव छ । मैले चाहेको व्यक्तिलाई पुरस्कार या दण्ड दिन सक्छु । म धनीलाई गरिब र गरिबलाई धनी बनाउन सक्छु । मैले चाहें भने जो कोहीलाई मान, पद, धन र जागिर दिन सक्छु । म जसलाई चाह्यो कारागारमा राख्न सक्छु । परन्तु, मेरो यो निरंकुश शक्तिलाई चुनौती दिँदै मेरा मन्त्री र कर्मचारी सहजै सदाचार र नैतिकताका नियमको उल्लंघन गर्दछन् । तपाईंसँग शक्ति, सत्ता र सम्पत्ति केही पनि छैन । न तपाईं धनदाता न त भयदाता । किन्तु जब तपाईं हजारौं भिक्षुको सभामा बोल्न थाल्नुहुन्छ, त्यहाँ चारै दिशा शान्ति छाउँछ । जब म त्यो दृश्य देख्दछु, मेरो शिर श्रद्धाले निहुरिन्छ ।

एक दिनको कुरा हो । म मेरा सहयोगीलाई साथै लिएर राजधानीबाट बाहिर गएको थिएँ । दैवसंयोगले ठूलो आँधी आयो । हामीमध्येको कता पुग्यो पत्तै भएन । साँझपख म र मेरो दरबारका घोडचढी पूर्ण र ईशादत्त एउटा छाप्रोभित्र बास बस्न बाध्य भयौं । मलाई आशा थियो कि संयोगले मेरो सान्निध्य पाएका ती कनिष्ठ ओहोदाका कर्मचारीले मेरो गुणगान गर्लान् र कृतज्ञताका दुई शब्द बोल्लान् । परन्तु उनीहरूले त तपाईंको प्रशंसा पो गर्न थाले । म मेरो सोचको साँघुरो सीमाको कैदी हुँ । मेरो सोचाइमा जोसँग दण्ड या पुरस्कार दिने शक्ति हुन्छ उसैसँग मानिस भयभित या आशान्वित हुन्छन् । म भयदाता र भयत्राता दुवै हुँ । परन्तु, मेरा अकिञ्चन नोकरले जब मेरै सामुन्नेमा तपाईंको गुणगान गर्न थाले, तब मेरो अहंकारले आफ्नो औकात थाहा पायो ।’

बुद्ध वैशालीमा थिए । उनी राजकुमार सिद्धार्थबाट महात्मा बुद्धमा परिणत भएको ३५औं वर्ष चलिरहेको थियो । बुद्ध अचानक बिरामी परे । केही आराम भएपछि आनन्दले भने, ‘हे प्रभु ! मेरो मनमा अपार भय उत्पन्न भइरहेको छ । मलाई मेरो शरीरमा पक्षाघात भएको जस्तो महसुस हुँदै छ । तपाईंले हामीलाई अन्तिम ज्ञान दिन बाँकी छ । हामीले अझै धेरै सुन्न बाँकी छ । हामीले अझै धेरै बुझ्न बाँकी छ । जब तपाईं हामीमाझ रहनुहुने छैन, हाम्रो मार्गदर्शन कसले गर्ला ?’ बुद्धले भने ‘हे आनन्द ! मैले अब भन्नुपर्ने केही बाँकी छैन । मेरो अन्तिम समय आएपछि भनौंला भनेर बाँकी राखेको केही छैन । मैले दिनुपर्ने अन्तिम दीक्षा पनि केही छैन । मनुष्यले आफूलाई आफैंमा शरण दिनुपर्छ । अर्काको शरण खोज्नु र कसैलाई शरण दिने चेष्टा गर्नु दुवै कुरा ठीक होइन । आफ्नो प्रेरणाको स्रोत आफैं बन्नुपर्छ । अप्प दीपो भव !

आत्मजागरण एवं मानसिक एकाग्रताको अभाव भयो भने व्यक्तिको पतन अवश्यम्भावी छ

तिमी आफैंभित्र बुद्धको निवास छ । तिमी आफंैभित्र धर्मको वास छ । तिमी आफंैभित्र संघको बास छ । प्रत्येक मनुष्य स्वयं बुद्ध, धर्म र संघको संगम हो । तिमीभित्रको बुद्धलाई कसैले खोस्न सक्दैन । तिमी आफंै एक दीपक हौ । तिमीलाई अँध्यारोबाट उज्यालोतर्फ डो¥याउने बलिरहेको दियो तिमीभित्रै छ । तिमी आफंै एक ज्योति हौ । तिमीले कसैको वैशाखीको सहारा लिनु जरूरी छैन । आफूभित्र नियालेर हेर । आफूभित्रको दीपकको ज्योतिलाई अवलोकन गरेर हेर ! तिमी आफैं पूर्ण छौ । तिमी आफ्नो मार्ग देखाउने रोशनी आफैं हौ । कोही कसैको शरणदाता हुन सक्दैन । कसैले कसैको दुःखहरण गर्न सक्दैन । यस जगत्मा कोही कसैको अटल र स्थायी मार्गदर्शक हुन सक्दैन । आफ्नो प्रयत्नबाट आफैंलाई पूर्ण बनाउनुपर्छ ।’

वेदान्त भन्दछ, ‘अहं ब्रह्मास्मि’, म नै ब्रह्म हुँ । ‘तत्वमसि’, तिमी नै ब्रह्म हौ । बुद्ध आफ्ना कुरा भिन्न तरिकाले भन्दछन् । तिम्रो भाग्यको निर्माता तिमी नै हौ । तिम्रो भाग्यको कर्ता तिमी नै हौ । तिम्रो कर्मको उत्तरदाता पनि तिमी नै हौ । अप्प दीपो भव ।

बुद्ध दार्शनिक होइनन्, इष्टा हुन् । उनी कसैलाई पनि ज्ञानवान बन्ने प्रेरणा दिँदैनन् । बुद्ध व्यावहारिक छन् । उनी भन्छन्, ‘मनुष्य आफ्नो मार्गदर्शक आफंै हो ।’ उनी प्रत्यक्षमा विश्वास गर्छन् । तिमीभित्रको अन्धकारको पहिचान गर्ने काम तिम्रै हो । त्यस अन्धकारको निराकरणका लागि रोशनी तिमी आफंै बन्न सक्छौ । अर्काको हातको बत्तीको उज्यालोले सधै साथ दिन सक्दैन । अतः आफ्नो मार्गदर्शक आफैं बन ।

बुद्धको सर्वाधिक प्रसिद्ध र प्रेरणादायी सूत्रवाक्य हो यो । अन्य सबै धर्ममा भगवानको शरणमा पर्नु नै सर्वोत्तम उपाय हो भनेर उपदेश दिने गरिन्छ । गीतामा भगवान कृष्ण भन्छन्, ‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।’ अर्थात् तिमी सारा धर्मको आश्रय परित्याग गरेर मेरो शरणमा आऊ । म तिमीलाई सम्पूर्ण पापबाट मुक्त गरिदिनेछु । बुद्ध कसैलाई पापबाट मुक्ति दिने वाचा गर्दैनन् । उनी भन्दछन्, ‘मैले भनेको कुरामा पनि सन्देह गर । मैले भनेको कुराको पनि औचित्यको छानबिन गर ।’ अन्धविश्वासी लकीरका फकिरहरूका लागि ठूलो चुनौती हुन् महात्मा बुद्ध । उनले दुनियाँलाई आफ्नै बुद्धि, विवेक र चेतनाको प्रयोगद्वारा हरेक कुराको पारख गर्ने प्रेरणा दिए । अन्धविश्वासको पर्दा च्यातेर वास्तविक संसारको दर्शन गर्न प्रेरित गर्ने विश्वगुरु हुन् बुद्ध । कृष्णको ‘मामेकम् शरणम ब्रज’ को जवाफमा बुद्धले भने ‘अप्प दीपो भव ।’ तिमी कसैको शरणमा जानुको प्रयोजन छैन । तिम्रो स्वामी तिमीभित्रै छ । तिम्रो मालिक तिमी नै हौ ।

अर्काको शरण खोज्ने र कसैलाई शरण दिने चेष्टा नगरी आफ्नो प्रेरणाको स्रोत आफैं बन्नुपर्छ, अप्प दीपो भव

बुद्ध वैशालीमा थिए । एक दिन उनले आनन्दतर्फ हेर्दै घोषणा गरे, ‘आनन्द † तथागतले अबको तीन महिनाभित्र निर्वाण प्राप्त गर्नेछ ।’ आनन्द स्तब्ध भए । ‘कृपया यति छिट्टै हामीलाई छाडेर नजानुहोस् । आफ्ना भिक्षु, भिक्षुणी र अनुयायीप्रति दया गर्नुहोस् ।’ बुद्धको सरल उत्तर थियो, ‘तिमीले त बुझेकै छौ कि तथागतको अठोट अटल हुन्छ ।’ त्यसको सात दिनपछि बुद्धले एक हजार ५ सय भिक्षु भिक्षुणीका सामु प्रवचन दिए । ‘अनावश्यक र फजुल कुरामा वादविवाद गर्नु मूल्यवान् समयको बरबादी मात्र हो । अति निद्रा अनुचित हो । अति सम्मान र अभिनन्दनको चाहना अनुचित हो । कुनै विषय, वस्तु या व्यक्तिप्रति अत्यन्त आशक्ति अनुचित हो । चरित्रहीन मानिसको संगत अनुचित हो । आफ्नो अल्पज्ञान’bout अनभिज्ञता अनुचित हो ।

आत्मजागरण एवं मानसिक एकाग्रताको अभाव भयो भने व्यक्तिको पतन अवश्यम्भावी छ ।’ त्यहाँबाट महात्मा बुद्ध भण्डग्राम, मत्थिग्राम, अम्बाग्राम, जम्बुग्राम र भोजग्राम हुँदै पावा भन्ने ठाउँमा पुगे । पावामा चुन्द नाम गरेका शिष्यको आम्रकुञ्जमा वास प¥यो । चुन्दले बुद्ध र अन्य तीन सय भिक्षुहरूलाई खानाको लागि निमन्त्रणा दिएका थिए । बुद्धको लागि स्वयं चुन्दले विशेष श्रद्धापूर्वक ‘सुकर मद्दव’ नामक च्याउको परिकार पकाए । चन्दन वृक्षको काठमा उम्रिने सुकर मद्दवको तद्भव रूप कालान्तरमा ‘कुकुरमुत्ता’ हुन गयो । आफूले खाएर भ्याएपछि बुद्धले भनेका थिए, ‘चुन्द † यो च्याउको तरकारी जे जति बाँकी छ, सबै भूमिमा गाडिदिनू ।’

विषाक्त खानाको प्रभावले रातभर अस्वस्थ रहेका बुद्ध बिहान उठेर कुसीनगरतर्फ लागे । कुसीनगर नजिकै सालवनमा पुगेपछि बुद्धलाई साह्रै सकस भयो । उनी त्यहीँ उत्तराभिमुख भएर बसे । त्यहाँ उनले सबैलाई सम्झाउँदै भनेका थिए, ‘यो संसारका सबै कुरा नश्वर छन् । जहाँ संगठन त्यहाँ विघटन, जहाँ मिलन त्यहाँ बिछोड र जहाँ जन्म त्यहाँ मृत्यु ।’ त्यहीँ बुद्धले सुभद्रलाई सम्यक आर्य अष्टांगिक मार्ग’bout जीवनको अन्तिम उपदेश दिए । त्यही शान्त सालवनमा तथागतले सदाका निम्ति आँखा चिम्ले । सालका वृक्षहरूबाट बररर फूलको वर्षा भयो ।

तपाइको प्रतिक्रिया
(Visited 1,147 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित