गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने छ: देउवा

टीकापुर । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताएका छन् । शनिबार धनगढी उमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गदै उनले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग बढी आएकोले त्यसलाई सम्बोधन गर्न तयार रहेको बताए ।

मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर त्यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने उनले बताए । कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा धेरै विकास गर्न बाँकी रहेकोले प्राथमिकताका आधारमा क्रमश विकासको गतिलाई तीब्रता दिनुपर्ने आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन । गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाण्डौं पुगेको हुँ’, उनले भने । ‘अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ । धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले सबैको सहकार्यले मात्रै मुलुकमा विकासको काम सम्भव हुने उल्लेख गर्दै कर्मचारी, प्रहरी सबैको सहयोग नहुँदासम्म केही पनि गर्न सकिन्न भने ।

सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरे । महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवा समक्ष आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा