काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षको कार्यकालका लागि सोमबार केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदै छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि सोमबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने हुँदा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीवराज पौड्यालले चुनौती पेस गरेका छन् । तर, अध्यक्षमा कर्मा र पंकजबीच नै तीव्र प्रतिस्पर्धा हुने पक्का छ । पौड्याल स्वतन्त्र उमेदवार हुन् ।
अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
कर्मा र पंकजले २१–२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन् । साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको छ । १५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । सदस्यमा मिलन गुरुङ र सुरेन्द्र शिखकार, सुन्दर थापा क्षेत्री र कुमार कटवालले प्यानलबिनै उम्मेदवारी दिएका छन् ।
कर्मा र पंकज २०७० सालपछि थापाविरोधी आन्दोलनसँगै एकसाथ रहेका थिए । कर्मा अग्रभागमा रहँदा नेम्बाङले शेर्पालाई सुरुबाटै साथ दिए । २२ वैशाख २०७५ मा शेर्पा समूहको प्यानल एन्फामा विजयी भयो । सर्वाधिक मतसहित उपाध्यक्ष चुनिएका नेम्बाङ वरिष्ठ उपाध्यक्ष बने । त्यसको एक वर्षपछि उनीहरूबीच मनमुटाउ सुरु भयो । शुद्धीकरण अभियानताका उठाएका सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणको मुद्दालाई कार्यसमिति बैठकमा खरो रूपमा उठाउन थाले । तर, कर्माले उनको कुनै पनि विषयलाई स्थान नै दिएनन् । यसबीचको अवधिमा केही राम्रासँगै केही नराम्रा काम एन्फाभित्र र बाहिर भए ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग पाँच वर्षपछि ब्युँतियो । राष्ट्रिय लिग पनि घोषणा गरे । रौतहटमा विवादित रूपमा महिला फुटबल एकेडेमीका लागि भवन तयार भयो । रामसार मिडियासँग ४ करोड ५० लाखको मार्केटिङ र प्रमोसनको सम्झौता, कतार एयरवेजसँग ‘ए’ डिभिजन लिगका लागि वार्षिक १ लाख ५० हजार डलरको सम्झौता, एन्फा कम्प्लेक्स मुख्यालयदेखि होस्टेलसम्मै मर्मतसम्भार गरियो । सागमा यू–२३ टोलीको स्वर्णपदक दोहो-यायो ।
नेपाल पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुग्दै इतिहास रच्ने काम पनि यही कार्यकालमा भयो । महिला टिम ओलम्पिक छनोटसम्मै ‘एक्सपोजर’ बनाइयो । पछिल्लोपटक प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बारम्बार विवादमा मुछिए । उनी कहिले नेम्बाङमाथि खनिए । कहिले नेपाल छाड्ने-नफर्किने भन्दै सामाजिक सञ्जाल तताए । पछिल्लोपल्ट सिनियर ११ जना खेलाडीलाई एसियन कप छनोटको टिमबाटै निकालेर तहल्का नै मच्चाए ।
कार्यसमितिमा प्रश्न तेर्सिंदै जाँदा उनलाई अध्यक्ष शेर्पाले विश्वास गरिरहे । यसले पनि नेम्बाङ र शेर्पाबीच दूरी बढाउन भूमिका खेल्यो । निर्वाचन नजिकिँदै गर्दा गणेश थापा पछिल्लोपल्ट शेर्पाविरुद्ध खुबै लागेका छन् । चुनाव नजिकिँदै जाँदा शेर्पा भने आफ्नै समूहमा पनि घेरिँदै गएका छन् । शुक्रबार मात्रै नेपालमा अवैध रहेको सट्टाबाजी (बेटिङ)का लागि तथ्यांक उपलध्य गराउन स्विट्जरल्यान्डको एक कम्पनीसँग सम्झौता गरेको रहस्य बाहिर आएको छ । एकापसका सहयात्री नेम्बाङ र शेर्पा अहिले समूह बनाएर चुनावी माहोल आफ्नो पक्षमा पार्न क्याम्प नै खडा गरेका छन् । यी दुवै समूहमा नहिँडेका वा ८–१० भोट नै निर्णायक बन्नेछ ।
मतदाता
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन् । निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दै छन् । भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट वञ्चित भएका थिए । यस्तै, एन्फाको विधान विपरीत मताधिकार दिइएको भन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको छ । निर्वाचनमा १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मत हाल्नेछन् । यसैगरी, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ क्लबले मत दिनेछन् । एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन् ।
पाँच सदस्यको उमेदवारी फिर्ता
निर्वाचन समितिले दिएको समयसीमाभित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिको सचिवालयका अनुसार सदस्यका उमेदवार मणिराज लिम्बू, विमला पौडेल, बालकृष्णसिंह ठकुरी र शम्भुसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका थिए । रमेश श्रेष्ठको उम्मेदवारी रद्द भएको थियो । सदस्य पदकै उमेदवार कृष्णमुरारी गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तर, समयसीमाभन्दा बाहिर रहेकाले उनको नाम निर्वाचन तालिकामा हट्नेछैन ।
शेर्पा प्यानल
अध्यक्ष – कर्मा छिरिङ शेर्पा
वरिष्ठ उपाध्यक्ष – शिक्षित पराजुली
उपाध्यक्ष – उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ
सदस्य – अनिल श्रेष्ठ, भरत बूढा थापा, मनिष जोशी, रमेश व्यञ्जनकार, पेमाडोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठौर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट र टीका लामा
पंकज प्यानल
अध्यक्ष – पंकजविक्रम नेम्बाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – विराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी
सदस्य – महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रवीन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ
स्वतन्त्र उमेदवार अध्यक्ष – राजीवराज पौड्याल
स्वतन्त्र उमेदवार सदस्य – मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल