धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीलाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानको रुपमा मनाइने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् ।
हाम्रो ५ वर्षे कार्यकाललाई ‘हाम्रो धनगढी, हामी बनाउछौं’ भन्ने नारासहित महाअभियानका रुपमा मनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको एकीकृत, सन्तुलित, दिगो, योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पञ्च वर्षीय आवधिक योजना (२०७९/०८० देखि २०८३/०८४) तर्जुमा गरी कार्यान्वयन गरिने पनि मेयर हमालले घोषणा गरेका छन् ।
पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गरिने
यस्तै धनगढी उपमहानगरपालिकाले ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार इकाइको गठन गर्दै पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने भएको हो ।
नीति तथा कार्यक्रमको सहरी पूर्वाधार विकास तथा यातायात व्यवस्थापन कार्यनीतिमा पूर्वाधार एम्बुलेन्स सञ्चालनको योजना अटाएको हो। यस्तै क्रमागत योनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने पनि नीति तथा योजनामा उल्लेख छ ।