टीकापुर । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले गत वैशाख १५ गते पदबाट राजीनामा दिने घोषणा गरेका पनि राज्यबाट सेवा सुविधा लिँदै आएका छन् । नेपाली काँग्रेसले पार्टीबाट निष्कासन गरेपछि मल्लले डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आफू प्रदेशसभा सांसद नरहेको घोषणा गरेका थिए । तर, उनले राज्यबाट सेवासुविधा लिदै आएको देखिएको छ ।
मल्लले प्रदेश सभा सदस्यको हैसियतमा मासिक रुपमा सरकारी सेवा सुविधा बुझिरहेको पाइएको छ । उनले प्रदेशसभा सचिवालयमा राजीनामा नदिएका कारण सेवा सुविधा पाइरहेका हुन् ।
मल्लले राजिनामा दिएको जानकारी प्राप्त नभएका कारण प्रदेश सभा सदस्यको हैसियतमा कानून बमोजिम पाउने सेवासुविधा उपलब्ध गराइरहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । मल्लको खातामा मासिक रुपमा पाउने तलब भत्ता, अतिथि सत्कार, आवास सुविधाबापतको रकम सचिवालयले जम्मा गर्दै आएको छ ।
मल्लले केहीदिन अघि मात्रै इमेलमार्फत प्रदेशसभा सदस्यबाट राजीनामा दिएको पत्र प्रदेशसभा सचिवालयलाई पठाएका थिए । सोे पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि मात्र उनी पदमुक्त हुने प्राबधान रहेको जनाइएको छ ।
डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद छ । पछिल्लो समय कांग्रेसले अनावश्यक रुपमा क्रियाशील सदस्यता बाँडेर डडेल्धुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो । त्यसपछि स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले मल्ललाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको थियो ।