गठबन्धन प्रतिनिधि सभा निर्वाचनसम्मै, भित्रभित्रै सिट बाँडफाँट ‘कसरत’ बढ्दै बार्गेनिङ


काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भित्रभित्रै सिट बाँडफाँट गृहकार्यमा जुटेका छन् ।

आगामी मंसिर पहिलो साता प्रतिनिधि र प्रदेश सभा निर्वाचन गराउने सरकार र निर्वाचन आयोगको तयारी छ । त्यसअनुरूप आन्तरिक रूपमा सिट बाँडफाँट कसरतमा भित्रभित्रै दलहरू सक्रिय बनेका छन् ।

प्रतिनिधि सभामा प्रत्यक्ष १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था छ । ‘चुनाव विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभासम्म नै गठबन्धनसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध एक दलका शीर्ष नेताले भने, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्ने ? भन्ने विषयमा छलफल सुरु भएको छ ।’

दलका शीर्ष नेताबीच गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले ८५ देखि ९० सिटमा अपेक्षा राखेको छ । तर, गठबन्धन कायम रहेर निर्वाचनसम्म पुग्ने अवस्थामा कांग्रेसले ८० सिट पाउने अवस्था बन्दै गएको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले ३०÷३० सिटभन्दा बढीमा दाबी राख्न थालेको छ । तर, दाबीअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा ‘गठबन्धनको औचित्य नसकिएकाले सत्ता गठबन्धन प्रतिनिधि सभा निर्वाचनसम्म नै जाने तर विगतको स्थानीय तह निर्वाचनजस्तो सिटबाँडफाँटमा कांग्रेसको मात्रै चलाखी नचल्ने’ बताएका छन् ।

‘आफू जित्ने ठाउँमा कांग्रेसले माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा एक्लै लडेको देखियो,’ नेता पुनले भने, ‘अबको निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

शनिबार नै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटी बैठकमा गठबन्धनका सबै घटकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने प्रस्ताव राखेको जानकारी गराएका थिए । उनले सिट बाँडफाँटमा विगतमा भएको कमजोरी नदो¥याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहेकोसमेत बताएका हुन् ।
शनिबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनसम्मै सँगै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यी हुन् एक देखि पाँच अर्ब कमाउने बैंक

कुरी-कुरी