काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले सदाझै यस वर्षपनि विभिन्न विधाका संचारकर्मीलाई रोटरी जर्नो अवार्ड तथा विशेष सम्मान द्वारा सम्मानित एवं पुरस्कृत गरेको छ । मंगलबार काठमाडौं होटल रेडिशनमा आयोजित एक कार्यक्रममा उनीहरुलाई रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान जर्नो अवार्ड कमिटिको आयोजनामा सो अवार्ड प्रदान गरिएको हो । शिक्षा, स्वास्थ्य, वातावरण, महिला विकास, आर्थिक क्षेत्रमा उनीहरुले पत्रकारितामार्फत पुर्याएको योग्दानको कदर गर्दै नगद राशी सहितको उनीहरुलाई पुरस्कृत गरिएको हो ।
त्यसैगरि यो वर्षदेखि नेपाली संचार क्षेत्रमा लामो समयदेखि क्रियाशिल एक वरिष्ठ संचारकर्मीलाई पनि बिशेष सम्मान गर्ने परम्परा समेत रोटरीले शुरु गरेको छ । यसका अतिरिक्ति कार्यक्रममा रोटरीका गतिविधिका सन्दर्भमा पूर्वाञ्चलमा विशेष रिर्पोटिङ गरेका एक जना संचारकर्मी समेत रोटरी जर्नो अवार्डद्वारा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा रेडियो नेपालमा लामो समयदेखि कार्यकरत वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकार, शिक्षा क्षेत्रका तर्फवाट शिक्षालय राष्ट्रिय मासिकका बालमुकुन्द आर्चाय, स्वास्थ्य क्षेत्र तर्फ हिमालय टेलिभिजनकी सिर्जना बराल, वातावरणतर्फ सेतोपाटी डट कमका रोजेश घिमिरे, अर्थतर्फ आर्थिक पत्रकार समाजका निर्वतमान अध्यक्ष भीम गौतम, महिला बिकासतर्फ संचारिका समूह गण्डकी प्रदेशकी अध्यक्ष कविता श्रेष्ठ र पूर्वाञ्चलमा रोटरी बिशेष रिपोर्टिङका लागि पत्रकार शंकर खरेल सम्मानित भएका हुन् ।
वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारलाई नगद राशी रु ४०,५०० र सम्मान पत्र प्रदान गरि बिशेष सम्मान गरिएको थियो भने अरु संचारकर्मीलाई जनही रु ३०,५०० नगद राशी सहित सम्मानपत्र प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्स्टिच्यूट, राष्ट्रिय समाचार समिति, संचारिका समूह नेपाल र रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गर्भनरहरु सम्मिलित छनौट समितिले सिफारिसमा परेका पत्रकारहरु मध्यबाट अवार्डका लागि प्रत्येक विधामा एक एक जना पत्रकार छनौट गर्ने गर्छ ।
नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाज नेपाल, नेपाल वातावरण पत्रकार समाज, शिक्षा पत्रकार समूह र नेपाल प्रेस काउन्सिल र संचारिका समूह नेपालसँग रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले जर्नो अवार्डका लागि हरेक वर्ष समन्वय गर्दै आएको छ । शिक्षा, स्वास्थ्, वातावरण, पत्रकार सम्बन्धि संघसंस्थाले सिफारिस गरेका मध्यबाट एक एक जनालाई छनौट समितिले अन्तिममा छनौट गर्ने गर्दछ ।
रोटरी र संचार जगतविचको सम्बन्ध समाज रुपान्तरणका लागि जिवन्त बनोस भन्ने ध्ययेले उक्त जर्नो अवार्डको परम्परा बसालिएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गर्भनर सन्तोष रिजालले बताए । बिशुद्व सामाजिक भावनाले ओतप्रोत रोटरी र समाजको रुपान्तरणका लागि अहं भूमिका राख्ने संचारक्षेत्रको विचको हार्दिकता एवं सहकार्य नै जर्नो अवार्डको मर्म रहेको जर्नो अवार्ड डिस्ट्रिक्ट कमिटी चेयर मञ्जु कार्की लामिछानेले बताइन् ।






