रौतहट । चोरी भएको एक ट्रक बियर प्रहरीले रौतहटको एक गोदामबाट बरामद गरेको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट जनकपुर हिँडेको बियरसहितको ट्रक हराएपछि रौतहटमा भेटिएको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट १ हजार४ सय ५० कार्टुन वियर र १० कार्टुन जुस लिएर जनकपुरका लागि हिँडेको ट्रक रौतहटको गरुडामा प्रहरीले बरामद गरेको हो ।
गत फागुन ३० गते शुक्रबार नवलपरासीबाट हिँडेको सो ट्रक आइतबारसम्म पनि जनकपुर नपुगेपछि ट्रान्सपोर्ट कम्पनीका मह्मद शादिकले गाडी र सामानको खोजी शुरु गरेपछि बियर गरुडाको गोदाममा भेटिएको थियो । राजेश डिष्टिब्युटर कदमचोक जनकपुरबाट अडर अनुसार मुकुन्दपुर नवलपरासीबाट ना. ५ ख. २६८६ नम्वरको ट्रकमा उक्त सामान लिएर हिडेको ट्रक जनकपुर जानुपर्नेमा बिच बाटोबाटै चालकको मिलोमतोमा रौतहटको गरुडा नगरपालिका वडा नम्वर ६ अमरपटीस्थित उमेश यादवको घरमा पुगेको थियो ।
कम्पनीको ढुवानी गर्ने सुभ ट्रान्सपोर्टका प्रतिनिधिसहितट खोजविनकै क्रममा उक्त मालसामन रौतहटको गरुडा नगरपालिकामा भण्डारण गरिएको थाहा पाएपछि ट्रान्सपोर्टका प्रतिनिधि चितवन जिल्ला भरतपुर महानगरपालिका २ का पुण्यकुमार श्रेष्ठले दिएको किटानी उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोको कमाण्डमा सोमबार राति खटिएको टोलीले यादवको घरमा रहेको गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको थियो ।
गरुडामा व्यापार गर्ने भारतीय नागरिक विकास साहले भाडामा लिएको गोदामबाट प्रहरीले चोरी भएको १ हजार ४ सय १५ कार्टुन बियर बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले जानकारी दिएका छन । सामान बरामद भएपनि व्यापारी विकास साह तथा ट्रकका मालिक कटहरीया २ का शेख फहिमुलहक फरार प्रहरी नायब उपरिक्षक महतोले बताए ।






