काठमाडौं । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैरनाफामूलक संस्थालाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले ती संस्थालाई चाबी प्रदान गरे ।
एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सकै एक हिस्साको रूपमा रहेको जनाइएको छ ।
कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पु¥याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराका रूपमा रहेको बताए । यो सदियौं पुरानो इतिहास र विरासत बोकेको, भौगोलिक रूपमा नेपालभर फैलिएको, जनजीवनलाई प्रभावित पार्नेे र नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउने भारत र नेपालबीच रहेको अत्यन्त मजबुत विकास साझेदारीको एक हिस्साका रूपमा रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा शिक्षामन्त्री पौडेलले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।