देउखुरी । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे । विवाहको एक वर्षपछि छोरीको जन्म भयो । छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शंका गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउन थाले ।
आफूमाथिको आरोप कल्पनालाई सह्य नभएपछि घरझगडा सुरु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले कल्पना वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको दुबई गइन् ।
विदेशमा रहेको श्रीमती बिग्रेको हुन्छ भन्ने शंकाले गोकर्णलाई झनै पि¥यो । कल्पनाको भनाइ छ, ‘विदेशमा भनेजस्तो समयमा छुट्टी मिल्दैन नि, भनेको समयमा फोन उठाएन भने कोसँग कहाँ बसेकी छस् भनेर शंका गरेर गाली दिन थाल्नुभयो ।’
त्यसपछि श्रीमान्ले उजुरी दिएको घटना सम्झँदै कल्पना भन्छिन्, ‘उहाँले मसँग सरसल्लाह नगरी आफूखुसी घर छोडी गएको, ६ वर्षदेखि सम्पर्कमा नआएकाले अब तिमीसँग बस्न सक्दिन भन्नुभएको थियो । त्यही भनेर उजुरी दर्ता गर्नुभएछ ।’
कल्पना विदेशमै रहेका समयमा गोकर्णले सम्बन्धविच्छेद गरिपाऊँ भनी १४ मंसिर २०७८ मा दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरे । श्रीमान्–श्रीमतीबीच सल्लाह भएर नै आफू विदेश गएको कल्पनाको भनाइ छ ।
विदेशी भूमिमा आफूले परिवारकै लागि पसिना बगाउँदा बगाउँदै पनि श्रीमान्ले आफूमाथि अन्याय गरेको र सम्बन्धविच्छेदको मुद्दा हालेको कल्पनाको भनाइ छ । यसैले झैं–झगडा गरेर रातदिनको किचलो सहनुभन्दा अलग भएर बस्न उत्तम देखेर सम्बन्धविच्छेद गर्न तयार भएको कुरा पनि उनले अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ ।
जिल्ला अदालतले १२ चैत २०७८ मा उनीहरूकी छोरी बाबुसँगै रहने र सम्पत्तिमा कुनै दाबी नगर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा ९३ बमोजिम फैसला सुनायो ।
दाङकै शान्तिनगर गाउँपालिका–५ का २७ वर्षीया मनीषा खत्री र सोही पालिकाकै २८ वर्षीय विकास रावतको सामाजिक परम्पराअनुसार २०६९ सालमा विवाह भयो । विवाह भएको एक वर्षपछि छोरीको जन्म भयो । विकास वैदेशिक रोजगारीका लागि साउदी अरब जाने आउने गर्थे । मनीषा सासूससुरासँग घरमै बस्ने गरेकी थिइन् । विकासले आफ्नै साथीलाई मोबाइलमा कुरा गर्न लगाएको मनीषालाई थाहा भएन । त्यसपछि विकासले ‘अबदेखि मैले पैसा पठाउन सक्दैन तैंले आफ्नो बाटो गर’ भन्ने गरेको मनीषाको आरोप छ ।
मनीषा भन्छिन्, ‘फोनमा कुरा गरेको निउ पारेर रातदिन गाली खान सुरु भयो । श्रीमान्ले जिल्ला अदालत दाङमा २०७७ पुस २५ गते सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नुभयो ।’
२०७८ मंसिरमा सम्बन्धविच्छेदको मुद्दा टुंगो लाग्यो । उनीहरूकी आठ वर्षकी छोरी बाबुसँगै रहने र श्रीमान्को सम्पत्ति तीन भाग लगाउने, त्यीमध्येको एक भाग लिएर अलग भएर बस्न तयार रहेको फैसलामा उल्लेख गरिएको छ ।
मुद्दाको चाप बढ्दै
दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापा पछिल्लो समयमा दाङमा सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको बताउँछन् । आव २०७४÷७५ मा ६ सय ४० जोडीले सम्बन्धविच्छेदका लागि दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकामा ४ सय ९५ जोडीको मुद्दा फछ्र्योट भएको थियो । आव २०७५-७६ मा ९१५ सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ६ सय ४० जोडीको मुद्दा फछ्र्योट भएको थियो । आव २०७६÷७७ मा ७ सय ८४ सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ४ सय ४९ जोडीको मुद्दा फछ्र्योट भएको र आव २०७७÷७८ मा सम्बन्धविच्छेदका लागि अदालतमा १ हजार ५४ मुद्दा दर्ता गराएकामा ७ सय १३ जोडीको मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।
त्यसैगरी, आव २०७८-७९ को असार १७ सम्म सम्बन्धविच्छेदका १ हजार ३ सय ४७ मुद्दा दर्ता भएकामा ९ सय ७८ को फैसला भइसकेको र ३ सय ७९ प्रक्रियामा रहेको सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए । अदालतमा सम्बन्धविच्छेद गर्न आउनेमा महिलाको संख्या धेरै रहेको र २३ देखि २६ वर्ष उमेरसम्मका श्रीमान् श्रीमतीमा यो अवस्था आउने गरेको उनले जानकारी दिए ।
किन बढ्दै छ सम्बन्धविच्छेद ?
मुख्य न्यायाधीश थापाका अनुसार यसो हुनाका मुख्य कारण बसाइँसराइ र स्वतन्त्रता हुन् । गाउँ छाडेर सहरी वातावरणमा रमाउने, अर्काको देखासिकी गर्ने, राम्रो लगाउने, मिठो खाने र आम्दानीभन्दा खर्च धेरै गर्ने भएका कारण परिवारभित्र कलह सुरु हुन्छ र त्यो फैलिँदै गएर सम्बन्धविच्छेदमा परिणत हुने उनको ठम्याइ छ ।
घोराही उपमहानगरपालिका–६ का ९१ वर्षीय चूडामणि पौडेल आधुनिकताका नाममा नेपाली संस्कारमाथि विभिन्न विकृति विसंगति थपिँदै गएका कारण पछिल्लो समयमा वैवाहिक सम्बन्धमा खटपट आउने गरेको बताउँछन् । पौडेलका अनुसार, पहिलेपहिले वरबधुको छनोट गर्दा दुवैतर्फको तीन पुस्तासम्मको सोधपुछ गरेर मात्र अन्तिम टुंगोमा पुग्ने गरिन्थ्यो ।
पहिला केटा वा केटीको मावलीतर्फको समेत सोधखोज गरेर मात्र विवाहको निक्र्योल गरिने चलन थियो । ‘कुल हेरेर विवाह गर्ने मूल हेरेर पानी खाने उखान लागू गरेर वरबधुको छनोट गर्ने त्यो बेलाको समाजमा वैवाहिक सम्बन्धविच्छेदका घटना छिटपुट मात्र हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिलेको वैवाहिक सम्बन्ध जोड्ने प्रक्रिया हेर्ने हो भने अधिकांश निर्णय फेसबुकबाट परिचय गरेर फेसबुकबाटै विवाह गर्ने अन्तिम टुंगोमा पुग्ने गरेको पाइन्छ ।’
बाँचुन्जेलका लागि जोडिने वैवाहिक सम्बन्धलाई १÷२ घण्टाको यात्राको साथीजस्तै हलुको पाराले हेर्ने गरेका कारण सम्बन्ध टिक्न नसकेको पौडेलको भनाइ छ ।
अधिवक्ता लेखनाथ काफ्ले पारिवारिक बेमेल, आपसी समझदारीको अभाव, वैदेशिक रोजगारीका क्रममा उत्पन्न विवाद, वैदेशिक संस्कृतिको सिको, चाँडो उमेरको प्रेमविवाह आदिले वैवाहिक सम्बन्धविच्छेदका घटना दिनानुदिन बढ्दै गएको बताउँछन् ।
काफ्लेका अनुसार, पतिले अर्काे विवाह गरेको, पत्नीको अंगभंग हुने तथा मानसिक कष्ट हुने जाल प्रपञ्च गरेको, खान लगाउन नदिई घरबाट निकालिदिएको, अन्य महिलासँग यौनसम्बन्ध राखेको र पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ । यस्तो व्यवस्था मुलुकी देवानीसंहिता, २०७४ ले गरेको हुनाले पनि अहिले वैवाहिक सम्बन्धविच्छेदका घटना बढ्न थालेको उनको तर्क छ ।
अधिवक्ता अर्जुनकुमार अधिकारीको अवलोकनमा जति छिटो वैवाहिक सम्बन्ध जोडिन्छ, त्यतिकै छिटो सम्बन्धविच्छेद हुने गरेको देखिन्छ । यो तथ्यलाई प्रमाणित गर्न अदालतमा दिनहुँ दर्ता हुँदै गएका सम्बन्धविच्छेदका मुद्दालाई लिन सकिने उनी बताउँछन् ।
स्वदेशमा बढ्दो बेरोजगारीले गर्दा पति वा पत्नी विदेश गई कमाएर घर पठाएको पैसा आफू विदेशबाट फर्कंदा हिनामिना भएको, आफूले पठाएको पैसा लिई बालबच्चालाई बिचल्लीमा पार्दै पति वा पत्नीले दोस्रो विवाह गरेको अवस्थाले पनि सम्बन्धविच्छेदको घटनामा वृद्धि भएको अधिवक्ता अधिकारी बताउँछन् । दाङमा सम्बन्धविच्छेदका घटनालाई महिलावादी दृष्टिकोणले पनि अध्ययन र विश्लेषण गर्ने गरिएको पाइँदैन ।
यस्तो छ कानुनी व्यवस्था ?
मुलुकी देवानीसंहिताको दफा ९३ मा पतिपत्नी दुवैले चाहेमा सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । साथै दफा ९४ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था रहेको छ ।
त्यस्तै, कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी छुट्टै बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ ।
सोही संहिताको दफा ९५ मा कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेका अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा महिलाले सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था रहेको छ । पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौनसम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पनि पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुुनी व्यवस्था रहेको छ ।
दफा ९६ मा मेलमिलापको व्यवस्था पनि छ । सो बमोजिम सम्बन्धविच्छेदका लागि महिला वा पुरुषको निवेदन परेमा अदालतले दुवै पक्षलाई सकेसम्म सम्झाइबुझाइ मेलमिलाप गराउनुपर्नेहुन्छ । दफा ९७ मा चाहिँ सम्झाउँदा बुझाउँदा पनि पतिपत्नीबीच मेलमिलाप गराउन नसकेपछि मात्रै सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । दफा ९७ बमोजिम पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्धविच्छेद गराउनुुपर्ने व्यवस्था सो संहितामा उल्लेख गरिएको छ ।
स्थानीय तह र व्यक्तिको भूमिका
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार झंैझगडाका, मानाचामल, सिमाना विवाद, घरभाडा, जग्गा रोक्कालगायतका मुद्दा न्यायिक समितिले हेर्ने गरेको छ । वैदेशिक रोगजारीमा गएका मानिसको प्रायः जग्गा रोक्काको मुद्दा आउने गरेको छ । न्यायिक समितिले तीन महिना मात्रै जग्गा रोक्का गर्न पाउने प्रावधान रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको कार्यविधिमा रहेर काम गर्ने गरेको चौधरी बताउँछिन् ।
थाहा नपाएका सम्बन्धविच्छेदका मुद्दा लिएर न्यायिक समितिमा आए पनि आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण सम्बन्धित निकायमा पठाउने गरेको उनी बताउँछिन् ।
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी वैदेशिक रोजगारीलाई घटाएर युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी देशको आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिन्छन् । उनका अनुसार देशमा रोजगारीका अवसर नहुँदा धेरै युवा बिदेसिन बाध्य भएकाले तिनलाई आफ्नै ठाउँमा बस्ने र केही गर्ने अवसर सिर्जना गर्न घोराही उपमहानगरपालिकाले ध्यान दिइरहेको छ ।
बाँचुन्जेलका लागि जोडिने वैवाहिक सम्बन्धलाई १-२ घण्टाको यात्राको साथीजस्तै हलुको पाराले हेर्नुहुँदैन । साथै, आफूले भविष्य’bout गम्भीरतापूर्वक विचार नगरी हतारमा विवाह गर्ने र फुर्सदमा पछुताउने अवस्था पनि आउन दिनुहुँदैन ।






