काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम भए पनि उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट सुरु भई १७ गते सकिने छ । ‘एसईई परीक्षा पूर्वनिर्धारित समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ,’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै भनेका छन्, ‘उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको छ ।’ परीक्षा अवधिभरि कुनै पनि परीक्षा केन्द्रमा अनावश्यक भीडभाड नगर्न अभिभावक र स्थानीय जनसमुदायलाई अनुरोध गरिएको छ ।
मन्त्री पोखरेलले अपिलपत्रमा भनेका छन्, ‘परीक्षालाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्न विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, सरकारी निकाय, आमसञ्चार माध्यम तथा पत्रकार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालामा हार्दिक अपिल गर्छु ।’
यसैगरी, शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन मन्त्रालयले भनेको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन मन्त्रालयले अपिल गरेको हो ।
‘विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरसको संत्रासका कारण आवश्यक सतर्कता अपनाउन चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्म परीक्षा सञ्चालन गरिसक्न अनुरोध गरिएको थियो,’ मन्त्री गिरिराजमणि पोखरेलले अपिलपत्रमा भनेका छन्, ‘यो परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र सुरु नहुन्जेलसम्म करिब तीन हप्ता देशभरका करिब ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरू घर परिवारमा नै रहनेछन् । बालबालिकालाई घर बाहिर नजान, विद्यालयमा सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाको नाममा भीडभाड वा आमभेला नगर्न सबैमा अनुरोध छ ।’
स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षकको माग
नेपाल शिक्षक महासंघले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ ।
महासंघका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी हुन विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गराउनुपूर्व स्वास्थ्य परीक्षण गर्न÷गराउन सरकार र शिक्षक समुदायलाई सुझाएको बताए ।
उनले महासंघको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग गरेको जनाए । सो परीक्षामा साधारण र प्राविधिकतर्फ गरी ४ लाख ८२ हजार २ विद्यार्थीले आवेदन दिएका छन् भने र ४ हजार ९ सय ९४ परीक्षा केन्द्र तेकिएको छ ।
उनले परीक्षापछि पढाइ नहुने भए पनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई बिदा दिनु नपर्ने सो अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव दिए ।