पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ बर्से युवा दलबहादुर कुँवर दौडमा पहिलो भएर बाजी मारे । कलिलो उमेरमै देखिएको उनको कुदाइको सबैतिरबाट प्रशंसा भयो । म्याराथनको ६२ किलोमिटर दूरी उनले ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा पूरा गरी आप्mना १ सय जना प्रतिस्पर्धीलाई पछि पारे । जुम्लास्थित कर्णाली स्पोर्ट क्लबमा आबद्ध भएको एक महिना पनि नपुगेका युवाको यो उत्साह सबैका लागि प्रेरणादायी छ । क्षेत्रका हिसाबले यो खेलकुद भए पनि यसले नेपालका युवाहरू अवसर पाएमा कुनै पनि काममा पछि पर्दैनन् भन्ने उदाहरण देखाएको छ । देशमा यदि सरकारले युवाहरूका लागि खेलकुद मात्र होइन, अन्य अवसर पनि जुराइदिएमा युवाहरूले स्वदेशमै आप्mनो पौरख देखाउन तयार छन् । यसका लागि सम्बन्धित निकायले गम्भीरतापूर्वक सोच्नुपर्छ । युवा देशभित्रै अवसरको खोजीमा छन् । आपूmभित्र रहेको क्षमता, प्रतिभा, उत्साह र जोस तथा जाँगर स्वदेशमै सदुपयोग गर्न चाहन्छन् ।
ससाना अवसर र मौका पनि उनीहरूका लागि आप्mनो चाहना र आकांक्षा अभिव्यक्त गर्ने थलो बन्ने गरिरहेको छ । नेपाल आपैंmमा सम्भावनाको खानी रहेको देश हो । यहाँ प्राकृतिक साधन स्रोत र सम्भावित अवसर प्रशस्त मात्रामा लुकेर रहेको छ । आवश्यकता छ, केबल त्यसको पहिचान र व्यावहारिक कार्यान्वयनमा ल्याउने सोच, नीति र योजनाको । यसैको अभावका कारण दैनिक लाखौं युवा विदेशी भूमिलाई आप्mनो श्रम गन्तव्य बनाएर बाहिरिने गरिरहेका छन् । त्यसैले पनि, नेपालको परम्परागत उत्पादन प्रणालीले आधुनिकीकरणको बाटो पछ्याउन सकिरहेको छैन । आधुनिकीकरणका लागि आवश्यक पर्ने नयाँ सोच, श्रम र उत्पादक शक्ति बाहिरिइरहेको हुनाले पनि कृषि, उद्योग तथा स्थानीय सिप र प्रविधिमा आधुनिकपन आउन सकिरहेको छैन । हरेक क्षेत्रको उत्पादन प्रणाली पुरानै छ । उत्पादक शक्ति विदेशमा फिँजिएको छ । कृषि तथा औद्योगिक आधुनिकीकरणको नेतृत्व दिनसक्ने क्षमता गाउँगाउँमा रहेका बालबालिका र ज्येष्ठ नागरिकको काबुमा छैन । त्यसैले पनि देश पिछडिएको अवस्थामा छ । तर, दैनिक विदेसिने युवाशक्ति देशमा नयाँ र उन्नत खालका कार्यक्रम कार्यान्वयन गर्नसक्ने नीति तथा योजना यदि सरकार र सरकार मातहतका निकायले ल्याउने हो भने स्वदेशमै बसेर काम गर्न तयार देखिन्छन् । यस्तो अवस्थामा सरकार किंकर्तव्यविमुढ बन्ने र विदेशमा गएका युवाहरूले पठाएको रेमिटेन्समा मात्र आँखा लगाउने गर्नु उचित हुँदैन । देशलाई आत्मनिर्भर बनाउनतिर लाग्नैपर्छ ।
अहिले दिन प्रतिदिन देखिएको परनिर्भरताले देशलाई आर्थिक टाट पल्ट्याइको दिशातिर धकेलेर लगिरहेको छ । देश श्रीलंका बन्दै छ भनेर सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले भन्ने र त्यसैमा आनन्द लिने गरिरहेका छन् । तर, यसलाई कसरी रोक्ने भन्ने सोच कसैमा पनि पलाएको देखिँदैन । तर, यस्तो अवस्थामा पनि युवाहरू विदेशी मरुभूमिमा भौंतारिएर आप्mना सपना, आवश्यकता र आकांक्षा पूरा गर्ने गरिरहेका छन् । यति मात्र होइन, स्वदेशमै पाइने मौका र अवसरको खोजीमा पनि रहेका देखिन्छन् । रुकुमपूर्वमा आयोजना गरिएको गुरिल्ला अल्ट्रा म्याराथनमा १९ बर्से युवाले देखाएको उत्साह र क्षमता सबैका लागि प्रेरणाको स्रोत बनेको छ । नेपाली युवाले स्वदेशमै अवसर पाए हाँसीखुसी उत्साहका साथ गर्न तयार छन् भन्ने उदाहरण पनि यसले देखाएको छ । यस्तो युवा उत्साहलाई पुँजीकृत गरिनु जरुरी छ ।






