लगातार दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० को भारी गोल अन्तरले हराएर सुखद् सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रनेछ । माल्दिभ्सविरुद्ध उच्च प्रदर्शन गरेको नेपाल श्रीलंकाविरुद्ध पनि सोही प्रदर्शनलाई निरन्तरता दिँदै लगातार जितको खोजीमा हुनेछ ।

फाइनल यात्रालाई थप सहज बनाउन पनि नेपाललाई श्रीलंकाविरुद्ध जितको आवश्यकता छ । टोलीसँग सिनियर राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर तथा टोलीका कप्तान आयुष घलानको साथ रहेको छ । आयुषसँगै अग्रपंक्तिमा सुगम सुवाल, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई, अजय चौधरी, सुमित श्रेष्ठ, अभिषेक वाइवा, सन्दीप कार्की र गोलरक्षक ईश्वर गुरुङको साथ रहेको छ ।

यता, पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका नेपाललाई स्तब्ध पार्दै पहिलो जितको खोजीमा हुनेछ । श्रीलंकालाई पनि फाइनल पुग्ने सम्भावना जीवित राख्न यो खेलमा जितको खाँचो छ ।

यस च्याम्पियनसिप यू–१८ र यू–१९ मा नेपाल र श्रीलंका पहिलोपटक भिड्न लागेका हुन् । अघिल्लो दुई संस्करणमा सहभागिता नजनाएको श्रीलंकाले तेस्रो संस्करणमा समूह चरणका दुवै खेलमा बंगलादेश र भारतसँग समान ३–० को हार बेहोरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले श्रीलंकाविरुद्धको खेलका लागि टोली तयार रहेको बताए । ‘हामी च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा गरेर नै यहाँ आएका छौं । पहिलो जितले टोलीको मनोबल बढेको छ । बंगलादेश र श्रीलंकाबीचको खेल पनि हेर्न पायौं,’ प्रशिक्षक केसीले भने, ‘श्रीलंकाविरुद्धको खेलका लागि त्यही अनुसारको प्रशिक्षण गरेका छौं । श्रीलंकाविरुद्धको खेलमा नेपालको थप सुन्दर खेल तपाईंहरूले हेर्न पाउनुहुनेछ ।’

यसअघि यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियसिप यसपालिदेखि यू–२० को नामबाट भइरहेको छ । हालसम्म यसको तीन संस्करण सकिँदा नेपालले दुई तथा भारत एकपटक च्याम्पियन बनेको छ ।

२०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । त्यसपछि सन् २०१८ मा भुटानमा सिंगल राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरे पनि गोल अन्तरमा च्याम्पियन बनेको थियो ।

सन् २०१९ नेपालमै आयोजना भएको च्याम्पियनसिपमा भारतले बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । नेपालले १५ साउनमा आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्ने तालिका छ । सहभागी पाँच टोलीको राउन्ड रोविनपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल २० साउनमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स