काठमाडौं । नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई ६ लाख रुपैयाँ राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रदान गरिएको छ ।
विश्व भुटानी सहित्य संगठनले स्थापन गरेको पुरस्कार अमेरिकाको हयारिसवर्ग, पेन्सलभेनियामा आयोजित बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान–५ कार्यक्रममा क्षत्रीलाई प्रदान गरिएको छ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा कवि पवन चाम्लिङ, डा गोविन्दराज भट्टराई, पुरस्कारको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ, वर्तमान अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो अन्तरेले क्षत्रीले सो समारोहमा पुरस्कार प्रदान गरेका छन् ।
भारतको असम, गुवाहाटीमा नै रहँदै आएका क्षेत्रीको पुरस्कार कवियित्री दीपा राई पुनले ग्रहण गरिन् । यो पुरस्कारको राशी हरेक अनुष्ठानमा बढाउँदै लगिने जानकारी संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले कार्यक्रममा बताए । अर्को अनुष्ठान–६ बाट अन्य विधामा पनि यो पुरस्कार थप्ने र प्रदान गरिने सम्पाङले बताए, ‘विश्व भुटानी साहित्य संगठनमार्फत स्थापित स्वीकारोक्ति फाउन्डेसन जीवन जस्तोसुकै आरोह अवरोहलाई स्वीकार गर्दै अघि बड्ने जीवन दर्शनलाई आत्मसाथ गर्दै स्थापित उक्त पुरस्कार अहिलेसम्मको नेपाली राशीको सबैभन्दा ठूलो पुरस्कार हो’, उनले भने ।
बसाइँ, ब्रम्हपुत्रको छेउछाउ, अतृप्तजस्ता ओजनदार कृतिका कृतिकार क्षेत्री आसाममा बसेर आजीवन नेपाली साहित्यका क्षेत्रमा योगदान गर्ने साहित्यकार हुन् । यो पुरस्कार नेपाली साहित्य क्षेत्रमा अनवरत सेवा गर्ने व्यक्तित्वलाई प्रदान गरिने फाउन्डेसनले बताएको छ ।






