झन्डै आधा दशक बित्नै लाग्यो, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको । १० साउन २०७५ मा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यारालाई खोजी कारबाही गरिपाऊँ भनी पन्तका परिवारले निकै हारगुहार गरे । न्यायको लडाइँमा पन्तका परिवार मात्र होइन सिंगो कञ्चनपुरे समाज हारिसक्यो । अनुसन्धानका क्रममा एउटा कृत्रिम मान्छे खडा गरी यही हो निर्मलाको हत्यारा पनि भनेर देखाउने प्रयास विगतमा भयो । अन्ततः कानुनी आधारले पुष्टि हुन सकेन । कसैद्वारा प्रायोजित नक्कली हत्यारालाई छुट दिइयो । हाल मृतक पन्तकै छिमेकी जिल्लाका शक्तिशाली सांसद प्रधानमन्त्री छन्, उनकै पार्टीका अर्का सांसद गृहमन्त्री छन् । तैपनि निर्मलाको मृत आत्माले न्याय पाएको छैन ।
निहारिकाको नियतिः
जलेश्वरकी २० वर्षीया निहारिका राजपुतले अघिल्लो शुक्रबार राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरिन् । उनले ६ कात्तिक २०७६ का दिन बेलुका धनुषा जनकपुर–४ स्थित शिवराज श्रेष्ठले कोठामा लगेर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । उनले यसविरूद्ध २०७६ को फागुन ११ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसअघि नै प्रहरीमा दिएको निवेदनमा निहारिकाले श्रेष्ठसँग श्रीमान–श्रीमतिको सम्बन्धमा रहेको र आफूलाई हक अधिकार दिलाइ पाऊँ भनेर उल्लेख गरेकी थिइन् । अदालतले ‘जबर्जस्ती करणी भएको पुष्टि नहुने’ तर, बच्चाको हकमा ‘छुट्टै कानुनी उपचारबाट सम्बोधन प्राप्त हुने’ भन्ने फैसला गरेको थियो । पीडितको आत्मदाहको प्रयासपछि भने यसरी फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश सर्वोच्च अदालत तानिएका छन् ।
निहारिका जबर्जस्ती करणीबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर गत जेठ २९ बाट काठमाडौंमा अनशन बसेकी थिइन् । उनीसँग असार ३ मा माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री बालकृष्ण खाँणले अनशन तोडाएका थिए । उक्त प्रतिबद्धता कार्यान्वयन नगरिएपछि निहारिकाले शुक्रबार शीतलनिवास अगाडी आत्मदाहको प्रयास गरेकी थिइन् ।उनको आत्मदाहको प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् भने राष्ट्रपति भण्डारीले कानुनमन्त्री र महान्यायाधिवक्तालाई बोलाएर घटना’bout जिज्ञासा राखेकी छन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग पूरा गर्नलाई अनशन नै बस्नुपर्ने र आत्मदाहको असफल प्रयास गर्नुपर्ने यो नियति निहारिकाको मात्र होइन, हजारांै निहारिकाहरू यही नियतिको सिकार भएका छन् ।
यसो त उनी जुन संस्थाका अगाडि अन्याय भएको अनुुभूति गराउने उद्देश्यले आत्मदाह गर्ने बाटो रोजिन, उक्त संस्थाकै प्रमुखले पनि न्याय नपाएको वर्षौं भइसकेको अवस्था छ । विचरा निहारिकालाई यति परको कुरा के थाहा ?
निर्मला पन्तका लागि न्यायको लडाइँमा पन्तका परिवार मात्र होइन, सिंगो कञ्चनपुरे समाज थाकिसक्यो
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आजभन्दा तीन दशक अघि दासढुंगामा भएको दुर्घटनाका कारण र रहस्य आज उनकै पत्नी स्वयं मुलुककै सर्वोच्च संस्था राष्ट्रपतिको पदमा बस्दै गर्दा पनि उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । प्रकारान्तरले राष्ट्रपतिउपर पनि मुलुकले न्याय गरेको छैन । आफ्ना पतिको दुर्घटना हो वा सुनियोजित हत्या हो ? यसको जवाफ पाउने अधिकार मदन भण्डारीकी धर्मपत्नी हुनुका नाताले वर्तमान राष्ट्रपतिलाई पुरापुर छ । तर, राज्यले उनको हकसमेत हनन गरेको अवस्थामा विचरी निर्मला ? विचरी निहारिकाले कसरी न्याय पाउन सक्लान् ? मोफसलकी निम्न परिवारकी एउटी बालिका, उनको सुनवाइ कसले गर्ने ? किन गर्ने ? राज्य यस सम्बन्धमा अनुत्तरदायी नै देखियो र देखिँदै छ । महादेव नै उत्ताना छन्, वरको आशा कोसँग गर्ने ?
किन बढ्छन् बलात्कार ?
पछिल्लो समयमा समाजमा बलात्कारको बिगबिगी देखिन्छ । महिला हुनु नै अपराध हो त ? महिलाको जन्म बलात्कार हुनकै लागि भएको हो त ? प्रश्न उठ्न थालेका छन् । जबर्जस्ती करणी, ललाइफकाइ यौन शोषण तथा सतित्वहरण गर्नुसमेत बलात्कार हो । आजकल मात्रामा फरक होला तथापि घटनाका रूपमा भने यो सर्वत्र घटेको देखिन्छ ।
गत साउन २५ गते बझाङको बुंगल नगरपालिकाको रारु भन्ने ठाउँमा एकै घरका तीन जना (आमा, छोरी र छोरा)ले आत्महत्या गरे । आत्महत्या गर्ने २२ वर्षीया आमा गीता पार्कीलाई उनका पति विदेश रोजगारीमा गएको मौका छोपी झलक नेपालीले मदिरा सेवन गरी बलात्कार गर्ने गरेको रहस्य खुलेको छ । यसरी बलात्कृत भएको कुरा उनका पतिले थाहा पाएपछि यी दुुईबीच खटपट सुरु भएको र उनी मानसिक रूपमा विक्षिप्त भएको स्थानीय बताउँछन् । बारम्बार बलात्कृत हुँदा उनी डिप्रेसनमा रहेको बताइएको छ । यसैका कारण उनले छोराछोरीसहित रूखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्छ ।
यसो त विगतमा बझाङककै मस्टा गाउँपालिका–२ खिकालाकीमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको थियो । उनको शव स्थानीय शिवमन्दिर नजिकै फेला पारिएको थियो । बलात्कारपछिको हत्या अभियोगमा सोही गाउँका राजेन्द्र बोहरा पक्राउ परका थिए ।
यो नै नेपालको बलात्कारसम्बन्धी अन्तिम घटना होइन । पछिल्लो घटनासम्म हो । बलात्कारको शृंखला अविरल रूपमा बढ्दो छ । नेपालको कानुनअनुसार कसैको मन्जुरी बिना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनक्रियालाई बलात्कार भनिन्छ । उमेर नपुगेका बालिकालाई ललाइफकाइ, मन्जुरी लिई वा नलिई गरिने यौनकार्यलाई पनि बलात्कारका रूपमा लिइन्छ । कुनै महिलामाथि बलात्कार हुनुका थुप्रै कारणहरू हुन सक्दछन् तर तीमध्ये मुख्य कारण चाहिं महिलाको शरीरलाई वस्तुका रूपमा हेर्ने पुरातनवादी सोच नै हो । एकाध अपवाद छाडेर हेर्दा महिलाको शरीरलाई खेलौना तथा मनोरञ्जनको साधनका रूपमा हेर्ने पुरुषको भोगवादी संस्कारका कारणले नै महिलामाथि बलात्कारका घटनाहरू हुने गरेका छन् । बलात्कारका घटनाहरू हुनुका अन्य कारणमा पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेश जानु, स्कुल तथा कलेजमै ब्वायफ्रेन्ड र गर्लफ्रेन्ड संस्कृतिको विकास हुनु अनि विवाह नगरी सँगै बस्नु (लिभिङ टुगेदर)का कारणले पनि बलात्कारको घटना बढाउन सघाएका छन् ।
बलात्कृत महिलाका कुरा सुनुवाइ नहुने हो भने निहारिकाले न्याय पाउने कुरा त परै जाओस्, समाजमा अरू धेरै चेलीहरूले निर्मला र निहारिकाकै नियति भोग्न विवस हुनुपर्नेछ
बलात्कार र यसैका कारण गर्भधारण भई बेवारिसे शिशुु जन्माएर घर न घाटको बनाउनेको कथाव्यथा अलग छ । स्थानीय पालिकामा रहेको न्यायिक समिति पनि बलात्कारबिरूद्ध खासै कारबाही गर्नभन्दा आपसमा मेलमिलाप गराउनतिर उद्दत गरेको देखिन्छ । यसले गर्दा बलात्कारीको आत्मबल बढ्नुका साथै बलात्कृतको मानसिकता दिनप्रतिदिन कमजोर बन्दै गएको देखिन्छ ।
कडा कानुनको खाँचो
मुलुकी अपराध संहिता २०७४ मा जबर्जस्ती करणीसम्बन्धी अपराध गर्नेविरूद्ध कडा सजायको प्रावधान छ । संहिताको दफा २१९ मा विवाहिता श्रीमतीसँग करकापमा शारीरिक सम्पर्क राख्नसमेत नपाइने उल्लेख छ । उक्त संहिता लागू भइसकेपछि लोग्नेविरूद्ध श्रीमतीले बलात्कारको आरोपमा मुद्दा दायरा गरेका घटना पनि सार्वजनिक भएका छन् । तर, कानुनको पालना र कडाइ कतिसम्म भएको छ भन्ने कुरा भने महत्वपूर्ण हुन्छ ।
अर्को समस्या बलात्कारीका लागि कडा कानुन नहुनु हो । बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनेगरी कानुन बनाउनुपर्ने र शून्य सहनशीलता अपनाइ लागू गर्नुपर्ने देखिन्छ । अन्यथा, बझाङ घटना पुनरावृत्ति नहोलान् भन्न सकिँदैन । खासगरी बलात्कारसम्बन्धी कानुन कमजोर हुनु, भएको कानुन पनि दृढतापूर्वक कार्यान्वयन नगरिनुजस्ता कारणले बलात्कारीहरू हौसिन पुगेको देखिन्छ ।
भारतले घटनाको गाम्भीर्यता हेर्दै जघन्य बलात्कारीलाई मृत्युदण्ड समेतको व्यवस्था गरेको छ । आजीवन कारावासको कानुन बनाएको छ । तर, हामीकहाँ बलात्कारजस्तो संवेदनशील विषयमा पनि कानुनी पालना राम्रोसँग गरिँदैन । अपराधअनुसारको सजाय तोकिँदैन । जबसम्म कडा कानुन बनेर कार्यान्वयनमा आउँदैन तबसम्म अपराधीको मनोबल उच्च रहन्छ । हामीकहाँ एक त बलात्कारका लागि कानुुनी साहारा लिने चलन नै कम छ । समाजको डर, मान, इज्जतको सवाल र घर परिवारसमेतको डरका कारण घटनालाई गोप्य राख्ने अन्त्यमा गुपचुपमा मिलापत्र गराएर टुंग्याउने गरिन्छ । उजुरी गरिहालेको खण्डमा पनि कानुनमा कडा कारबाहीको व्यवस्था नै छैन ।
ऐनले जबर्जस्ती करणी र त्यसविरूद्घ सजायका प्रावधान तोकेको छ । तर, बलात्कारजस्तो अक्षम्य अपराधलाई उमेर, नाता, आदिका कारण सजायमा अनेकता गरेको छ । सजायको अनुपात घटिबढी गराएको छ । १ भदौ २०७५ समलदेखि लागू भएको मुलुकी अपराध संहिता (ऐन) २०७४ को दफा २१९ को उपदफा ३ (क)ले १० वर्षभन्दा मुनिका बालिका करणी गर्नेलाई १६ देखि २० वर्षसम्मको कैद व्यवस्था गरेको छ । सोही दफाको उपदफा ७ ले सामूहिक बलात्कारका हकमा ५ वर्ष थपी २५ वर्ष पु-याएको छ । उक्त ऐनको २२० दफामा हाडनाता करणीलाई जन्म कैद भनेको छ । तर, यो मात्र प्रयाप्त छैन । यस्ता अपराधीलाई फाँसीकै सजाय तोकिनुपर्छ । तब मात्र बलात्कारका घटनामा कमी आउँछन् । श्रम शिविरमा लगेर जोताउनुपर्छ । अन्यथा, निहारिकाले न्याय पाउने कुरा त परै रहोस्, समाजमा अरू धेरै चेलीले निर्मला र निहारिकाकै नियति भोग्न विवस हुनुपर्नेछ ।






