काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका ११ आयोजनाको काम गुणस्तरहीन पाइएको छ । राष्ट्रिय सर्तकता केन्द्रले गरेको प्राविधिक परीक्षणमा ती राष्ट्रिय गौरवका आयोजनाको काम गुणस्तरहीन पाइएको हो ।
सतर्कता केन्द्रले कार्यान्वयन चरणमा रहेका राष्ट्रिय गौरव आयोजनामध्येबाट ११ वटा प्राविधिक परीक्षण (टेक्निकल अडिट रिपोर्ट) कार्य सम्पन्न भएको र त्यसमा गुणस्तरहीन पाइएको जनाएको छ । सर्तकताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनमा अपरिपालनाहरूसहितको प्रतिवेदन सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती परियोजनाका सम्बन्धमा अनुसन्धान कार्य गरिरहेको छ ।
केन्द्रले आयोजनामा प्राविधिक परीक्षण सम्पन्न गरी प्राविधिक परीक्षकले औंल्याएका अपरिपालनासम्बन्धी प्रतिवेदन (नन् कन्फर्मेन्स रिपोर्ट)हरूलाई केन्द्रमा सरोकारवाला तथा विभिन्न निकायका प्रतिनिधिसमेतसँग छलफल गरी त्रुटि सुधार गर्न र आयोजनाहरूको गुणस्तर कायम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा सतर्कता केन्द्रले माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लामाबजार दोलखा, मेलम्ची खानेपानी प्रोजेक्ट सिन्धुपाल्चोक, पुष्पलाल लोकमार्ग आयोजना पूर्व सेक्टर भोजपुर दिक्तेल सडक, रानीजमरा गुलरिया सिँचाइ, (मुख्य नहर कन्ट्रक्सन, हाइड्रोको फिडर नहर) कैलालीको टेक्निकल अडिट रिपोर्ट तयार पारेको थियो ।
केन्द्रले बुढी खोला पुल कन्ट्रक्सन आयोजना बर्दिया, सपहा खोला पुल, सिरहा, कञ्चनपुरको १५ किलोमिटरको स्तरोन्नति भइरहेको डाँकेबजार–बेलौरी–बैतडी–दैजी सडक, भुरीगाउँ–गुलरिया–मुर्तिया सडक बर्दिया, नवलपुर–मलंगा सडक सर्लाही, नयाँ सडक–बरहथवा–मधुवानी सर्लाही, रतु नदी तालिम कार्य महोत्तरीको पनि प्रतिवेदन तयार पारेको थियो ।
केन्द्रले टेक्निकल अडिट रिपोर्टमा ११ राष्ट्रिय आयोजनासहित ६८ आयोजना गुणस्तरहीन भएको जनाएको छ । वार्षिक प्रतिवेदनमा १ सय ७ आयोजनाको प्राविधिक परीक्षण गरेको उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँच, कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको एक र शिक्षा मन्त्रालयका दुई तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तीन आयोजनाको फाइल अख्तियारमा कारबाही लागि पठाइएको बताइएको छ ।
सतर्कताले राष्ट्रिय गौरवका ११, सडक÷ग्रामीण सडक आयोजना ६५, पुल आयोजना (झोलुंगे) ११, सिँचाइ आयोजना ६, भवन निर्माण तथा सहरी विकास आयोजना तीन, विमानस्थल आयोजना एक, खानेपानी तथा सरसफाइ आयोजना दुई, नदी तथा जल उत्पन्न प्रकोप आयोजना दुईको प्राविधिक परीक्षण गरेको जनाएको छ ।