एसईई परीक्षा त्रास होइन

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत्र ६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार यसपटक करिब पाँच लाख विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । यो फागुन चैत महिना भनेको पनि खासगरी विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीका लागि परीक्षामय बनेको हुन्छ । आफ्नो वर्षभरिको मिहिनेत र अभिभावकको लगानीको प्रतिफल प्राप्त गर्ने महिनाका रूपमा पनि यो फागुन चैत महिनालाई बुझ्न सकिन्छ । निश्चित परीक्षा उत्तीर्ण गरिसकेपछि एक खुट्किलामाथि उक्लिने भएकाले पनि यो समय विद्यार्थी, अभिभावक, विद्यालय एवं शिक्षकका लागि पनि महत्वपूर्ण रहेको छ । विगतका एसईई परीक्षाका नतिजालाई हेर्ने हो भने अधिकांश विद्यार्थी अंग्रेजी, गणित, सामाजिक र विज्ञानमा कमजोर देखिएका छन् । यी विषयमा विद्यार्थीको सिकाइस्तर कमजोर देखिएको छ । त्यसैले अहिलेको समय एसईईको तयारीमा रहेका भाइबहिनीका लागि अलि बढी अभ्यासात्मक एवं दुविधायुक्त कुरालाई सरलीकृत रूपमा बुफ्ने क्षण पनि हो ।

नपढे पनि हुन्छ भन्ने गलत सोचाइले धेरै विद्यार्थी प्रायः असफल हुने गरेका अघिल्ला वर्षका नतिजाले देखाएको छ

खासगरी सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी विषय जटिल बनिदिन्छ भने निजी बोर्डिङका विद्यार्थीलाई नेपाली विषय जटिल बनिदिन्छ । तर, सबै विषय आआफ्ना स्थानमा उत्तिकै महŒवपूर्ण हुन्छन् र सबै विषयलाई समान महŒव र समय दिएर तयार गरेको खण्डमा सफलता अवश्य हासिल गर्न सकिन्छ । अंग्रेजी, गणित, विज्ञान भन्नेबित्तिकै साह्रै गाह्रो विषय हुन् भन्ने मनोवैज्ञानिक त्रासले विद्यार्थीलाई सताउने गरेको छ । जबसम्म यो डर र त्रासको मानसिकतालाई दिमागबाट हटाउन सकिँदैन परीक्षामा सफलता पाउन पनि त्यत्तिकै गाह्रो हुनेतर्फ विद्यार्थी सचेत हुनुपर्छ । अभिभावकले पनि आफ्ना नानीलाई परीक्षा भनेको हाउगुजी हो भन्ने गलत सोचाइलाई हटाइदिनसक्नुपर्छ । अभिभावकको अनावश्यक दबाब र अपेक्षाले पनि परीक्षार्थीलाई चिन्तित बनाउने गरेको हुन्छ । तसर्थ, सबै विषयका प्रश्न ढाँचा र विषयवस्तुका आधारमा पूरा तयारी गरेर मात्र परीक्षा हलभित्र पस्ने वातावरणको निर्माण गरिदिनुपर्छ । अघिल्ला अघिल्ला वर्षमा सोधिएका प्रश्नपत्रलाई अभ्यास गर्ने बानी बसाल्न सकेको खण्डमा कुन प्रश्नको उत्तर कति कसरी लेख्ने भन्ने सीपको विकास हुन्छ । प्रश्न बुझेर हल गर्ने गर्दा प्रश्नले मागेको जवाफ दिन सकिन्छ भने उत्तर दिने शैलीले परीक्षकलाई आकर्षित गर्न सकेको खण्डमा अपेक्षाकृत सफलता हासिल गर्न पनि गाह्रो पनि पर्दैन ।

परीक्षा हलभित्र पस्दा कहिल्यै पनि डर र त्रास बोकेर पस्नुहुँदैन । आफूलाई ‘इजी फिल’ गराउन सकेको खण्डमा आत्मबल बढेर जान्छ र पढेको कुरा सजिलै सम्झेर लेख्न सकिन्छ । डर र त्रासले जानेको कुरा पनि लेख्न सकिँदैन । डराउनुपर्ने कुनै कारण नै हुँदैन, यदि राम्रोसँग तयारी गरेर परीक्षा हलभित्र प्रवेश गरेको छ भने । कुनै पनि अचम्मको र कहिल्यै नपढेको नसुनेको प्रश्न परीक्षामा आउँदैन । आफूलाई चुस्त एवं दुरुस्त राख्न सक्नु नै परीक्षा सफलताको कसी ठहर्छ । यसका अतिरिक्त विद्यार्थीले प्रत्येक विषयको प्रत्येक खण्डको आफैं प्रश्न बनाएर अध्ययन गर्ने बानी बसाल्नुपर्छ । साथीसँग एक आपसमा प्रश्न साटासाट गरेर पढ्ने बानीले उत्तर लेख्ने शैलीलाई थप परिष्कृत बनाउन मद्दत पुग्दछ । प्रश्न बनाउँदै गर्दा नै त्यसको वास्तविक उत्तर त्यो प्रश्नसँगै आउने हुनाले परीक्षामा न दायाँबायाँ गर्नुपर्छ न त असफल हुने नै डर हुन्छ । अघिल्ला वर्षमा सोधेका प्रश्नपत्र खोजी गरी तिनीलाई वर्गीकरण गरी अभ्यास गर्नुपर्छ । जति धेरै अभ्यास त्यति नै बढी निखार आउने हुनाले परीक्षाको समयमा प्रश्नमा केन्द्रित भएर उत्तर लेख्ने अभ्यास बढी गरेकै राम्रो हुन्छ । प्रश्नले विभिन्न ज्ञान, सीप एवं तथ्यमा आधारित उत्तर खोजेको हुन्छ ।

सर्वप्रथम यी कुरा नबुझी सिधै उत्तर लेख्दा प्रश्नले खोजेको एउटा लेखेको अर्कै हुन्छ र असफलताको कारण नै यही बन्छ । यो कमजोरीलाई हटाउनुपर्छ । कतिपय परीक्षार्थी पुरै प्रश्न नपढी उत्तर दिने गर्दछन् । यसो गर्दा प्रश्नले खोजेको उत्तर नपुग्न सक्छ र त्यस्तो उत्तरमा परीक्षकले अंक दिनुपर्ने बाध्यता पनि ठान्दैनन् । प्रश्नको उत्तर दिने क्रममा सम्भव भएसम्म क्रमागत रूपमा दिँदा राम्रो हुन्छ । यो सम्भव नभए आफू कुन प्रश्नको पूर्णविश्वस्त भइन्छ, त्यसैलाई पहिला लेख्दा पनि फरक पर्दैन । यसले गर्दा बाँकी प्रश्नको उत्तर दिन सजिलो हुने र आत्मविश्वास र मनोबल पनि उच्च रहन्छ ।

विद्यार्थीको आआफ्नै पढ्ने शैली र बानी हुन्छ । कसैले सुरुदेखि नै बारम्बार मिहिनेत गरिरहेको हुन्छन् भने कोही भने परीक्षा आउनुभन्दा महिना पन्ध्रदिन अगाडिदेखि पढ्ने बानीका पनि हुन्छन् । कोही भने समूहमा बसेर छलफल गरेर पढ्नेगर्छन्, कोही लेखेर नोट बनाएर टिपोट गरेर पढ्ने हुन्छन् । पढ्ने आआफ्नै शैलीअनुसार हो र आफूलाई कुन तरिकाले पढ्दा सजिलो हुन्छ र बुझिन्छ त्यही तरिका अवलम्बन गर्नु बुद्धिमानी हुन्छ । वर्तमान मूल्यांकन प्रणालीले गर्दा पनि विद्यार्थीमा मिहिनेत गर्ने बानी क्रमशः हट्दै गएको पाइएको छ । अब त नपढे पनि हुन्छ भन्ने गलत सोचाइले गर्दा धेरै विद्यार्थी प्रायः असफल हुने गरेका अघिल्ला वर्षका नतिजाले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार