पत्रकारिताका व्यावहारिक गुरु

सागर पण्डित

मेरो पत्रकारिता करिएरको जननीका रूपमा रहेको राजधानी दैनिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचनको निधन भएको आज एक वर्ष पुगिसकेछ । शेरचनको अनुपस्थितिमा राजधानी परिवारले आफूलाई टुहुरो ठाने पनि उहाँको विरासत जोगाउन ‘शोकलाई शक्ति’मा परिणत गरेर अगाडि बढ्नुपर्ने अवस्था छ । यो हामी राजधानीकर्मीका लागि कठिन र चुनौतीपूर्ण पनि छ ।

स्मृतिमा महेन्द्र शेरचन

महेन्द्र शेरचन पत्रकारिताका व्यावहारिक गुरु हुनुहन्थ्यो । उहाँको मार्गनिर्देशन र प्रेरणा हामी सबैका लागि पत्रकारिताको ऊर्जा र थप भरोसा थियो । पत्रकारिताका असल गुरु गुमाउनुपर्दा अझै पनि असह्य पीडाबोध भइरहेको छ । उहाँले मलाई सधैं अभिभावककै रूपमा सचेत सजग र निर्देशित गराउँदै आइरहनुभएको थियो ।

‘तपाईंले अझै कडा मेहनत गर्नुपर्छ, इमानदारिता गुमाउनुहुँदैन,’ मलाई राजधानी दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारी दिनेक्रममा उहाँले भन्नुभएको यो वाक्य सधैं ताजा भइरहन्छ । त्यसैले पनि पत्रकारिता यात्रामा अध्यक्ष शेरचन सधैं स्मरणयोग्य र उत्प्रेरक पात्रका रूपमा रहिरहनुहुनेछ ।

२ भदौ २०७८ रात हाम्रा लागि कालरात्रि नै बन्यो । उहाँको असामयिक निधनले हामीलाई शोकाकुल तुल्यायो । ‘प्रिय अभिभावक’ गुमाउनुपर्दा कसलाई पो पीडाबोध नहोला र ? तर, जतिसुकै पीडाबोध भए पनि धैर्यधारण गर्नै पर्दोरहेछ । राम्रा र असल मानिसलाई कालले पनि छिट्टै टिपेर लैजानेरहेछ ।

उहाँ नेपाली सञ्चार उद्यमको जाज्जल्यमान ताराका रूपमा रहनुभएको छ । सञ्चारजगतको श्रीवृद्धिमा अध्यक्षज्युले खेल्नुभएको भूमिका उच्च छ । उहाँ जहिले पनि ‘राजधानी दैनिक र सिंगो सञ्चार उद्यम कसरी व्यवस्थित र विकसित बनाउन सकिन्छ ?’ भनेर लागिरहने स्वाभिमानी व्यक्तित्व हुनुहुन्थ्यो । त्यसलै अब हामी सबै मिलेर उहाँको सपना पूरा गर्न सक्यौं भने मात्रै अध्यक्षज्यूप्रतिको सच्चा स्मरण र सम्मान हुनेछ ।
00000
अध्यक्षज्यूसँग मेरो पहिलो भेट २०६१ सालमा नेपालगन्जमा भएको थियो । त्यतिखेर म राजधानी दैनिकको दाङ संवाददाताका रूपमा कार्यरत थिएँ । राजधानी त्यतिखेर सफलताको शिखरमा उक्लँदै थियो । त्यस्तैमा राजधानी दैनिकले क्षेत्रीयस्तरका रिपोर्टरलाई अझ गतिशील बनाउने नीतिअनुसार मध्यपश्चिमस्तरीय भेला नेपालगन्जमा गरेको थियो । भेलामा हामी त्यस क्षेत्रका सबै रिपोर्टर एकत्रित भएका थियौं । त्यतिखेर अध्यक्ष शेरचनकै उपस्थितिमा हामी रिपोर्टरले मध्यपश्चिम क्षेत्रमा राजधानीलाई ‘१ नम्बर’ बनाउने प्रण गरेका थियांै । त्यसका लागि हामीले अत्यधिक मेहनत गर्ने बाचासमेत गरेका थियौं । उहाँ सबैलाई ऊर्जा दिन सक्ने उत्प्रेरक हुनुहुन्थ्यो ।

त्यसको केही वर्षपछि म २०६४ सालमा दाङ छोडेर काठमाडौं आउनुपर्ने भयो । मैले अध्यक्ष शेरचनलाई दाङबाटै फोन गरेर ‘अब काठमाडौं आउने र केन्द्रबाटै काम गर्ने अवसर दिनुप¥यो’ भनेर प्रस्ताव गरें । उहाँले पनि तत्काल ‘ओके’ गर्नुभयो । अध्यक्षज्यूले मलाई दाङ संवाददाताबाट एकाएक काठमाडौंमै केन्द्रीय कार्यालयमा रहेर रिपोर्टिङ गर्ने वातावरण मिलाइदिनुभयो ।

‘तिमी मेहनती छौं, मज्जाले मेहनत गर्दै अघि बढ है †’ भन्दै उहाँले मलाई सुनौलो अवसर मिलाइदिनुभयो र केद्रका सिनियर रिपोर्टरले पाउनेबराबरकै तलबसमेत व्यवस्था गरिदिनुभयो । मलाई काठमाडौंको संघर्षशील खाल्टोमा पत्रकारिता पेसा अगाडि बढाउने अवसर उहाँले नै प्रदान गर्नुभएको हो । त्यसैले पनि म उहाँलाई मेरो पत्रकारिताको ‘वास्तविक गुरु र मार्गदर्शक’ ठान्छु । त्यसैले लाग्छ, म जुन दिनसम्म पत्रकारिता पेसामा रहिरहन्छु, त्यस दिनसम्म अध्यक्षज्यू सदा मेरो मानसपटलमा रहिरहनुहुनेछ ।

शेरचन आफैं पनि समग्र सञ्चार उद्यम र पत्रकारिता सिकाइको उत्कृष्ट पाठशाला हुनुहुन्थ्यो । शेरचनको त्यो व्यावहारिक अनुभवसहितको पाठशालाबाट मैले विश्वविद्यालयका कक्षाकोठामा सिकेजतिकै ज्ञान लिन सकेको छु

म काठमाडौं आएपछि राजधानी दैनिक, उज्यालो नेटवर्क, नेपाल वान हुँदै नयाँ पत्रिका र अन्नपूर्ण पोस्ट दैनिकमा समेत काम गर्ने अवसर पाएँ । २०६४ सालदेखि केही वर्ष राजधानीमा काम गरेपछि विशेष कारणबस मैलै अरू पत्रिकामा काम गर्न पुगें । तर, पनि अध्यक्ष शेरचनसँग बेलाबेला फोनमा कुराकानी भइरहन्थ्यो । उहाँले ‘तिमी जहाँ काम गरे पनि राम्ररी गर्नुपर्छ है † मैले तिमीले लेखेको समाचार हेरिरहेको छु राम्रो छ’ भन्दै फुर्काउनुहुन्थ्यो भने अभिभावकका रूपमा सजग, सचेत बनाउँदै मार्गनिर्देशन गरिरहनुहुन्थ्यो । म पनि उहाँलाई अभिभावक ठानेर सुझाव सल्लाह ग्रहण गरिरहन्थें ।

0000
अन्नपूर्ण पोस्टमा काम गरिरहेको अवस्थामा अध्यक्षज्यूले एक दिन अकस्मात् फोन गर्नुभयो र ‘राजधानीमा नै आएर समाचार सम्पादकका रूपमा काम गर्न’ आग्रह गर्नुभयो । मेरा पत्रकारिताको मार्गदर्शकका रूपमा रहनुभएका ‘गुरु’को आग्रह अस्वीकार गर्न सकिनँ । फेरि राजधानी दैनिकमै आएँ । काम गर्दा मैले सञ्चारजगतका मूल्य र मान्यताप्रति उहाँ सधैं प्रतिबद्ध व्यक्तित्वका रूपमा पाएँ । उहाँले हामीलाई पत्रकारिताका कैयौं ठेलीमा पढिएका सामाजिक उत्तरदायित्वका नियम व्यावहारिक प्रयोग गर्न सिकाउनुहुन्थ्यो । त्यसैले पनि मैले उहाँलाई पत्रकारिताको व्यावहारिक ‘गुरु’ नै मान्थें र मानिरहनेछु ।

विश्वविद्यालयका कक्षाकोठामा हुने पत्रकारिताको सैद्धान्तिक पढाइभन्दा अध्यक्ष शेरचनले राजधानी दैनिकको स्थापनाकालदेखि हालसम्मको २१ वर्षको अवधिमा गरेको अनवरत संघर्ष र त्यसबाट हासिल गरेको व्यावहारिक शिक्षा ‘कैयौं गुणा माथि छ’ भन्ने मेरो ठहर हो । त्यसैले शेरचन आफैं पनि समग्र सञ्चार उद्यम र पत्रकारिता सिकाइको उत्कृष्ट पाठशाला हुनुहुन्थ्यो । शेरचनको त्यो व्यावहारिक अनुभवसहितको पाठशालाबाट मैले विश्वविद्यालयका कक्षाकोठामा सिकेजतिकै ज्ञान लिन सकेको छु ।

पछिल्लो झन्डै तीन वर्ष उहाँकै सामिप्यतामा रहेर राजधानी दैनिकको समाचार सम्पादक, कार्यकारी सम्पादक र सम्पादकको जिम्मेवारीमा काम गर्ने अवसर पाएको हुँ । उहाँसँग कार्य गर्दा कहिल्यै अप्ठ्यारो महसुस भएन । उहाँले कहिल्यै कुनै हस्तक्षेप गर्नुभएन । सम्पादकीय स्वतन्त्रताप्रति उहाँ सधैं सजग र संवेदनशील हुनुहुन्थ्यो ।

मेरा कतिपय कमीकमजोरी भए पनि उहाँले सधैं हौस्याउनुहुन्थ्यो । असल अभिभावकका रूपमा कमीकमजोरी औंल्याइदिनुहुन्थ्यो भने राम्रो गर्दा थप प्रेरणा दिनुहुन्थ्यो । कहिलेकाहीँ पत्रकारिता र समाचार’bout पनि उहाँसँग लामो बहस हुन्थ्यो । कसैलाई प्रहार गर्ने र विशेषगरी भ्रष्टाचारविरुद्धको समाचार लेख्दा त्यसको सत्यता’bout उहाँले अत्यधिक चासो लिने गर्नुहुन्थ्यो । ‘केही कुनै विषयमा स्रोतले पनि डुबाइदिन सक्छ है !’ भन्दै उहाँले समाचारको सत्यता विभिन्न पक्षबाट परीक्षण गराउनुपर्नेमा निकै जोड दिने गर्नुहुन्थ्यो । उहाँ बाहिर जति कडा कुरा गर्नुहुन्थ्यो, भित्री मन निकै कोमल अनुभूति हुन्थ्यो । उहाँको मनमा कुनै पाप थिएन, ‘स्टेट फर्वाड’ हुनुहुन्थ्यो । कुनै लप्पनछप्पन थिएन । सधैं ‘केही नयाँ गरौं’ भन्ने भावना थियो ।

‘मलाई यस्तो लाग्छ’ भनेर बहसपैरवी गर्न तयार हुने उहाँ अरूको भावना र तर्कको पनि उतिकै कदर गर्नुहुन्थ्यो । उहाँ कहिल्यै कसैको ‘कुभलो’ नचिताउने र मनमा कुनै पाप नभएको स्पष्ट स्वच्छ व्यक्तिका रूपमा रहनुभएको अनुभूति हुन्थ्यो ।

पछिल्लो समय उहाँ विज्ञापन बोर्ड सदस्यका रूपमा ‘विज्ञापन बोर्डलाई कसरी शक्तिशाली बनाउन सकिन्छ ?’ भन्नेमा बहसपैरवीमा व्यस्त हुनुहुन्थ्यो । सञ्चार क्षेत्र र सञ्चार उद्यममा देखापर्ने समस्या समाधान गर्न तथा त्यसका लागि सरकारी निकायलाई झकझकाउने कार्यमा उहाँ निरन्तर लागिरहनुहुन्थ्यो । सञ्चार उद्यम विकासमा निःस्वार्थ रूपमा लागिरहने उहाँको निधनले मुलुकको समग्र सञ्चारजगत र सञ्चार उद्यमले अपूरणीय क्षति भोगेको छ ।
0000
अध्यक्षज्यू हामीलाई झुक्याएर जानुभयो । अझै पनि तपाईं राजधानी दैनिकको केन्द्रीय कार्यालय चाबहिलवरिपरि नै हुनुहुन्छजस्तो लागिरहन्छ । स्मृतिमा घुमिरहनुभएको छ । हामी सधैं सम्झिरहने छौं । राजधानीलाई तपाईंको अभाव सधैं खड्किरहनेछ । तपाईंको भावनात्मक सम्बन्ध चिनोका रूपमा राजधानीलाई जोगाउनु हामी सबैको कर्तव्य हुनेछ । हामी शोक शक्तिमा बदलेर तपाईंको चाहना पूरा गर्न लागिरहने प्रण गर्दछौं । हामीमाझ तपाईं अजम्बरी हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै