जनताको सधैं साथ, शासकको सधैं घात

सागर पण्डित

नेपाली जनताले २००७ साल, २०४६ साल, २०६२/६३ को जनआन्दोलनदेखि यहाँका राजनीतिक दल र तिनका नेतालाई पूर्णरूपमा साथ दिँदै सहयोग गर्दै आइरहेका छन् । यदि, नेपाली जनताले दल र तिनका नेतालाई पूर्ण सहयोग नगरेको भए २००७ सालमा प्रजातन्त्र प्राप्त हुँदैनथ्यो भने २०४६ सालमा पनि पञ्चायत ढलेर लोकतन्त्र आउँदैनथ्यो ।

दलकै अगुवाइमा भएको सो जनआन्दोलनमा नेपाली जनताले अग्रमोर्चामा रहेर दलका नेतालाई सहयोग गरेका हुन् । यदि सो आन्दोलनमा जनताले सहयोग नगरेको भए कैयौं नेता जेलको कालकोठरीमा नै सड्न विवश हुन्थे भने दलमाथि लागेको प्रतिबन्ध पनि हट्दैनथ्यो । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हातमा लिँदा पनि त्यसविरुद्ध लाखांै जनता सडकमा उत्रिएर नेतालाई साथ दिएका हुन् ।
जनताको साथ पाएरै राजनीतिक दल र तिनका नेताले पुरानो राजनीतिक प्रणाली नै फालेर संसारमा नै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सकेका हुन् । हिजो राणा शासन फाल्नदेखि पञ्चायत व्यवस्था फाल्न तथा राजतन्त्रलाई नै फाल्न नेपाली जनताले यहाँका राजनीतिक दल र तिनका नेतालाई ऐतिहासिक सहयोग र साथ दिएका हुन् । जनताकै साथ पाएर दल र तिनका हजारौं नेता प्रधानमन्त्री तथा मन्त्री बन्न सफल भए । तर, दुःखका साथ भन्नुपर्छ जुन जनताले आफ्नो शरीरको समेत परवाह नराखी नेतालाई साथ दिए आज तिनै जनता नेता र राजनीतिक दलबाट सबैभन्दा बढी पीडित र प्रताडित हुन पुगेका छन् । जनता लगातार शासकरूपी नेताबाट अत्याधिक पीडित हुँदै आइरहेका छन् । यी नेताले जनताको आशा तथा भरोसालाई खरानी बनाइसकेका छन् । यसको परिणाम कुनै न कुनै दिन उनीहरूले भोग्नु नै पर्नेछ । अहिलेका शासक यति धेरै स्वार्थी, भ्रष्ट र अवसरवादी भएका छन् कि उनीहरूलाई देश र आमजनताको हित र भलाइसँग कुनै सरोकार नै छैन । कसरी हुन्छ, अकूत सम्पत्ति कमाउने र रातारात धनी भएर मोजमोस्ती गर्नेमा नै उनीहरूको दिन बित्ने गरेको छ ।

सिंहदरबार र बालुवाटारमा बिचौलिया र माफियाको बिगबिगी छ । पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ भन्ने गीत अहिलेका शासकले ठ्याक्कै चरितार्थ गर्न थालेका छन्


जनता आजीत छन्, प्रतिगमनलाई विस्थापित गरेर आएको बताउने वर्तमान सरकार जनताले भोग्नुपरेका तमाम खाले समस्या समाधान गर्नेतर्फ अग्रसर हुन सकेको देखिँदैन । जनताका समस्याप्रति संवेदनशील बन्न नसकेको हुँदा सरकारको यात्रा कतै महाप्रतिगमनतर्फ उन्मुख भइरहेको त छैन भन्ने प्रश्न आमजनताले गर्न थालेका छन् ।

यद्यपि, यो गठबन्धन आगामी चुनावमा जसरी पनि जित्ने ध्याउन्नमा छ । जसलाई जनताका तमाम खाले समस्यासँग कुनै सरोकार छैन । जसको एकसूत्रीय ध्यान सत्तामा गएर लुटतन्त्र मच्चाउनेमा नै केन्द्रित छ । उही गठबन्धन फेरि सत्तामा आयो भने देशको स्थिति के होला ? निकै सोचनीय विषय हो यो । यो गठबन्धन सत्तामा आएपछि महँगी दोब्बरले वृद्धि भएको छ , आर्थिक परिसूचक सबै नकारात्मक अवस्थामा छन् । विदेशी मुद्राको सञ्चिती सन्तोषजनक अवस्थामा छैन । वैदेशिक सहायता घट्दो छ । जताततै विकृति नै विकृति बढ्दो छ । जनतालाई सबैभन्दा बढी आवश्यक पर्ने स्वास्थ्य र शिक्षा विचौलियाको पूर्ण नियन्त्रणमा छ । सिंहदरबार र बालुवाटारमा बिचौलिया र माफियाको बिगबिगी छ । पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ भन्ने गीत अहिलेका शासकले ठ्याक्कै चरितार्थ गर्न थालेका छन् । अनि, फेरि उनै शासक पुनः सत्तामा आउने प्रपञ्च रच्न थालिएको छ । यदि, अहिलेकै शासक फेरि पनि चुनाव जितेर शासन सत्तामा आए भने निश्चित छ मुलुक टाट पल्टनेछ र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पूर्णरूपमा ‘फेलियर हुनेछ । त्यसैले जनता जनार्दन अब चनाखो र संवेदनशील बन्नैपर्छ । गठबन्धनधारीलाई भोट होइन अब चोट दिनुपर्ने अवस्था छ । गठबन्धनका नाममा ठगी गरिरहेका जोसुकैलाई पनि अब जनताको घरदैलोमा आउँदा जनताले एक एक प्रश्न गर्नुपर्ने भएको छ । तिमीले हामीलाई महँगीको मार किन दियौ ? शिक्षा र स्वास्थ्यको सुधारमा के ग-र्यौ ? बजारलाई किन माफिया र विचौलियाको जिम्मामा सुम्पियौ ? आदि । किसान दाजुभाइलाई मलको किन व्यवस्था गर्न सकेनौ भनेर एक एक प्रश्न गर्दै सकेसम्म यस्ता ठगधारीलाई गाउँ प्रवेशमा नै निषेध गर्न सक्नुपर्छ । यस्तै, मजदुर, विद्यार्थी, युवा, बालबालिका सबैले सत्ताधारी ठगबन्धनकारीलाई प्रश्नको घेरामा बाध्न सक्नुपर्नेछ । अहिले लुटतन्त्र मच्चाउन व्यस्त भएकासँग त्यतिखेर जनतालाई दिने जवाफ केही हुनेछैन ।

जनता अब पार्टी विशेषको कार्यकर्ता बन्ने होइन स्वतन्त्र दृष्टिकोण राखेर त्यसैका आधारमा आफ्ना उम्मेदवार छान्न सक्नुपर्छ । नत्र, आगामी ५ वर्ष निकै पछुताउनुपर्ने अवस्था आउन सक्छ । अहिलेका अधिकांश दल र नेता करिब करिब असफल भइसकेका छन् । त्यसमा पनि अहिलेको पाँच दलीय गठबन्धन जनताको दृष्टिमा पूर्णरूपमा जनतापीडकका रूपमा स्थापित भइसकेको छ । जनतापीडकका रूपमा स्थापित भएकालाई जनताले भोट दिएर कुनै हालतमा पनि जिताउनुहँुदैन ।

अहिले सरकारलाई जनताका समस्या समाधान गर्ने खालका योजना र कार्यक्रम ल्याउने फुर्सद नै छैन । गठबन्धन दलबीच जनतालाई महँगीको मारबाट कसरी बचाउने, सर्वसाधारण गरिब जनतालाई सुलभ स्वास्थ्य र शिक्षा कसरी दिने, गाउँघरमा नै औषधी र चिकित्सक पठाएर गाउँले जनताको घरदैलोमा नै सुलभ स्वास्थ्य कसरी दिने तथा सरकारी विद्यालयको स्तर सुधारेर जनताका छोराछोरीलाई कम खर्चमा सरकारी विद्यालयमा नै पढ्न पाउने वातावरण सिर्जना गर्ने भन्ने विषय अहिलेका शासकको प्राथमिकतामा पर्न सकेको छैन । यस्ता विषय उनीहरूको मस्तिष्कमा कहिल्यै पनि आउने गर्दैन ।

अहिले सिंहरदरबारका आलिशान महलमा बस्नेहरूले जनताका गाँस वास, कपास, स्वास्थ्य शिक्षा, रोजगार तथा सामाजिक सुरक्षाबार केही पनि सोच्दैनन् । कसरी हुन्छ सम्पत्ति आर्जन गर्ने र अकूत सम्पत्ति कमाएर रातारात मालामाल हुने ध्याउन्नमा छन् त्यहाँ बस्ने कथित शासक


अहिले सिंहरदरबारका आलिशान महलमा बस्नेले जनताका गाँस वास, कपास, स्वास्थ्य शिक्षा, रोजगार तथा सामाजिक सुरक्षा’bout केही पनि सोच्दैनन् । कसरी हुन्छ सम्पत्ति आर्जन गर्ने र अकूत सम्पति कमाएर रातारात मालामाल हुने ध्याउन्नमा छन् त्यहाँ बस्ने कथित शासक । महँगीले जनता उठ्नै नसक्ने गरी समस्याग्रस्त छन् । यस्तो अवस्थामा जनतालाई अनुदान दिने कार्यक्रम ल्याउन सक्नुपथ्र्यो । अनुत्पादक खर्च कटौती गर्ने तथा आर्थिक मितव्ययीता अपनाउने खालका प्रगतिशील कार्यक्रम ल्याउनुपर्नेमा त्यस विषयमा पनि प्रधानमन्त्री, मन्त्री तथा सत्तारूढ गठबन्धनका नेताबीच खासै छलफल नै हुँदैन । कसरी हुन्छ शासन सत्तामा रहिरहने र लुटतन्त्र मच्चाउने विषयमा मात्रै उनीहरूबीच छलफल हुनु घोर विडम्बना हो ।

राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाइएको छ । शासकका रूपमा रहेका राजनीतिक नेतृत्वले सर्वसाधारण जनतासँग सामीप्यता राख्न छोडेर बिचौलिया, माफियासँग हिमचिम बढाइरहेका छन् । जब शासक र नेता जनतालाई बिर्सिएर माफिया तथा तस्करसँग रमाउने गर्छन् त्यस्तो अवस्थामा मुलुकको विकास, प्रगति र समृद्धिका ढोका बन्द हुन पुग्छन् । अहिले हाम्रो देशले पनि ठयाक्कै यस्तै समस्या भोग्न परिरहेको छ । विकास र समृद्धिका सबै ढोकाहरू बन्द छन् भने तस्कर र माफियाका लागि शासकीय ढोका खुला छन् ।

अहिले पनि विकट गाउँबस्तीमा सिटामोल र जीवनजल समेत नपाएर मानिस अकालमा मर्नुपर्ने दुःखद अवस्था छ । त्यस्ता विकट गाउँबस्तीका पीडालाई सिंहदरबारको महलले देख्दैन । विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब विपन्न पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्न समेत विवश छन् ।

संविधानको प्रस्तावनामा नै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । तर, वर्तमान शासक तथा राजनीतिक नेतृत्वले संविधानको सो प्रावधान समेत धज्जी उडाउँदै आइरहेका छन् । जसका कारण संविधान धुजा धुजा हुन पुगेको छ । शासकले आफ्नो स्वार्थका लागि जनताको भरोसा पुरै टुटाएका छन् । विश्वासघाती भएका छन् । हिजोका दिनमा नेताका लागि मर्न तयार भएका जनतालाई अहिले शासनमा रहेका नेताले घातैघात दिएका छन् । त्यसरी घात गर्नेलाई जनताले चुनावमा बदला लिएर पूर्णरूपमा हराइदिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित