इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले आफूहरूको उदेश्य चुनाव जित्ने र गठबन्धनका लागि नेकपा एमाले सकारात्मक भएको बताएका छन् ।
मंगलबार इटहरीमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमअघि पत्रकार सम्मेलन गर्दै थापाले आफूहरूले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभामा जसरी पनि राप्रपा नेपालले चुनाव जित्ने उदेश्य राखेको बताएका हुन् ।
‘एक्लै चुनाव जित्न कठीन हुन्छ, त्यसैले कुनै न कुनै पार्टीसँग तालमेल गर्नैपर्छ, तालमेल गर्दा जित्न सकिन्छ भने त्यसैसँग तालमेल गर्ने हो,’ उनले भने, ‘हाम्रो उदेश्य चुनाव जित्ने हो, शैद्वान्तिक, वैचारिक एलाइन्स भन्दापनि चुनाव जित्ने चैँ तालमेल हो ।’
निर्वाचनमा तालमेल कुन दलसँग गर्ने निर्णय नभइसकेपनि विभिन्न राजनीतिक दलसँग छलफल चलिरहेको उनले बताए । उनले भने, ‘हाम्रो धेरै ठूलो आकांक्षा पनि छैन, केही सीमित ठाउँमा चुनावी तालमेल गर्छौँ, तालमेलका लागि नेकपा एमालेसँग छलफल भइरहेको छ, एमाले सकारात्मक छ ।’ हिन्दु राष्ट्र पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण र बेरोजगारी निरुत्साहन आफूहरूको पार्टीको मुख्य योजना रहेको थापाले बताए ।
‘केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार सम्पन्न गरी दुई तहको सरकार मात्रै कायम गर्नुपर्दछ,’ उनले प्रदेश संरचना खारेज गर्नुपर्ने बताउँदै भने, ‘प्रदेश तह खारेज गर्नुपर्दछ भन्ने अवधारणा जनसमुदायमा पु¥याउनुपर्छ, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।’ प्रदेश खारेजीको माग राख्दैगर्दा प्रदेशसभामा राप्रपा नेपालको उपस्थिति हुन्छ कि हुँदैन भन्ने प्रश्नमा थापाले भने, ‘संविधान कायम रहन्जुलेसम्म प्रदेशसभा नमान्ने भन्ने हुँदैन, प्रदेशसभाको खारेजीको विषय उठाउँदै निर्वाचनमा सहभागी हुन्छौँ ।’
चुनावमा राप्रपा नेपालले ५ देखि १० सिट क्षेत्र पाउनेगरी तालमेल गर्ने उनको दाबी छ । उनले भने, ‘तालमेल नभएका क्षेत्रमा हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी खडा गर्नेछ ।’
एक फरक प्रसङ्गमा उनले अहिले सरकारले पारित गरेको नागरिकता विधेयक राष्ट्रघाती रहेको समेत बताए । ‘प्रत्येक नेपाली नागरिकले सहज र सरल ढङ्गबाट नागरिकता पाउनुपर्छ, नागरिकता पाउने अधिकारबाट कोही पनि नेपाली बञ्चित हुनुहुँदैन,’ उनले भने, ‘नागरिकता अत्यन्तै संवेदनशील विषय पनि हो, यो राष्ट्रको अस्तित्वसँग गाँसिएको विषय हुँदा नागरिकतालाई कागजको खोस्टो मात्रै ठान्नुहुँदैन, पछिल्लो पटक नागरकिता विधेयक राष्ट्रपतिले संसदमा पुनःविचारका लागि फिर्ता पठाएपनि संसदले उपेक्षा ग-यो ।’
उनले नागरिकता विधेयक प्रतिनिसभाबाट पारित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । ‘गठबन्धन सरकारले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रघात गरेको छ,’ थापाले भने, ‘विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता पाउने कुरा भोलिपल्टै नागरिकता पाउने कुरा राष्ट्रहितमा छैन ।’ अहिलेको गठबन्धनको सरकार सत्ता स्वार्थको लागि मात्रै भएको उनको आरोप छ ।
उनले राजसंस्था पुनःस्थापना भएपनि देशमा अहिले देखिएको संकटग्रस्त अवस्थाको समाधान राजनीतिक दलहरूले गर्नुपर्ने बताए । ‘जनता पार्टीको दासको रूपमा होइन, स्वतन्त्र र स्वाभिमानी हुनुपर्छ,’ उनले भने, ‘आम जनताले नेताहरू भ्रष्ट भयो भन्छन्, त्यही पार्टीलाई भोट हालेर जिताइराखेको अवस्था छ ।’ उनले अब सक्रिय राजतन्त्रको भविष्य समाप्त भइसकेको समेत दाबी गर्दै भने, ‘सचेत नेपालीले सक्रिय राजतन्त्रको अपेक्षा गर्न सक्दैनन्, राजतन्त्र र गणतन्त्रको विवादमा फस्नु आवश्यक छैन ।’






