निरन्तर शिक्षाका लागि पुस्तकालय

संसार परिवर्तनशील छ । मानवीय आवश्यकता र चाहना पनि परिवर्तनशील छन् । यी सम्पूर्ण परिवर्तनशील वातावरणमा समायोजन हुन सिकिने सिकाइ जीवनपर्यन्त शिक्षा हो । हरव्यक्तिले निरन्तर सिकिरहनु पर्दछ । आजको ज्ञान सीप भोलि पुरानो हुन जान्छ । यो गतिशील संसारमा विज्ञान र प्रविधिले पनि गतिशील हुन अपरिहार्य बनाएको छ । ईसाको हजार वर्ष पूर्व लेखिएको ‘शतपथ ब्राह्मण’मा लेखिएको छ ‘प्रत्येक दिन अध्ययन गर’ यसले हरेक मानव समाजमा अध्ययनको वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिएको छ । पुस्तकालय मात्रै त्यस्तो स्थान हो जहाँ हरपल अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्दछ । यो कुरालाई आजको जिम्मेवार पक्षले ध्यान दिनुपर्छ ।

सन्दर्भ: १५औं पुस्तकालय दिवस

त्यसैगरी, मनुस्मृतिमा भनिएको छ ‘ईश्वरको नजिक त्यो मानिस मात्र पुग्छ, जसले सम्पूर्ण जीवन अध्ययनमा बिताउँछ’ यसरी मानव जीवनमा आइपर्ने सामाजिक समायोजन, सांस्कृतिक रूपान्तरण, आर्थिक उत्थान गर्दै व्यावहारिक ज्ञानका लागि निरन्तर शिक्षाको खाँचो पर्दछ । निरन्तर शिक्षाका लागि पुस्तकालय उत्तम थलो हो । शिक्षाले मानवमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरी कुशललतापूर्वक जीवनयापन गर्न सहयोग गर्दछ । शिक्षा मात्र नभई आजको परिवेशमा गुणस्तरीय, जीवनोपयोगी र व्यावहारिक शिक्षाको आवश्यकता खड्किएको छ । गुणस्तरीय शिक्षाका लागि पुस्तकालय प्रमुख आधार हो । शिक्षा गुणस्तरीय र जीवन उपयोगी हुनु आवश्यक छ । गुणस्तरीय शिक्षाको प्रमुख आधार पुस्तकालय हुन् त्यसैले पुस्तकालयको विकास र विस्तारमा राज्य पक्षको ध्यान जानैपर्छ ।

पुस्तकसँगको सामिप्यता जीवनको निरन्तर सफलता हो । पुस्तकलाई माया गरौं पुस्तकालय जाने बानी बसालाैं

नेपालमा १८६९ साल भाद्र १५ गते तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले ‘पुस्तक चिताइ तहविल’मा लालमोहर लगाई जारी गरेका थिए । उक्त ऐतिहासिक कार्यको सम्मानस्वरूप नेपालमा २०६५ सालदेखि भाद्र १५ गतेका दिन हरेक वर्ष पुस्तकालय दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि ‘पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पुस्तकालयसँग सम्बन्धित संघसंस्था, पुस्तकालयप्रेमीहरू लगायतका सरोकारवाला १५आंै पुस्तकालय दिवसको भव्य र सभ्य सफलताका लागि जुटिसकेको छ ।

औपचारिक शिक्षा कुनै निश्चित बिन्दुमा गएर टुंगिन्छ । मानव जीवनका हरेक मोडमा आवश्यक पर्ने ज्ञानको विस्तारका लागि सार्वजनिक पुस्तकालयले महŒवपूर्ण भूमिका खेल्दछ । आजको व्यस्त जीवनशैलीका मानिसमा पठन संस्कृति हराउँदै गएको छ । पढ्न रुचि हुने केही व्यक्तिले पुस्तकालयको अभावमा वातावरण पाउन सकेका छैनन् । मानव विकासका विभिन्न क्षेत्रमा काम गर्ने सबै तहका सरकारले सार्वजनिक पुस्तकालयको विकासमा ध्यान दिनुपर्छ । वर्तमान संघीय शासन व्यवस्था पुस्तकालय विकासका लागि एक अवसर हो ।

राज्यले सभ्य सुशील नागरिक र सुसंस्कृत एवं ज्ञानमा आधारित समाज निर्माणका लागि सार्वजनिक पुस्तकालयको विकास गरी गुणस्तरीय शिक्षा र सूचनाको हक सुनिश्चित गर्नुपर्छ

नेपालको संविधान २०७२ जारी भई कार्यान्वयनमा आएसँगै मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राज्य संरचना रहेको छ । राज्य शक्तिको प्रयोग पनि तीनै तहले संविधान तथा कानुनबमोजिम गरिरहेका छन् । राज्यशक्तिको बाँडफाँडअनुरूप संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीले स्पष्ट पारेको छ । जसलाई प्रत्येक तहले आ–आफ्नो कार्य जिम्मेवारी र उत्तरदायित्वका रूपमा पूरा गर्नुपर्ने हुन्छ । सबै तहलाई पुस्तकालयको विकास र विस्तारको अधिकार दिएको छ । राज्यले सभ्य सुशील नागरिक र सुसंस्कृत एवं ज्ञानमा आधारित समाज निर्माणका लागि सार्वजनिक पुस्तकालयको विकास गरी गुणस्तरीय शिक्षा र सूचनाको हक सुनिश्चित गर्नुपर्छ । यसका लागि तीनवटै सरकारले आ–आफ्नो क्षेत्रमा सार्वजनिक पुस्तकालयको स्थापना, विस्तार र विकासमा विशेष जोड दिनुपर्छ । ७ सय ५३ वटा स्थानीय सरकारमध्ये निकै कम स्थानीय तह मात्रै पुस्तकालयप्रति संवेदनशील देखिन्छन् । यस्तै, खाले संवेदनशीलता सबै स्थानीय तहमा देखिन सक्नुपर्छ ।

सार्वजनिक पुस्तकालय जनताका खुला विश्वविद्यालय हुन् । जहाँ जनतालाई तिनीहरूको आवश्यकताअनुरुप जात, वर्ग धर्म, लिङ तथा आर्थिक अवस्थाका आधारमा कुनै पनि भेदभाव नगरी सिकाइको समान अवसर प्रदान गर्दै समानताको प्रवद्र्धन तथा सूचनाको हकको उचित प्रयोग गर्ने अवसर प्रदान गरिन्छ । सार्वजनिक पुस्तकालय समाजमा समाजकै लागि समुदायमा स्थापित भएका सरस्वतीका पवित्र प्रतिमूर्ति हुन् । सार्वजनिक पुस्तकालयले निरन्तर शिक्षा, जीवनपर्यन्त सिकाइ र अनौपचारिक शिक्षा साथै नवीनतम प्रविधिको प्रयोगमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् ।

सार्वजनिक पुस्तकालयले सबै प्रकारका सामुदायिक सूचना प्राप्तिमा नागरिकको पहुँच सुनिश्चित गर्नु, मौलिक परम्परालाई संरक्षण, सवद्र्धन तथा समर्थन गर्नु, बाल्यकालदेखि नै बालबालिकामा पढ्ने बानीको विकास गर्न÷गराउन महŒवपूर्ण भुमिका खेल्दछ । त्यसैगरी, सबैलाई जीवनभर आत्मशिक्षाको प्रवद्र्धन गरी व्यक्तिगत रचनात्मक विकासका लागि अवसर प्रदान गर्दछ । साथै, बालबालिका र युवाको कल्पनाशक्ति र रचनात्मकतालाई उत्तेजित उत्प्रेरित गर्दै अन्ततः निरन्तर शिक्षा र पठन संस्कृतिको विकास गरी सभ्य समाज निर्माण गर्ने पवित्र उद्देश्य लिएको हुन्छ । मानव तथा समाज सेवामा सार्वजनिक पुस्तकालयको महŒवमा जोड दिँदै फ्रेन्च नागरिक गेब्रियल नाउदे भन्छन्, ‘पुस्तकालय स्थापना गरेर सर्वसाधारणलाई पढ्न दिनुभन्दा अर्काे राम्रो काम केही हुन सक्दैन’ यस्तो सामाजिक सेवा गर्ने संस्थाको विकासमा राज्यले किन ध्यान नदिने ? हरेक व्यक्तिले आफ्ना रुचिका पुस्तक पढौं, अरूलाई पढ्न प्रेरित गरौं र निरन्तर शिक्षा प्राप्त गराैं । जीवन सहज र सरल बनाउन सधैं सकारात्मक सोचका साथ अघि बढाैं । पुस्तकसँगको सामिप्यता जीवनको निरन्तर सफलता हो । पुस्तकलाई माया गराैं पुस्तकालय जाने बानी बसालांै र पुस्तकालयको विकास र विस्तारमा सबै सरोकारवाला सहकार्य र समन्वय गर्दै अभियानका रूपमा अघि बढाैं । १५ औं पुस्तकालय दिवसको सबैमा शुभकामना जय पुस्तकालय दिवस ।
( लेखक नेपाल गुणस्तर तथा नापतौल विभागकी पुस्तकालय अधिकृत हुन)्

तपाइको प्रतिक्रिया
(Visited 1,265 times, 1 visits today)

epaper

ताजा समाचार

२१ जेष्ठ २०८३