आज ऋषिपञ्चमी मनाइँदै

ललितपुर । हिन्दू महिला आज बिहीबार सप्तऋर्षिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउँदै छन् ।

रजस्वला भएका बखत जानेर अथवा नजानेर भएका गल्ती प्रायश्चित गर्ने उद्देश्यले व्रत बस्ने परम्परा छ । पञ्चमीका दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ तथा ऋषि पत्नी अरुन्धतीको पूजा गर्नाले दोष नाश भई सुख शान्ति प्राप्त हुने विश्वास छ ।

३६५ दतिवनका डाँठ टोकेर खोलामा बगाइन्छ

यसदिन बसिने व्रतले आनन्द, शारीरिक¬ सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवन पनि सुखी हुने धार्मिक विश्वास छ । खासगरी, महिनावारी सुरु भएदेखि अन्त्य नभएसम्मका महिलाले व्रत बस्नु उपयुक्त हुने धर्मशास्त्रमा उल्लेख छ ।

हरितालिका तिजको पर्सिपल्ट अर्थात् भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीमा बिहानै नदी, तलाउ, कुण्ड, कुवा, पानीको मुहानमा गएर नुहाइधुवाइ गर्ने गर्छन् ।

‘नुहाउने क्रममा ३ सय ६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउने चलन छ,’ धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम भन्छन्, ‘नुहाउँदा माटो र गोबरले शरीरका सबै अंग शुद्ध गरिन्छ भने चाल्नीमा गनिएका तिलचामल र जौं राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउने गरिन्छ ।’

पूजाका क्रममा सातै ऋषिको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपुर लगाउनुपर्छ । पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादिद्वारा पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णयक समिति पूर्वअध्यक्षसमेत रहेका गौतम बताउँछन् ।

उनका अनुसार अन्त्यमा मन्त्रसहित अर्घ दिनुपर्छ । पूर्वजन्ममा वृत्रासुर बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको पाप लागेको थियो । देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पाप मुक्त गर्न चार भाग लगाई एक भाग नारीको मासिक रक्तमा प्रवेश गराएकाले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन् । त्यससमय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे ।

पहिलो अग्निमा (धुँवामिश्रत प्रथम ज्वालामा), दोस्रो नदीमा (वर्षाकालको गाँज र मैलोयुक्त पानी), तेस्रो पर्वतमा (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छ) र चौथो स्त्रीमा (रजस्वला अर्थात् मासिक धर्ममा) गरी चार भागमा बाँडेका थिए ।

मासिक श्राव ब्रह्महत्यासरह भएकाले यसबाट मुक्ति पाउन ऋषि पञ्चमीको व्रत बस्नुपर्ने ब्रह्माण्ड पुराणमा उल्लेख छ । पञ्चमीका दिन महिला रजस्वला भएको चार दिनका सरह हुने कथन छ । यसै रजस्वलाबाट नारीमा सन्तानोत्पादन गर्न सक्ने शक्ति उत्पन्न हुन्छ । सम्पूर्ण मानवीय चक्र सुरुवात नै नारीको मासिक रजस्वलाबाट सुरु भएको मानिन्छ ।

ऋषि पञ्चमीका क्रममा ‘रजस्वला’लाई पाप भनिए पनि अहिले समाजमा त्यसलाई स्वास्थ्यका दृष्टिकोणबाट हेर्नुपर्ने संस्कृतिविद् डा. विणा पौडेल बताउँछिन् । ‘३ हजार वर्षभन्दा पुरानो समाजमा भएको संस्कृतिको व्याख्या अहिले गर्न मिल्दैन,’ उनले भनिन्, ‘समाज परिवर्तनसँग यस्ता अवैज्ञानिक कुरामा ध्यान दिनुपर्छ, यही कुरालाई लिएर सकारात्मक सन्देश बोकेको चाडमाथि प्रश्न उठाउनु गलत हो ।’

यस पर्वमा व्रतालु महिलाले चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गरिन्छ । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउने गर्छन् ।

ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुने धार्मिक मान्यता छ । पञ्चमीका दिन पूजा सकिएपछि कर्कलाको तरकारी खाने चलन छ । कन्द¬मूल वा फलको सेवन गर्नु आवश्यक रहेको यसदिन हलोबाट उत्पन्न अन्न खानुहुँदैन भन्ने भनाइ छ ।

ऋषिपञ्चमीमा काठमाडौं टेकुस्थित ऋषेश्वर मन्दिर, ललितपुर नागदहमा रहेको सप्तऋषि मन्दिरमा विशेष मेला लाग्छ ।

तपाइको प्रतिक्रिया
(Visited 705 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान