पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले गण्डकीका १० जिल्लाबाट आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको लागि आकांक्षी उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस गरेको छ । गण्डकीमा ११ जिल्लामध्ये मुस्ताङको नामावली प्रदेशमा आइसकेको छैन ।
कांग्रेस गण्डकी प्रदेश प्रचार विभाग प्रमुख रमेश पौडेलका अनुसार जिल्लाबाट प्राप्त आकांक्षी उम्मेदवारहरु जस्ताको तस्तै मंगलबार केन्द्रमा सिफारिस गरिएको छ । यसको लागि प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा पोखरामा दुई दिनसम्म प्रदेश कार्यसमितिको बैठक बसेको थियो । प्राप्त नामवालीमा पेटबोली अर्थात् उम्मेदवारको छोटो परिचय लेखेर आवश्यक रायसहित सिफारिस गरिएको पौडेलले बताए । गण्डकीका ११ जिल्लामध्ये मुस्ताङको नामावली प्रदेशमा आइसकेको छैन । त्यहाँको आइसकेपछि पुनः बैठक बसेर केन्द्रमा सिफारिस गरिने छ ।
पार्टीमा योगदान, आर्थिक र नैतिक पतन नदेखिएको स्वच्छ छविको व्यक्तिलाई टिकट दिन राय व्यक्त गरिएको छ । साथै गत वैशाखको स्थानीय तहको निर्वाचनमा टिकट पाइसकेकालाई पुनः टिकट नदिन र यदि दिए स्पष्ट कारण खुलाउनुपर्ने भनी सुझाव प्रदेशले दिएको छ ।
गण्डकी प्रदेशमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३६ प्रदेशसभा निर्वाचन क्षेत्र कायम छ । गत २०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एकमात्र सिट जितेको थियो । प्रदेशमा भने ६ सिट हात पारेको थियो ।
यसपालि सत्ता गठबन्धन रहेका दलहरुमा शीर्षनेताबीच सहमति कायम हुन नसक्दा अझसम्म सिट बाँडफाँड टुंगिएको छैन । स्रोतका अनुसार पठाइएको नामावलीमा हिमालपारीको जिल्ला मनाङ र गोरखा बाहेक सबै जिल्लामा दुई जना भन्दा बढी आकांक्षी उम्मेदवार छन् । गोरखा २ मा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, मनाङबाट टेकबहादुर गुरुङको एकल नाम सिफारिस छ । कांग्रेसले प्रतिनिधिसभामा १२ र प्रदेशमा २० सिट दाबी गरेको कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए । कास्कीमा भने प्रतिनिधिसभातर्फ क्षेत्र १ र ३ मा दाबी राखेको कांग्रेसले क्षेत्र २ गठबन्धनका अन्य दललाई छोड्न सक्ने स्रोत जनाउँछ ।