शिक्षा भत्काऊ, अरू आफैं भत्कन्छन्

भत्काऊ सरकार, शिक्षा क्षेत्रलाई अझै भत्काऊ । यसो भयो भने देशका अन्य क्षेत्र भत्काउन डोजर चलाउनु पर्दैन, बम खसाउनु पर्दैन र आगो लगाउनु पर्दैन । केवल देशको शिक्षा भत्काऊ । अरू बिस्तारै ढल्दै जान्छन् । बस्, केही समय पर्खनुपर्छ । कमजोर डाक्टरहरू उत्पादन भएपछि बिरामीहरू ढलेको ढल्यै हुन्छन् । इन्जिनियरहरू कमजोर भए भने बाटो, भवन, पुल एवं अन्य संरचना अहिलेको भन्दा अझै ढल्दै जान्छन् । वकिल एवं न्यायाधीशहरू कमजोर भएमा सामाजिक अन्याय बढ्दै जान्छ । शिक्षाका नीति निर्माता, पाठ्यपुस्तक एवं पाठयव्रmम निर्माताहरू कमजोर भए स्वतः शिक्षाको संरचना नै ध्वस्त हुन्छ । यसैगरी, शिक्षक, प्राध्यापक, लेखक, पत्रकार, चिन्तक, विश्लेषक, अर्थशास्त्री वा अन्य क्षेत्रका व्यक्ति एवं व्यक्तित्व कमजोर हुन्छन् । त्यसैले, सरकार शिक्षा भत्काऊ, अन्य क्षेत्र आफैं भत्कन्छन् ।

यो मुलुकमा शिक्षा क्षेत्र चरम राजनीतीकरण हुने गरेको छ । अहिले राजनीतिक दलहरूका भातृसंघ नेपाल विद्यार्थी संघले लामो समयसम्म त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरूको कार्यालय बन्द गरेका छन् । त्रिविका उपकुलपतिले सरकारसँग सुरक्षाको माग गरेका छन् । योभन्दा लज्जास्पद विषय के हुन सक्छ ? आप्mनै विद्यार्थीहरूबाट गुरुजनहरूले असुरक्षित हुनुपर्ने वातावरणको सिर्जना कसरी पैदा भयो ? राजनीतिक नियुक्ति पाएर आउने पदाधिकारीहरूप्रति विद्यार्थीहरू किन रुष्ट भए ? विश्वविद्यालयका उच्च पदहरूमा राइट म्यान इन राइट ल्पेस हुन नसकेको बारम्बार समाचारहरू आउने गर्छन् । त्रिभुवन विश्वविद्यालयमा कहिले विद्यार्थीहरूले तालाबन्दी त कहिले प्राध्यापकहरूले । राज्य रमिते हुने गरेको छ ।

विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा मेरिटोक्रेसीकाआधारमा पद परिपूर्ति गर्ने संस्कृति भएको भए यस्तो अराजक गतिविधि हुने थिएन

विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा मेरिटोव्रmेसीका आधारमा पदहरू परिपूर्ति गर्ने संस्कृति भएको भए यस्तो अराजक गतिविधिहरू हुने थिएन । विद्यार्थीहरूले पनि राजनीतिका नाममा आपूmलाई शिक्षादीक्षा दिने गुरुहरूलाई कार्यकक्षमा थुन्ने, कालो मोसो लगाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलगायतका अनैतिक काम गर्नु कति विवेकशील हो ? ती विद्यार्थीहरू त्रिविमा अध्ययन गर्न आएका हुन् कि अराजक काम गर्न ? विश्वविद्यालयहरू राजनीति गर्ने थलो हुन् ? उल्लेखित अराजक व्रिmयाकलापहरू राजनीतिक संरक्षण हुने गरेका छन् । अराजक काम गर्नेहरूलाई ठेगान लगाउने सरकार नभएकाले यस्तो भएको हो । दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयलाई ध्वस्त पारेर यो सरकारले देशको भविष्य कता लग्न खोज्दै छ ?

हाम्रो देशमा राजनीतिक दलहरूले विज्ञहरूलाई विश्वास गर्दैनन् । शिक्षा क्षेत्रको स्वायत्त अधिकार थिंकट्यांकहरूलाई हस्तान्तरण गर्दैनन् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने नीतिगत प्रबन्ध छ । आप्mनै दलको भातृसंघले विश्वविद्यालयलाई ध्वस्त पार्दै गर्दा कुलपतिले किन टुलुटुलु हेरिरहेका छन् ? सहकुलपति शिक्षामन्त्री हुन् । उनी के गर्दै छन् ? यी अख्तियारवालाहरूले त्रिविको समस्या समाधान गर्नु पर्दैन ? यसरी हेर्दा सरकारले जानी बुझीकन नै शिक्षालाई ध्वस्त बनाइरहेको प्रतीत हुन्छ । भत्काइरहेको अनुभव हुन्छ ।

त्रिभुवन विश्वविद्यालयको साख घटिरहेको अवस्था छ । कमसेकम त्रिविलाई विश्वका स्तरीय विश्वविद्यालयहरूजस्तै स्टेनफोर्ड, हार्बर्ड, क्यालिफोर्निया युनिभर्सिटी, युनिभर्सिटी अफ सिकागो र म्यास्याचुसेट्स प्राविधिक युनिभर्सिटी, अक्सफोर्ड, क्याम्ब्रिजजस्ता अब्बल विश्वविद्यालयहरूको दाँजोमा पु¥याउन काम गर्नुपर्नेमा विश्वविद्यालयहरूमा अराजक राजनीतिक गतिविधिहरू हुने गरेका छन् । राज्यले किन देशको भविष्य बर्बाद पारिरहेको छ ? किन जगत् हसाइरहेको छ ? अहिले पदाधिकारीहरूको बैठक त्रिविमा गर्न नसकी होटलहरूमा गरिएको समाचार आएको छ । बैठकमा भएको माइन्युट विद्यार्थीहरूले कब्जामा लिएको कुरा बाहिरिएको छ । योभन्दा लोकलाज केही हुन सक्छ ? शैक्षिक अराजक के हुन सक्छ ? राज्य प्राज्ञिक क्षेत्रमा आगो लगाएर सत्ताप्राप्तिको गठबन्धनमा अभ्यस्त छ ।

कस्तो नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले निर्धारण गरेको शिक्षा नीति, यसको उद्देश्य र तदनुरूपको पाठ्यव्रmम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइको उपलब्धीजस्ता कुराले निर्धारण गर्छ । शिक्षा मानव संशाधन निर्माणको स्रोत हो । दक्ष जनशक्ति निर्माण गर्न अब्बल शिक्षा अनिवार्य शर्त हो । देशका हरेक क्षेत्रमा कार्यरत जनशक्ति देशका शिक्षालयहरूबाट उत्पादन हुने हुन् । पाब्लो पिकासोका अनुसार हरेक क्षेत्रको सफलताको पछाडि अब्बल कार्य क्षमताको आवश्यकता पर्छ । अब्बल कार्य क्षमताका लागि सक्षम जनशक्ति आवश्यक ठानिन्छ । अहिले, देशको राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवालगायतका ठाउँहरूमा अब्बल सेवा प्रवाह हुन नसक्नुको पछाडि देशको कमजोर शिक्षाको अवस्थामा हुनु हो ।

शिक्षाविद् चाल्र्स रंगेलले शिक्षालाई समाजको अज्ञानता र गरिबीसँग लड्न योग्य बनाउने साधनका रूपमा अथ्र्याएका छन् । हाम्रो देशको सन्दर्भमा उनको भनाइलाई आधार मान्दा समाजको अज्ञानता र गरिबी शिक्षाले निराकरण गर्न सकेको छैन । समाजमा अनेक प्रकारका विभेद व्याप्त छन् । सामाजिक चेतनाको स्तर कमसल छ । गरिबी ठूलो समस्याका रूपमा रहेको छ । यस्तो अवस्थामा राज्यले शिक्षालाई न त जीवन उपयोगी बनाउन सकेको छ, न त रोजगारमूलक । न त वैज्ञानिक, न त अनुसन्धानमूलक । देशका शैक्षिक संस्थाहरू बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाका रूपमा सञ्चालित छन् । बन्द, हडताल, राजनीतिक हस्तक्षेप भइरहेको छ ।

हाम्रो देशका विश्वविद्यालयहरू मात्र लथालिंग छैनन्, राज्यले विद्यालय शिक्षालाई पनि लथालिंग पारेको छ, भताभुंग बनाएको छ । सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको सिकाइ उपलब्धि खस्कँदै गएको विभिन्न तथ्यांकहरूले देखाएका छन् । शैक्षिक अनुशासन दिन प्रतिदिन गिर्दो छ । विद्यालय तहदेखि उच्च शिक्षासम्मका तहगत पाठ्यव्रmम एवं पाठ्यपुस्तकहरू समय सापेक्ष हुन नसकेको विज्ञहरूको ठहर छ । शिक्षण सिकाइ प्रभावकारी छैन । यस वर्षको कक्षा १२ को नतिजाले पनि शिक्षाको गुणस्तर खस्कँदै गएको संकेत गर्छ । ग्रेडिङ प्रणालीका नाममा सरकारले विद्यार्थीलाई श्रेणी चढाउने काम मात्र गरेको छ । शिक्षक तथा प्राध्यापकलाई स्तरीय शिक्षण सिकाइ गराउने प्राविधिक, नीतिगत एवं नियमनको व्यवस्था गर्नुको सट्टा विद्यार्थीहरूको तहगत सिकाइ उपलब्धि नभए पनि विद्यालय शिक्षा परीक्षामा अनुत्तीर्ण नगराउने निर्देशकको काम गरेको छ राज्यले । राज्यको यस्तो कार्यशैली शिक्षाको गुणस्तर भत्काउने कार्य होइन ? ध्वस्त पार्ने गतिविधि होइन ?

शिक्षा क्षेत्रलाई अझै भत्काउनु छ भने अविवेकको घन प्रहार गर, विश्वविद्यालयहरूलाई राजनीतिक प्रशिक्षण केन्द्र बनाऊ

असल मानव व्यवहारका साथै सामाजिक मूल्य, मान्यता र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम पनि शिक्षाको हो । शिक्षाको स्तरीयता शिक्षार्थीको मानसिक, नैतिक र बौद्घिक विकासमा प्रतिबिम्बित हुन्छ । अहिले त्रिभुवन विश्वविद्यालयमा भइरहेको अराजक गतिविधिले राज्यले कस्ता नागरिकहरू उत्पादन गरेको छ भन्ने कुराको पुष्टि गर्दछ । आज एकलव्यरूपी विद्यार्थीहरू उत्पादन गर्न राज्य कहाँ चुक्यो ? शिक्षालयहरू कहाँँ चुके ? श्रवणकुमाररूपी छोराछोरी उत्पादन गराउने अभिभावकहरूको आषा किन निराशामा परिणत हुँदै छ ? शिष्ट, सभ्य, शालीन र सुसंस्कृत नागरिकहरू उत्पादन गर्न देशको शिक्षाले किन काम गर्न सकेन ? उल्लेखित प्रश्नहरूको जवाफ खोज्नुको सट्टा शिक्षा क्षेत्रलाई अझै तहसनहस पारिँदै छ ।

आजको २१औं शताब्दीलाई विज्ञान र प्रविधिको विकास भएको युग भनिन्छ । समयको परिवर्तनसँगै विकसित भएको ज्ञान, विज्ञान तथा प्रविधिका उपलब्धिहरूलाई प्रयोग गरी देश विकास गर्नसक्ने सक्षम राज्य र सिर्जनशील नागरिक उत्पादन नगरी देश विकास सम्भव हुँदैन । बोकाले दाइ हुँदैन भनेझैं योग्यता, क्षमता र दृष्टिकोणबिना नै शिक्षा क्षेत्रको नेतृत्वमा पुग्ने व्यक्ति एवं व्यक्तित्वहरूका कारण आज शिक्षाको जग भत्किएको छ । चर्किएको छ । प्राज्ञिक स्तर गिरेको छ । शिक्षाको यस्तो अवस्था सुन्दर भविष्यको ठूलो चुनौती हो । अन्धकार भविष्यको संकेत हो ।

हाम्रो देश प्राकृतिक स्रोत र साधनले सम्पन्न राष्ट्र हो । प्रकृतिमा अथाह खनिज पदार्थ, पेट्रोलियम पदार्थ, जडीबुटी, उर्वर भूमि, जैविक विविधता, साँस्कृतिक, ऐतिहासिक सम्पदाहरू, पर्यटकीय स्थललगायत विकास निर्माणको स्रोत र आधारहरू प्रशस्त छन् । भूगर्भमा सुन, चाँदी, हिरा, मोती, फलाम, पेट्रोलियम पदार्थलगायतका वस्तुहरू प्रशस्त छन् । परन्तु, उल्लेखित क्षेत्रहरूको पहिचान, उत्खनन, उपयोग तथा व्यावसायीकरण हुन सकेको छैन । ’cause, शिक्षा वैज्ञानिक छैन, खोजमूलक छैन, राजनीतिको चंगुलमा फसेको छ र अलपत्र परेको छ ।

शिक्षा क्षेत्रलाई योभन्दा पनि बढी भत्काउन छ भने अझै अविवेकको घन प्रहार गर सरकार । विश्वविद्यालयहरूलाई राजनीतिक प्रशिक्षण केन्द्र बनाऊ । सक्षम युवाहरू उत्पादन हुन नसकेमा तिम्रा पछि लाग्नेछन् । ठिक र बेठिक खुट्याउन नसकेपछि तिमीले जे भने पनि ताली पड्काउनेछन् । भद्रगोल देशमा राज गर्न तिमीलाई अझै सहज हुनेछ । कमजोर सामाजिक चेतना भएको समाजमा विकासका सपना बाँडेर भोट आप्mनो पोल्टामा पार्न सहज हुनेछ । त्यसैले, शिक्षा क्षेत्रलाई अझै भत्काऊ । अझै भद्रगोल पार । अन्य क्षेत्रहरू आफैं ढल्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार