सशस्त्रमा एआईजीको दरबन्दी थप, आईजीपी अर्याल रुष्ट, आर्थिक चलखेलको आशंका


काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एउटा एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको संख्या तीन पुर्याएको हो । दरबन्दी थपको पत्र हिजो सोमबार मात्रै सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा आएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेशमा नभएको बेला सरकारले एआईजीको दरबन्दी थप गरेको हो । एआईजीको दरबन्दी थप गरिएको बेला महानिरीक्षक अर्याल अमेरिका थिए । उनी संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएका थिए । उनी अमेरिका भएको बेला २१ भदौको मन्त्रिपरिषद बैठकले एउटा एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीमा दुई ओटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीन ओटा पुर्याइएको हो । संगठनको ओएण्डएमबिनै सरकारले व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप गरेको हो ।

सरकारले एआईजीको एउटा दरबन्दी थपे पनि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भने एआईजीको मात्रै दरबन्दी थपका लागि औपचारिकरुपमा गृह मन्त्रालयमा कुनै पत्र पठाएको थिएन । सशस्त्र प्रहरी महानिरीक्षक अर्याल एआईजीको मात्रै दरबन्दी थप्न नहुने पक्षमा थिए ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँड र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको जोडबलमा एआईजीको दरबन्दी थप भएको हो । गृहसचिव पाण्डेलाई भने हिजोको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको छ ।

स्रोतका अनुसार सशस्त्रका डीआईजी बंशिराज दाहाल अब एआईजी बन्ने छन् । उनलाई नै एआईजी बनाउन दरबन्दी थप गरिएको स्रोतको दाबी छ । दरबन्दी थप गर्ने सिलसिलामा आर्थिक चलखेल भएको पनि स्रोतको दाबी छ ।

स्रोतका अनुसार थप गरिएको एआईजी पदमा तुरुन्तै बढुवा प्रक्रिया थाल्न पनि दबाब बढाइएको छ । महानिरीक्षक अर्याल भने तत्कालै बढुवा गर्ने पक्षमा छैनन् । सशस्त्र प्रहरीमा ६ साउनदेखि २२ असोजसम्म कसैको पनि बढुवा गर्न सशस्त्र प्रहरी नियमावली २०७२ ले दिँदैन ।
राजधानी अनलाइनले केही दिनअघि नै सशस्त्र प्रहरी प्रधान कार्यालयको स्वीकृतिबेगर नै एआईजीको दरबन्दी थप गर्न लागिएको समाचार छापेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 510 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ