जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज रेल यात्रा गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालगायतका नेताहरूलाई पार्टी प्रवेश गराउन जनकपुरधाम आइपुगेका पूर्वप्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराउने स्थलमा पुग्न रेल यात्रा गरेका हुन् ।
धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा उनकोे सभा थियो । ओलीले कार्यक्रम स्थलसम्म पुग्नका लागि टिकेट काटेर रेलको यात्रा गरेका छन् । उनले जनकपुरधामस्थित प्लेटफर्मबाट रेल चढेर महिनाथपुर स्टेसनसम्मको यात्रा गरेका छन् । अध्यक्ष ओलीका कारण शनिबार जनकपुरधाम–जयनगर रेल एक घण्टा ढिलो गुडेको छ । जनकपुरधामबाट जनयनगरका लागि प्रत्येक दिन बिहान ११ बजे गुड्ने रेल पूर्व प्रधानमन्त्री ओलीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो मध्यान्ह १२ बजेमात्रै गुडेको हो ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष ओली रेलबाटै जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल गुडाउनु परेको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । झाले भने, ‘अध्यक्षज्यु रेलबाटै जाने भनेपछि हामीलाई रेल गुडाउन केहीबेर पर्खिनु परेको थियो ।’
उनले रेल सुरु भएको मितिबाट अहिलेसम्म ढिलो कहिल्यै नगुडे पनि एमालेका नेता कार्यकर्ताहरूले आग्रह गरेपछि मात्रै ढिलो गुडाइएको बताए । अध्यक्ष ओली तथा एमालेको नेता कार्यकर्ताहरूको रेल यात्राका लागि कुल १४२ वटा टिकेट काटेका थिए । एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा टिकेट काटिएको महाप्रबन्धक झाले बताए ।
नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा चैत १९ गते रेलको उदघाटन गरेका थिए । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमा पहिलोचोटी ओलीले यात्रा गरेका छन् ।
गत भदौ २७ गते जनकपुरधाममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, धनुषा कांग्रेसका पूर्व उपसभापति संतोष यादवलगायतका नेताहरूलाई एमाले प्रवेश गराएको केही दिन नबित्दै पूर्व प्रधानमन्त्री ओली आज फेरी धनुषा आइपुगेका हुन् ।






