काठमाडौंबाट अछाम घर जाँदा मोबाइल चार्ज गर्नुपर्छ भन्दै मोबाइलको व्याकअप सँगै बोकेर हिँडेका थियौं । मोबाइलमा चार्ज सकिने डरले हिँड्दै घर जाँदा पनि बाटोमा अनुपम सौन्दर्यले भरिपूर्ण प्रकृतिसँग फोटो नखिची हिँड्नुप¥यो । आप्mना नाति, नातिनीले काठमाडौंमा हुर्कने क्रममा गरेका बालसुलभ बदमासीहरूको भिडियो घरमा ९५ बर्से बुबालाई जो देखाउनु थियो । उनकै आग्रहमा केटाकेटीका यस्ता भिडियोहरू संकलन गररे लगेका थियौं । बुबाले धित मरुन्जेल खुसी हुँदै हेर्नुभयो । ‘यसैगरी, म पनि चलेको, बोलेको यो मोबाइलभित्र यहाँ पनि हेर्न सकिन्छ ?’ उहाँले सोध्नुभयो ।
अरू देशका वैज्ञानिकले पृथ्वीमा बसेर कल्पना गर्न नसकिने सूर्यभित्र के भइरहेको छ भनेर हेरिरहँदा मेरो बुबाको प्रश्नले आँखाभरि आँसु ल्यायो । मोबाइल ब्याकपबाट मोबाइल चार्ज गरेपछि बुबाले पूजा गरेको, हिँडेको, खाएको, कुरा गरेको सबै रेकर्ड गरेर देखायौं । यो उमेरमा आफंैलाई त्यसरी मोबाइलभित्र देख्न पाउँदा उहाँ अत्यन्त खुसी हुनुभयो । उहाँको टिभीमा महाभारत, रामायणजस्ता धार्मिक कार्यक्रम हेर्ने इच्छा आपूmसँगै मरेर गयो । मेरो गाउँलाई नगरपालिका घोषणा गर्नुभन्दा बरु गाउँपालिका नै रहन दिएको भए सायद गाउँमा बिजुली नहुँदा भोग्नुपरेका यस्ता घटनाले मन त्यति दुख्दैन थियो ।
सुदूरपश्चिममा विद्युत् निकाल्न सकिने खोलानालाको कमी भएको होइन । कमी भएको हो त सिर्फ काम गर्ने इच्छाशक्तिको । गत वर्ष गरिएको एक अध्ययनअनुसार अहिले पनि सुदूरपश्चिम प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिकामा विद्युत् सुविधा पुग्न सकेको छैन । विद्युतीय गाडीको त कल्पना गर्न सकिन्न । पेट्रोल डिजेलबाट चल्ने गाडी कसरी गुड्छ होला ? एकपटक देख्न पाए, चढ्न पाए भन्ने नन्दको आवाजले अहिलेसम्म पिरोल्दैन थियो ।
सुदूरपश्चिममा विद्युत् निकाल्न सकिने खोलानालाको कमी भएको होइन, कमी भएको हो त सिर्फ काम गर्ने इच्छाशक्तिको
कुनै पनि गाउँपालिकालाई नगरपालिका घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्छ । नेपालको संविधानअनुसार नगरपालिका घोषणा गर्न विद्युत्, खानेपानी, सञ्चार र अन्य त्यस्तै सहरी सुविधा भएको अर्ध सहरी क्षेत्र हुनुपर्छ । साथै, न्यूनतम जनसंख्या २० हजार तथा वार्षिक न्यूनतम आम्दानी ५० लाख रुपैयाँ भएको हुनुपर्छ भनिएको छ । तर, पहाडी क्षेत्रको हकमा कम्तीमा १० हजार जनसंख्या र ५ लाख आम्दानी भए पुग्ने भनेर उल्लेख भएको छ । अछामको हुम्कुमा रहेको मेरो गाउँ पनि केही समयअगाडि कमलबजार नगरपालिका घोषणा भएको छ । कुन आधारमा नगरपालिकाभित्र पर्न सफल भयो, गम्भीर विषय भएको छ । हुन त, केही कारण भएरै यसो गरेको होला । जुन त्यहाँ बस्ने बासिन्दाले नदेखेको पनि हुनुपर्छ भन्ने सोचेर चित्त बुझाउनु परेको छ । नगरपालिका घोषणा भए पनि त्यहाँ बस्ने जनताका पीडा आफंैसँग छ । उनीहरूलाई अत्यावश्यक कामका लागि कतै हिँड्नुपर्दा यातायातका साधन अहिलेसम्म त्यहाँ पुग्न सकेका छैनन् । अछामको गैरीटाँडबाट मंगलसेन आउने साधनका लागि तीन घण्टा बालबच्चासहित सडकमा पर्खी बसेपछि बल्ल एउटा जिपमा जसोतसो मंगलसेन पुग्न सकेका थियौं । त्यहाँसम्म पुग्न पनि बिहानै सात बजे घरबाट हिँडेपछि झन्डै पाँच घण्टापछि बल्ल दिउँसोको १२ बजे गाडी चढ्ने ठाउँ गैरीटाँड पुगेका थियौं । समयमा यातायातका साधन नपाउँदा काठमाडौंबाट घर पुग्न चार दिन र घरबाट काठमाडौं फिर्ता हुन पाँच दिन गरेर नौ दिन हाम्रो बाटामै बितेको थियो । २० वर्षअगाीड बनाउन सुरु गरिएको कमलबजार विमानस्थल अहिलेसम्म सुचारु हुन सकेको छैन । गाँउलेहरूको आप्mनै श्रमदानले नजिकैको खोलाबाट बिजुली निकालेर एक वर्ष जति राति मात्र दुइटा चिम बाल्न सफल भएका थिए । त्यो पनि बिग्रिएपछि मर्मत सम्भार नहुँदा विगत तीन वर्षदेखि गाउँ फेरि अन्धकारमै छ । सरकारी तवरबाट अध्याँरो हटाउन गाउँसम्म बिजुली कहिले पुग्ने हो पत्तो छैन ।
वर्षौं पहिले सरकारका तर्फबाट सहयोग स्वरूप दिएका सोलार पुराना भएर काम गर्दैनन् । घरमा मोबाइल चार्ज गर्न नपाउँदा स्विच अफ गरेर राख्नुपर्छ । जसका कारण देश, विदेशमा रहेका आफन्तबाट आउने अति आवश्यक खबर पनि समयमा थाहा पाउन सकिँदैन । बिरामी पर्दा वा कुनै दुर्घटना हुँदा घरबाट दिनभरि हिँडेर मात्र मंगलसेन अस्पताल पुगिन्छ । त्यहाँ पनि विज्ञ डाक्टरको अभाव तथा आधुनिक उपकरणको अभावमा भनेजस्तो उपचार नपाउँदा बिरामीले नेपालगन्ज, धनगढी पुग्नुपर्ने बाध्यता रहेको छ । त्यहाँ पनि कडा रोगको उपचार हुन नसक्दा काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता रहेको छ । केही वर्षअगाडि मात्र अछामबाट छुट्टाछुट्टै समयमा गरेर सात जना आफन्त उपचारका लागि काठमाडौं आएर मसँगै बसेर उपचारपछि घर फर्किएका छन् । केही महिनाअगाडि पनि मिर्गौलाको उपचार गर्न एक जना बहिनी एक महिना मसँगै बसेकी थिइन् । बिग्रेको मिर्गाैलाको अपरेसन गर्न तीन दिन लामो यात्रा गरेर सुर्खेतको दुर्गम गाउँबाट यसकै लागि उनी दोस्रोचोटि काठमाडौं आएकी हुन् । उसै पनि आर्थिक अवस्था कमजोर भएका दुर्गमका जनतालाई यसले थप आर्थिक भार पर्दा झनै गरिब बन्न पुग्छन् ।
मेरो गाउँलगायत छिमेकी गाउँमा उत्पादन हुने अन्नपात, फलपूmल, घिउ, खसीबोका बेच्न यातायात तथा बजारको अभाव छ । जसका कारण कृषिउपज सडेर जान्छन् या गाईभैंसीलाई नै खुवाउनु पर्छ । यी र यस्तै कारणले त्यहाँका मानिसको परिश्रम खानपिनबाहेक दुई पैसा आम्दानी गर्न नसक्दा त्यसै खेर गएको छ । वर्षभरि भात खान चाहिने चामल ओखलमा कुट्नुपर्ने बाध्यता छ । गहुँ, मकै पिस्ने काम घट्ट वा जाँतोमै गर्नुपरेको छ । जसमा श्रमसँगै समय पनि बढी लाग्छ । जुन काम फाट्टफुट्ट कुनै पुरुषले गरिहाले पनि धेरैजसो महिलाले गर्छन् । योसँगै गाउँमा न त पत्रपत्रिका आइपुग्छन्, न बिजुलीको सुविधा नै छ । अरू साधन नपुगे पनि सल्लाको खोटो संकलनको लागि वनजंगलको विनाश गर्न व्यापारीहरू भने पुगेको देखिन्छ ।
यसका लागि स्थानीय निकायबाट अनुमति लिएको भए पनि यसबापत हुने आम्दानी स्थानीय जनताको सुविधामा खर्च भएको देखिँदैन । त्यहाँका जनतालाई सुसूचित बनाउने कुनै माध्यम देखिँदैन । छरपस्ट भएका कतिपय घर पनि बसाइसराइको कारणले रित्तो हुन पुगेका छन् । गाउँमा बस्ने मानिसको चहलपहल घट्नाले जंगली जनावरको बिगबिगी बढेको छ । खोलाबाट गाग्रीमा पानी बोक्दै घरधन्दा चलाउनुपर्छ । यो पनि थोरैजसो केटाकेटीबाहेक धेरैजसो महिलाले नै बोकेको देखिन्छ । पुरुषहरूले गाग्रीमा पानी भरेको देखिँदैन । पहाडका कतिपय ठाउँमा खेतीपाती गर्न आकासे पानीको भर पर्नुपर्ने बाध्यताका कारण कतिपयको खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण बेलाबेलामा बाजुरा, जुम्ला, रोल्पालगायत विभिन्न ठाउँमा खाद्यान्नको संकट हुने गरेको छ ।
स्वास्थ्य, शिक्षा, यातायात, गाँस, वासजस्ता समस्याको उचित व्यवस्थापन नगर्ने तर जनप्रतिनिधिहरूले विलासी जीवनयापन गर्ने प्रवृत्तिले जनआक्रोश बढ्दै जाने खतरा देखिन्छ
रोग लाग्दा, बिरामी पर्दा धामी, झाँक्रीलाई देखाउने चलन हट्न सकेको छैन । जसले गर्दा उपचारको नाममा झनै दीर्घकालीन समस्या ल्याउने गरेको छ । पश्चिमका विभिन्न जिल्लामा छाउपडी प्रथाले गहिरो जरा गाडेको छ । शौचालयको सुविधा नहुँदा खुला शौचालय गर्नुपर्ने बाध्यता छ । यसले पानीका मुहान दुषित हुँदा हैंजा, टाइफाइडजस्ता सरुवा रोगको आक्रमणले बर्सेनी धेरै जनाको ज्यान जाने गरेको सर्वविदितै छ । गत वर्ष मात्रै हुम्लामा मौसमी ज्वरोले सात जनाको ज्यान लिएको थियो । अहिले आएर वातावरण परिवर्तनका कारण पनि बाँच्नका लागि आवश्यक पर्ने गाँस, वास, कपासका लागि संघर्ष गर्नुपर्ने स्थिति देखा पर्न थालेको छ ।
वातावरण परिवर्तन भएसँगै आधुनिक तरिकाले वातावरण सुहाउँदो खेती गर्न नसक्दा खाद्यान्न संकट थपिँदै गएको छ । गाउँमा विकासको लहर ल्याउन मुख्य भूमिका खेल्ने ऊर्जावान् युवा विदेसिन बाध्य हुँदा गाउँमा विकास शून्य प्रायः छ । सरकारी स्कुलमा शिक्षाको गुणस्तरमा सुधार हुन नसक्दा विद्यार्थीहरू गाउँ छाडेर टाढा सहरका स्कुलमा गएर पढ्न बाध्य छन् । स्कुलमा पढाइ नहुने धुलो मात्रै खेलेर आउने भन्दै अभिभावकले आप्mना स्कुल जाने उमेर पुगिसकेका सन्तानलाई पनि स्कुल पठाएको देखिँदैन । गाउँ छोडेर टाढा सहरमा पढ्न पठाउने पनि छोराका हकमा मात्र लागू भएको छ । छोरीले पनि स्कुल जानैपर्छ भन्ने चेतना अहिलेसम्म पनि कतिपय त्यहाँका जनतामा आउन सकेको छैन । बालविवाह, जबरजस्ती भगाएर गरिने विवाह बन्द हुन सकेका छैनन् ।
आठ घण्टा काम, आठ घण्टा आराम तथा आठ घण्टा मनोरञ्जन भन्ने अन्तर्राष्ट्रिय मान्यता दुर्गमका जनतालाई थाहा छैन । गाउँमा कहिलेकाहीँ लाग्ने मेला, जात्रा तथा चाडपर्वबाहेक मनोरञ्जनका साधनको अभाव छ । बिजुली नहुँदा टेलिभिजन, रेडियोजस्ता सञ्चारका साधनको प्रयोग भएको छैन । घरका सदस्यहरू आआप्mनो काममा व्यस्त हुँदा र गाउँमा पनि बसाइसराइले मान्छे घट्दै गएकाले घरमा बसिरहने ज्येष्ठ नागरिकमा दिक्क मान्ने र टोलाउने समस्या देखिन थालेका छन् ।
उच्च शिक्षा, यातायात, स्वास्थ्य उपचार, सञ्चारजस्ता अत्यावश्यक कुराको सुविधा नभएका गाउँपालिकालाई पनि नगरपालिका घोषणा गर्दा न्यूनतम मापदण्ड पनि पूरा भएको देखिँदैन । आपूmलाई सुविधायुक्त गाडी थप्नेबाहेक जनताबाटै चुनिएका उच्च पदस्थ व्यक्तिहरूले यस्ता अत्यावश्यक कुरामा ध्यान दिएको अनुभव हुन सकेको छैन । जनताको करबाट करोडभन्दा माथि पर्ने विलासी गाडी किनेको सहन नसकेर त्यहाँका जनताले गत वर्ष मात्रै मंगलसेन नगरपालिकाको प्रमुखले चढ्ने गाडी जलाएका थिए । धैर्यको पनि सीमा हुन्छ ।
गाडी भाडा र चिया खर्च गरेर ४ सय पर्ने ठाउँमा ३० लाखको बिल बनाएर पेस गरेका जस्ता घटना सुन्दा दुर्गम क्षेत्रमा विकास होला भन्ने आश मरेर आउँछ । स्वास्थ्य, शिक्षा, यातायात, गाँस, वासजस्ता समस्याको उचित व्यवस्थापन नगर्ने तर जनप्रतिनिधिहरूले विलासी जीवनयापन गर्ने प्रवृत्तिले जनआक्रोश बढ्दै जाने खतरा देखिन्छ । यसले हाम्रो व्यवस्था तथा शासन प्रणालीलाई नै बद्नाम नगर्ला भन्न सकिँदैन ।






