मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफू दोषी नभएको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
उनले भने, ‘म दोष्ीा छैन, म अपराधी होइन, म भ्रटाचारी होइन र म भ्रष्टचार नगर्ने र गर्न पनि नदिने व्यक्ति हुँ तर कसैले भ्रष्टाचार गरेको छ भने उसलाई कारबाही हुनुपर्छ ।’ ललिता निवास प्रकरणमा अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने भन्दै उनले आफू भ्रष्टाचारी नभएको दाबी गरे । उनले कोही निर्दोष मान्छे फसेको भए त्यस्तो गर्न नहुने तर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । उनले पार्टीगत आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई मुद्दा चलाएजस्तो आफूलाई नलागेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री हुँदा कसैलाई नयाँ मोही बनाउन निर्णय नदिएको समेत स्पष्ट पारेका छन् । उनले एमसीसीको विषयमा अनुचित सर्त रहन नहुने बताए । यसको अध्ययनका लागि पार्टीले छुट्टै कार्यदल बनाएको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको उनको दाबी छ ।
इन्डोप्याफिक रणनीतिकै एउटा अंग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै एमसीसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राखे । नेता नेपालले हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रहरूसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जीडीपीको केही अंश अल्पविकसित राष्ट्रहरूलाई दिनु अधिकारभित्र पर्ने तर्क गरे ।
उनले वैदेशिक क्रृण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान् अभियान योजनाबद्धले खर्च गर्नुपर्ने बताए । सरकारको विषयमा उनले सरकारले कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने सुझाव दिए ।