मिथिलाञ्चलमा छठको रौनक

जनकपुरधाम । मिथिलाञ्चलको महापर्व छठको अवसरमा जनकपुरधामकमे प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको थियो । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ ।

छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीनी सर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरु लाई पुजाको लागि विशेष रुपले सजाइएको छ ।

स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् । राम युवा कमिटीका अध्यक्ष परमेश्वर साहले भने ‘दशैपछि नै हामी छठको तयारीमा लागेको थियौं ।’

छठमा केरा, भुसबा, ठकुवा, नारियल, उखु, मुला सहित विभिन्न फलफुल लिएर भक्तजनहरुले सूर्य लाई अर्घ दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।

आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाइ नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन् । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वास रहेको छ ।

संस्कृतिविद् एवं मैथिलीका साहित्यकार राकेशकुमार झा रसिकले यो पर्वले हामीलाई प्राकृतिलाई माया गर्ने संदेश दिएको बताए । जनकपुरधाममा सवै भन्दा उत्सवका साथ मनाइने छठ हेर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारत एवं तेस्रो देशबाट समेत पर्यटक एक जनकपुर आइ सकेका छन् । होटेल व्यवसायी अभिशेक झुनझुनवालाले उत्सवहरुले जनकपुरधामको पर्यटनलाई बढावा दिने गरेको वताए ।

सूर्यपूजाको चर्चा

सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्र्शिनक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ । ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पत्ति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरीक्ष एवम दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पत्ति भएको भनिएको छ ।

भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छठौँ दिनमा छठ पूजा हुने गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण अर्थात रावण हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार