जुम्ला । लोकगीत समुदायको गीत हो, समाजको सम्पति हो । तर पछिल्लो समय लोकगीतको नाममा विकृति देखा परेको छ । तर केहि यस्ता कलाकार पनि छन्, जसले क्यासेड, भिसिडिको जमाना देखी अहिले सम्म लोकगीतको मर्म र भावनालाई जोगाइरहेका छन् । गायिका राधिका हमाल २ दशक देखी लोकगीतलाई संरक्षण गर्दै यो क्षेत्रमा सक्रिय छन् । क्यासेट, भिसिडि देखी युट्युवको जमानासम्म आइपुग्दा पनि गायिका हमालको व्यवस्तता घटेको छैन । ‘हामी सँगैका कतिपय साथीहरु लोकदोहोरी क्षेत्रबाट पलायन भइसकेका छन्, तर मैले क्यासेड, भिसिडिदेखी युट्युव र मेला महोत्सवसम्म पनि व्यस्त हुन पाएँ । दर्शक श्रोताले सदाबहार रुचाउनुभएको छ । मेरो जीवनको महत्वपुर्ण उपलब्धि यहि नै हो जस्तो लाग्छ ।’
नेपाली लोकगीतको दुनियाँमा २०६२÷०६३ सालमा ढल्क्यो जवानी गीतमा कोरस आवाज राख्ने पहिलो प्रयोग गरिएको थियो । लोकगीतमा कोरस आवाज नयाँ प्रयोग थियो । तर लोकगीतको रुपरेखा नबिग्रने गरेर तयार गरिएको नयाँ सृजनाले दर्शक र श्रोताको मन जित्न सफल भएको गायिका हमालको दाबी छ । ‘२०६२ सालमा ढल्क्यो जवानी…. भन्ने गीतमा कोरस आवाज राखेका थियौं, लोकदोहोरी गीतमा कोरस राख्ने यो नै पहिलो प्रयास थियो ।’ उनले भनिन् ‘लोकदोहोरीमा पनि कोरस आवाज राख्ने भनेर विरोध पनि भयो, तर म रोल्पामा जन्मे पनि ढल्क्यो जवानी गीतले पश्चिममा मात्रै बजार हेरेन, त्यहि गीतका कारण पुर्वका थुप्रै मेला महोत्सवमा पुग्ने अवशर मिल्यो, देशभर गीतले राम्रो बजार लियो । राम्रो सृजनाले दर्शक श्रोताको मन आफै तान्छ ।’
रोल्पा स्थाइ घर भएतापनि गायिका हमालको जन्म भारतमा भएको हो । लोकगीतमा बाल्यकालबाटै रुचि राख्ने हमालले २०५४ साल बाट औपचारिक गायन यात्रा सुरु भएको बताइन् । झण्डै तीन हजार गितमा आवाज दिएकी हमालले ढाडिभाका र देउडामा पनि स्वर दिएकी छन् । लोक गीतमा माया प्रीति,मिलन बिछोड,सुख,दुखको भाव मात्र हुदैन, संदेश पनि हुन्छ । गायक पशुपति शर्मा सँग गाइएको क्याम्पस पढन आउने गितले युवा पिँिढले नपढ्दा हुने ग्लानी देखाउन खोजिएको उनले बताइन । क्याम्पस पढ्न आउने गीत गायिका हमालको सदावहार गीतका रुपमा परिचित छ । यहि गीत पछि युवा पिँढी र क्याम्पस स्तरका विद्यार्थीले दोहोरी रुचाउने वातावरण तय भएको उनको दावी छ ।
गाउँदै देश, विदेश घुम्नु र दर्शकको माया पाउनु कलाकारको लागी सम्पति सरह हुने गायिका हमाल बताइन । ‘एउटै जिल्लाको मेला महोत्सवमा २० पटक सम्म पनि दोहोरिएको इतिहास छ । साँस्कृतिक विविधता भएको मुलुकमा गाउँदै, रमाउदै, समाज बुझ्न पाउनु मेरो लागी ठुलो उपलब्धि हो । लोकगीत समाज देखाउने ऐना भएकोले यस क्षेत्रमा विकृति विसँगति मौलाउन नदिन कलाकार देखी दर्शक श्रोताले समेत सक्रियता देखाउनु पर्ने गायिका हमालको धारणा छ ।






