कैलालीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ पुष्टि

टीकापुर । कैलालीको भजनी नगरपालिकामा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखा परेको पुष्टि भएको छ । बंगुर, सुँगुर र बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर देखा परेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको हो ।

भजनी नगरपालिका–३ मा रहेको बडीमालिका बंगुर फार्ममा ३१० बंगुर मरेपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालालमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ पुष्टि भएको जनाइएको छ । बंगुर, सुँगुर र बँदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर कैलालीमा देखपरेपछि किसानहरूलाई जैविक उपाय अपनाउन आग्रह गरिएको छ ।

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रियर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए । उनले बंगुर, सुँगुर र बँदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री भन्दामाथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने बताए ।
अफ्रिकन स्वाइन फिभर जस्तै लक्षण बंगुरको हैजालगायतका अन्य रोगहरूमा पनि देखिने हुँदा रोग यकिन गर्न प्रयोगशाला परीक्षण गर्नुपर्ने उनले बताए । रोग लागेको थाहा हुने बित्तिकै संक्रमित बंगुर, सुँगुर र बँदेल अलग्गै राख्नुका साथै रोगी बंगुर, सुँगुर र बँदेलको ओसार–पसार र किनबेच नगर्न जोशीले सुझाव दिए ।

कैलालीमा एकै फार्ममा ३१० बंगुर अफ्रिकन स्वाइन फिभरका कारण मरेपछि सचेत हुनपर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर जोशीको भनाइ छ । अफ्रिकन स्वाइन फिभर कैलालीमा देखिएकोले यसबाट बंगुर किसानलाई ठूलो आर्थिक क्षति हुने जोखिम बढेको बताउँदै उनले यो रोगको उपचार नभएकाले किसानहरूले जैविक सुरक्षामा ध्यान दिन आवश्यक भएको बताए ।
अफ्रिकन स्वाइन फिभर विरुद्ध हालसम्म कुनै खोप र रोग विरुद्ध प्रभावकारी उपचार नभएकाले यो रोगले महामारीको रुप लिएमा किसानलाई ठूलो आर्थिक क्षति गराउने हुँदा बंगुर मरेमा वा रोगका लक्षण देखिएमा तत्काल पशु सेवा शाखालाई जानकारी गराउन किसानलाई आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)

epaper

ताजा समाचार

लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते