बुटवल । बुटवलमा कोरोना भाइरस प्रकोपको पूर्वतयारीका कार्यक्रमलाई प्रभावकारी बनाइएको छ । बुटवल उपमहानगरपालिकाले यहाँका स्वास्थ्यसंस्था, निजी क्षेत्र र सरोकारवालासँगको सहकार्यमा प्रकोप पूर्वतयारीको कामलाई तीव्रता दिएको हो ।
बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवं औषधि व्यवसायीसँगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा सय शøयाको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण सुरु भएको छ । अस्पताल शनिबारसम्म सञ्चालन हुनेगरी निर्माण थालिएको हो । बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।
बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका–१० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा निर्माणमा खटिएका छन् ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, अस्पतालका मेसु डा. राजेन्द्र खनाल, बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहित वडाध्यक्ष, बुटवल उपमहानगरका प्राविधिक, अस्पतालका स्वास्थ्य प्राविधिक, विशेषज्ञ शुक्रबार बिहानैदेखि निर्माणस्थलमा खटिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
निर्माणस्थलको अनुगमन तथा निरीक्षणका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीलगायत पुगेका छन् । बुटवलमा क्वारेन्टाइनका लागि सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करिब सय शøयाको अस्पताल बनाउने काम सुरु गरिएको नगरप्रमुख सुवेदीले बताए । लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालका रूपमा प्रयोग गरिएको र निजी क्षेत्रको समेत सहकार्यमा यसको प्रभावकारी सञ्चालन गरिने उनले बताए ।
पहिलो चरणमा एउटा ब्लकमा सय बेडको आइसोलेसन कक्ष निर्माण गर्ने काम चलिरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । अहिले आइसोलेसनसँगै बाहिरी क्षेत्रमा घेराबार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउने काम भइरहेको उनले बताए ।
बुटवल उपमहानगरपालिकाले क्वारेन्टाइनका लागि हाल बिदा भएका र एसईईको केन्द्रसमेत नतोकिएका सामुदायिक विद्यालयका करिब सय कोठालाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखेको छ । ती विद्यालयमा उपयुक्त शौचालय, स्नानाघर, भान्सा कोठादेखि उपयुक्त बिस्तारासम्मको व्यवस्था मिलाउने काम भइरहेको उपमहानगरका स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए ।
बुटवलभित्रकै सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमणका बिरामीको उपचारका लागि डेढ दर्जनबढी आइसोलेसन शय्या तयार रहेको दाबी गरिए पनि कोरोनासँग मिल्दो लक्षण लिएर आउने बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको छ । बुटवलमा हाल आइसोलेसनका लागि ३४ शøया तयारी अवस्थामा रहेको प्रदेश ५ स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बताए ।
बुटवलमा आशंकामा भर्ना भएका र परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएका कसैमा पनि कोरोनाको संक्रमण नपाइएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।






