तुलसीपुर उपमहानगर–३ प्रतापकोटबाट जितबहादुर घर्ती दैनिकजसो तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगर अग्लो डाँडो अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको ‘जून हेरे’जस्तो लाग्थ्यो । वर्षांैदेखि बजारको उज्यालो हेर्दै मन अमिलो बनाउन बाध्य उनीजस्ता कयांैको खुसी तीन महिनादेखि उचाइमा पुगेको छ ।
मोबाइल चार्ज गर्नका लागि समेत बजार जानुपर्ने बाध्यता भोग्दै आएका यहाँका जनता अब भने घरमा टेलिभिजन राख्ने सोच बनाइरहेका छन् । ‘बत्ती आएर हाम्रो घर मात्रै होइन, मन पनि उज्यालो भएको छ,’ स्थानीय लीलामणि बाँठा भन्छन्, ‘मोबाइल चार्ज गर्न पनि तीन घण्टा हिँडेर बजार जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’
अग्लो डाँडा अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको जून हेरे जस्तो लाग्थ्यो । वर्षौंंदेखि बजारको उज्यालो हेर्दै मन अमिलो बनाउन बाध्य उनीजस्ता कयौंको खुसी तीन महिनादेखि उचाइमा पुगेको छ
सोलारबाट सामान्य बत्ती बाल्ने जोहो गरे पनि वर्षामा त्यसले कामै नगर्ने उनी बताउँछन् । ‘वर्षा लाग्दा बाटोका कारण बजार पनि जान मिल्दैनथ्यो, बत्तीबिनाको अँध्यारो मात्रै होइन, फोन गर्न पनि सकिन्नथ्यो,’ बाँठाले विगत सम्झिए ।
तर, तीन महिनायता भने उनीहरूको जीवन सहज भएको छ । ‘बत्ती भएपछि धेरै कुराको सजिलो भएको छ,’ प्रतापकोटकी सुनिता गुरुङ भन्छिन्, ‘बत्ती आएपछि गाउँ नै झलमल्ल भएको छ ।’ राति टुकी बाल्दा आगलागीको खतरा हुने गुरुङ सुनाउँछिन् । स्थानीय विद्यार्थी झरना बुढाले रातको समय पढ्न सजिलो भएको सुनाइन् । बत्ती आए पनि भोल्टेज पुरै नआएको भन्दै उनले विद्युत् प्राधिकरणलाई अनुरोध गरिएको पनि सुनाइन् ।
तुलसीपुर उपमहानगरको पहलमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् नपुगेका थर्कोट, प्रतापकोट, अम्वास, किमुगैरालगायतका ठाउँमा विद्युत् विस्तार गरिरहेको वडाध्यक्ष विजय विकले जानकारी दिए । उनका अनुसार वर्षाैंदेखि बत्ती नै नपुगेको ठाउँमा स्थानीय सरकारको पहलमा पु-याउने काम भइरहेको छ । वडा ३ का विकट ठाउँमा रहेका ४ सय ८५ घरमा यसै वर्ष बत्ती पु-याउने गरी काम अघि बढाइएको छ ।






