बदर मत घटाउने नीति सबै स्थानीय तहमा नमुना मतदान

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने रणनीतिसहित निर्वाचन आयोगले देशभर ‘नमुना मतदान’ थालेको छ । स्थानीय तहमा उल्लेख्य संख्यामा मत बदर भएपछि आयोगले ‘बदर मत संख्या कम गर्न’ भन्दै देशका ७ सय ५३ वटै स्थानीय तहमा ‘नमुना मतदान’ नीति लिएको हो ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेल सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति रहेको बताउँछन् । ‘बदर मत सकेसम्म कसरी कम गर्ने भन्ने नीति आयोगले लिएको छ, देशभर नमुना मतदान गरेर सही तरिका सिकाउँदै छौं,’ उनले राजधानीसँग भने, ‘सकेसम्म डोर टु डोर मतदाता शिक्षा दिने योजना पनि बनाएको छ ।’

मतदाता शिक्षा ‘डोर टु डोर’

आयोग सहायक प्रवक्ता ऋषिराम भुषाल ७ सय ५३ वटै स्थानीय तहमा नमुना मतदान गरिने जानकारी दिन्छन् । उनका अनुसार स्थानीय तहको केन्द्रबाट सबै वडालाई उपयुक्त पर्ने स्थानमा नमुना मतदान नीति लिइएको छ । केही स्थानीय तहमा नमुना मतदान सम्पन्न भइसकेको छ । गत १८ कात्तिकबाटै मतदाता शिक्षा कार्यक्रमसमेत सुरु भइसकेको छ ।

मतदाता शिक्षा कार्यकर्तामार्फत आयोगले मतदान गर्ने सही तरिका सिकाउनेछ भने मत खेर जाने अवस्था विषयमा जानकारी दिने जनाएको छ । ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम गत १ मंसिरसम्म आयोजना गरिनेछ । मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई कार्यकर्ता तोकेर खटाइसकिएको छ ।

‘देशका ६ हजार ७ सय ४३ वडामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु भइसकेको छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोग सहायक प्रवक्ता भुषाल भन्छन् ।

केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक जना परिचालन तयारी गर्ने आयोगको छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिनेछ ।

यसैगरी, प्रत्येक मतदाता शिक्षा कार्यकर्ताले एक÷एक फ्लिप चार्टर (नछुटाई बताउनुपर्ने विषयवस्तु समेटिएको सामग्री, मतदानको महत्व, कसरी र किन गर्ने ? आचारसंहिताको महत्वलगायत आधारभूत पक्ष समेटिएका सामग्री) दिएर मतदातालाई भन्नैपर्ने कुरा जानकारी गराउने आयोगको तयारी छ ।

मतदाता शिक्षा कार्यक्रमका लागि खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउने र तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ । आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एक अधिकृतलाई तालिम दिएर सम्पर्क व्यक्तिसमेत तोकिसकेको छ । मतदाता शिक्षाका लागि छपाइ भएका सामग्री जिल्लामा पठाइसकिएको छ ।

त्यस्तै, आयोगले रेडियो, टेलिभिजन र छापा माध्यमबाट पनि मतदाता शिक्षालाई तीव्रता दिइरहेको छ । यसअन्तर्गत सबै पालिकामा नमुना मतदानसमेत गराइने भएको छ । पालिका केन्द्रमा सबै वडाका मतदाता समेटेर नमुना मतदान गराउने आयोगको तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

बडा दसैँको टीका सुरु