काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखलगायत ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डे, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब–इन्जिनियर नारायण ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
सल्यान त्रिवेणी गाउँपालिका–१ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समिति अध्यक्षसमेतको मिलेमतोमा आफूअनुकुल ‘इस्टिमेट चेन्ज’ गरी सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
आफूअनुकूल इस्टिमेट परिवर्तन गरी सडक निर्माणमा रकम हिनामिना गरेको अख्तियारको दाबी छ । उपभोक्ता समितिसँग भएको सम्झौताको सर्त र स्वीकृत लागत अनुमानविपरीत ‘भेरिएसन’ स्वीकृत नगरी आफूखुसी जथाभावी निर्माण कार्य गरी÷गराई ४३ लाख २२ हजार १ सय ५५ रुपैयाँ ६६ पैसा भ्रष्टाचार गरेको उसले दाबी गरेको छ ।
उनीहरूले सम्झौताविपरीत स्वीकृत लागत अनुमान ‘भेरिफिकेसन’ गरी मूल्यांकन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात् डिजाइन र नम्सविपरीत उपभोक्ता समितिलाई ४३ लाख २२ हजार १ सय ५५ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
सोही कार्यमा बाघमारे दाङ सडक निर्माण उपभोक्ता समिति अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर केसीसमेतले सम्झौताविपरीत बिल बनाई भ्रष्टाचार गरेको आयोगले उनीहरूविरुद्द जनही ४३ लाख २२ हजार १ सय ५५ बिगो माग दाबीसहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।






