काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमार्फत १ हजार ६ सय ५६ किलोमिटर सूचना महामार्ग निर्माण (अप्टिकल फाइबर बिछ्याउने) कार्य गर्दा २ अर्ब ९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ ।
प्राधिकरणले तीनओटा प्याकेजमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्नेगरी कुल ९ अर्ब ८९ करोड १७ लाखको सम्झौता गरेको थियो । सम्झौताबमोजिम हालसम्म ७७ प्रतिशत मात्रै कार्य प्रगति भएको छ ।
प्राधिकरणले तय गरेको सूचना महामार्गको तीनवटा प्याकेजमध्ये पहिलो प्याकेजमा प्रदेश १, मधेस र बाग्मती प्रदेशमा ६०.८५ प्रतिशत सम्पन्न भएको जनाएको छ । यो प्याकेजमा नेपाल दूरसञ्चार कम्पनीसँग दुई वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएबमोजिम सो क्षेत्रमा १ हजार ३ सय २६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
सो क्षेत्रमा डीडब्लूडीएम सिस्टम जडान भएको र ४७ वटा कोर राउटर इक्विपमेन्ट जडान कार्य सम्पन्न भएको जनाइएको छ । प्याकेज दुईअन्तर्गत युनाइटेड टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा हालसम्म कुनै प्रगति नभएको जनाइएको छ । दुई वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएकोमा निजको सम्झौताबमोजिम कार्यको प्रगति शून्य रहेको हुँदा आयोजना सम्पन्न हुनेमा प्राधिकरणले विश्वास गर्न नसकेपछि सम्झौताको म्याद थप नगर्ने भएको छ ।
सो निर्णय बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र सो विषयमा सर्वोच्च अदालतबाट सो रिट निवेदनको टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भइसकेको छ । नेपाल टेलिकमले ठेक्का लिएको तेस्रो प्याकेजअन्तर्गतको प्याकेज ३ को कर्णाली र सुदूरपश्चिमको क्षेत्रमा ३ सय ३० किलोमिटर एडीएसएस जडान कार्य सम्पन्न भएको जनाइएको छ ।
हाई क्यापासिटी डीडब्लूडीएम उपकरणअन्तर्गत २६ मध्ये २३ वटा स्थानमा जडान सम्पन्न भई १६ साइटको एसेप्टेन्स सर्टिफिकेट जारी भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना महामार्ग अर्थात् अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि प्याकेज १ अन्तर्गत टेलिकमसँग २ हजार १ सय ७९ किलोमिटरको सम्झौता भएको थियो ।
जसमा १ हजार ३ सय किलोमिटर सम्पन्न भएको छ । युनाइटेड टेलिकमसँग २ हजार १ सय ६० किलोमिटरका लागि भएको सम्झौता कार्यान्वयनमा नगएपछि मुद्दामा गएको छ भने १ हजार ९ सय ९२ किलोमिटरका लागि प्याकेज ३ अन्तर्गत कर्णाली र सुदूरपश्चिम क्षेत्रमा ३ सय ३० किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने कार्य भएको छ ।
सम्झौताअनुसार प्याकेज १ पर्ने प्रदेश १, मधेस र बाग्मतीमा २८ वटा डीडब्लूडीएम सिस्टम जडान हुनुपर्नेमा २७ वटा जडान भइसकेको छ । ४८ वटा कोर राउटर इक्विपेन्ट जडान गर्नुपर्नेमा ४७ वटा जडान भइसकेको छ । गण्डकी र लुम्बिनी प्रदेश रहेको प्याकेज नम्बर २ मा भने २१ वटा डीडब्लूडीएम सिस्टम र ७३ वटा कोर इक्विपमेन्ट राउटर जडान गर्ने सम्झौता भएको थियो ।
कर्णाली र सुदूरपश्चिम क्षेत्रको प्याकेज नं ३ मा भने २८ वटा डीडब्लूडीएम सिस्टम जडान गर्नुपर्नेमा २३ वटा जडान भइसकेको छ भने ५६ वटा कोर राउटर इक्विपमेन्ट जडान हुनुपर्नेमा ४६ वटा जडान भइसकेको छ ।






