मेरो आफ्नै परिचय छ : विद्या भट्टराई

पोखरा । कास्की क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता विद्या भट्टराईले आफ्नो छुट्टै परिचय रहेको जिकिर गरेकी छन् । पोखरामा बुधबार एक कार्यक्रममा उनले आफ्ना स्व. पति रवीन्द्र अधिकारीको विरासतमा चुनाव जितेको भन्ने कुराको खण्डन गर्दै आफ्नै छुट्टै परिचय पहिलो भएको बताएकी हुन् ।

मेरो सहधर्मी र मेरो जीवनसाथीसँगको मेरो पहिचान दोस्रो हो । तर मेरो पहिचाने पहिचान भनेको मेरो, व्यवहार, जनताले गरेको विश्वासलाई पहिलो आधार मानेकी छु, उनले भनिन् ।

‘सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ । एउटा घटनाले र अर्को विभिन्न आन्दोलन र अभ्यासले निर्माण गर्छ,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भनिन्, ‘आज समाज विकासको नियम हेर्ने हो भने घटनाले समाज बदलिइरहेको छ । म पनि एउटा घटनाले संसदमा आएको हो । तर राजनीतिमा म घटनाले आएको हैन । राजनीति गर्दागर्दै पेसाकर्मी भए हुँला, अनुसन्धानकर्ता भए हुँला । उहाँ (स्व. रवीन्द्र) को विरासतबाट कुनै लाभ लिएकी छैन ।’

संघीय संसदमा दोस्रो यात्रामा उनले विगतमा झैं कानुन निर्माणमा पहिलो प्राथमिकता रहने बताइन् । उनले आफूले सधैं महिला मुद्दाको विषयलाई बढी ध्यान दिएको दाबी गर्दै उनले कास्की २ का मतदाताको हितमा काम गर्ने प्रतिबद्धता जनाइन् । लगातार ३ पटकसम्म चुनाव जितेका रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि कास्की २ मा २०७५ सालको उपनिर्वाचनमा विद्या निर्वाचित भएकी हुन् ।
गत ४ मंसिरको चुनावमा उनी १६ हजार ९ सय ९८ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ प्राप्त गर्दा पाँचदलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मदवार श्रीनाथ बरालले मात्र ९ हजार ६ सय ५९ मत ल्याएका छन् । यसपालि विद्यासहित मात्र ७ महिला उम्मेदवार संघमा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ कास्की ९ सिटमध्ये एमालेले ७ सिट जितेको छ । एमाले कास्की २(२) र कास्की ३(२) कांग्रेसलाई सुम्पिन पुगेको हो ।

कास्की २(१) बाट निर्वाचित एमालेका भीमबहादुर कार्कीले जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । नेकपा एमाले निर्वाचन परिचालन कमिटी कास्की क्षेत्र नम्बर २ संयोजक तेजनारायण अधिकारीले प्रतिनिधिसभा कास्की २ मा १९ लाख ८९ हजार, प्रदेशसभा कास्की २(१) मा १३ लाख १५ हजार र २(२) मा ११ लाख २३ हजार मात्र चुनावी खर्च भएको सार्वजनिक गरे । निर्वाचन आयोगले दिएको उम्मेदवारका प्रतिनिधि तथा उम्मेदवार स्वयंको खाताबाट रकम खर्च भएको उनको भनाइ छ । यसपालि एमालेले जनतासँग पैसा नमागी पार्टीले सहयोग गरेको र उम्मेदवार आफैंले ऋणधन गरेर खर्चिएको अधिकारीले बताए ।

देशीविदेशी प्रतिक्रियावादीको चौतर्फी घेराबन्दी, सत्तारुढ गठबन्धनको हरेकखालको तिकडम, राज्यसत्ताको चरम दुरुपयोग समेत परास्त गरेर पनि कास्कीमा आफ्नो विरासत कायम गर्न सकेकोमा भन्दै एमालेले सबै मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 623 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान