काम चलाउ सरकारमा बिचौलियातन्त्र

नेपालमा वर्षौदेखि, बिचौलिया तस्कर र भूमाफियाले खतरनाक खेल खेल्दै आइरहेका छन् । यहाँका अधिकांश राजनीतिक दल र तिनका नेता बिचौलियाको घेरामा छन् भने शासन सञ्चालनमा नै ती बिचौलिया तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहँदै आइरहेको छ । सरकार बनाउने र ढाल्नसमेत ती माफिया र तस्करको उस्तै भूमिका रहने गरेको तथ्य हामीसँग छ ।

भर्खरै मात्रै निर्वाचन सम्पन्न भएर ताजा जनादेश प्राप्त भइसकेको छ । वर्तमान सरकार कामचलाउ सरकार हो र यो सरकार अब छिट्टै बिस्थापित हुने क्रममा छ तर पनि यही सरकारका मन्त्रीहरू अहिले पनि बिचौलियामार्फत विभिन्न धन्दा सञ्चालन गर्न सक्रिय छन् । कामचलाउ सरकारले जेलमा रहेका बन्दीलाई मुक्त गर्नेगरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ भने प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन चलखेल थालिएको छ । ३० वर्षे सेवा अवधि हटाउने गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । यो खेलमा प्रधानमन्त्री र उनका निकट व्यक्तिहरू लागेका सूचनाहरू सार्वजनिक भइरहेका छन् । बालुवाटारसँग उठबस भएका विचौलिया र माफियालगायतका व्यक्तिहरू यो धन्दामा सक्रिय भएको बताइन्छ ।

विचौलियाले यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वलाई नै खरिद बिक्री गर्नेसम्मका हैसियत राख्दै आइरहेका छन् । सोहीअनुसार काम चलाउ सरकारका उच्च पदस्थसमेत विचौलियाकै योजनाअनुसार चलिरहेको देखिन्छ जुन निकै दुःखद र विडम्बनापूर्ण छ ।

हामीकहाँ विचौलियाको जालोभित्र राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, न्यायिक नेतृत्व तथा नागरिक समाजका अगुवा भनाउँदा व्यक्तित्वसमेत नराम्ररी गाँजिन पुगेका छन् ।

राजनीतिक नेतृत्व भ्रष्टचारमा लिप्त भइरहँदा हाम्रा केही सरकारी कर्मचारी तथा न्याय क्षेत्रका केही अगुवासमेत राजनीतिक नेतृत्वकै भ्रष्टचारी खेलमा सहयोगी बनिरहेको अवस्था छ ।

हामीकहाँ विचौलियामार्फत सबै क्षेत्र नराम्ररी विकृत भइरहेको छ । यहाँ कृषि, वन, यातायात, सिँचाइ, नापतौल, खानी, उद्योग, वाणिज्य, जलस्रोत, शिक्षा, आपूर्तिलगायत तथा विभिन्न विकास निर्माणका क्षेत्रमा समेत बिचौलिया हाबी हुन पुग्दा चरम विकृति देखापरिरहेका छन् ।

बिचौलिया तथा माफिया निकै शक्तिशाली अवस्थामा छन् । राजनीतिमा अपराधीकरणको पारो जुन रूपमा घट्नुपर्ने हो सो रूपमा घट्न सकेको छैन । दण्डहीनताको प्रवृत्ति उस्तै छ । समाजमा बद्मासी गरेर पनि पैसा कमाउने व्यक्ति नै पुजनीय हुने प्रवृत्ति व्यापक छ ।

विगतमा लामो सयमदेखि कायम रहँदै आएको तस्कर, बिचौलिया, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको गलत नेक्ससका कारण पनि विकास निर्माणदेखि सुशासनका सबैखाले अभियानहरू अवरुद्ध रहँदै आएका छन् । जसका कारण देश र नागरिकले विभिन्न खाले समस्या भोग्नु परिरहेको छ । सरकारी संयन्त्रको नालायकीपनका कारण मूल्यवृद्धि आकासिँदो छ । स्वास्थ्य र शिक्षा सेवा अत्याधिक महँगो भइरहेको छ । स्वास्थ्य र शिक्षामा व्याप्त माफिया र बिचौलियाको जालो तोड्न नसक्दा नागरिक निकै आक्रान्त बन्न पुगेका छन् । राजनीतिमा अपराधीकरण घुलमिल गराउन यिनै बिचौलियाको भूमिका सशक्त छ । वर्तमान काम चलाउ सरकारमा रहेकामा अलिकति पनि नैतिकता र इमान बाँकी छ भने घर जाने बेलामा बिचौलियासँगको सम्बन्ध पूर्णरूपमा बिच्छेद गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद