काठमाडौं । आगामी २०८० सालको नयाँ वर्ष अर्थात बैशाखमा रिलिज गरिने भनिएको झरना थापाको चलचित्र ‘भगवत गीता’को छायाँकन अझै सुरु भएको छैन । यो चलचित्रको लागि नायक खोज्न नै करिब एक वर्ष लागेपछि भगवत गीतको छायाँकन निर्धारित समयमा सुरु हुन सकेन ।
यो चलचित्रमा यतिबेला भने नायकको रुपमा धिरज मगर चयन भएका छन् । यस अघि झरनाको दुई वटा चलचित्र ए मेरो हजुर ३ र ए मेरो हजुर ४ मा नायक रहेका अभिनेता अनमोल केसीलाई नै भगवत गीतमा नायक लिने तयारीमा झरना थापा थिईन् । तर अनमोलले यो फिल्ममा समय दिन नसक्ने बताएपछि उनले धिरज मगरलाई नायकको प्रस्ताव गरे ।
यस अघि इन्टु मिन्टु लन्डनमा, वावरी लगायतका सफल चलचित्र दिएका अभिनेता मगरले ४० लाख रुपैयाँ पारिश्रमिक माग गरेपछि झरनाले धिरजलाई नलिएर नयाँ नायक लिने तयारी गरेकी थिईन् । जसका लागि नयाँ नायकको अडिसन पनि आह्वान गरियो । तर अडिसनबाट भनेको जस्तो नव नायक नभेटिएपछि मँगलबार यो फिल्मको लागि अभिनेता धिरज मगरलाई नै अनुबन्धित गरिएको छ ।
यो फिल्मको नायिकाको रुपमा झरनाकै छोरी सुहाना थापा छिन् । उनले पनि नयाँ भन्दा स्टार कलाकारसँगै काम गर्ने चाहना देखाएपछि यो फिल्मका निर्माता तथा झरनाका श्रीमान सुनिल कुमार थापाले धिरज मगरलाई नै चलचित्रको नायकमा अनुबन्धित गरेका छन् ।
दशैं अघि नै छायाँकन सुरु गरिने भनिएको यो फिल्मको अब छायाँकन सुरु हुने भएको छ । आफुहरुलाई यो फिल्मको लागि आदिबासी जनजाति समुहकै अभिनेता नै चालिएकाले धिरजलाई लिएको निर्देशक झरनाले बताएकी छिन् । आफुहरुले अडिसनबाट छानिएका कलाकारहरु मध्य मुख्य नायक नलिए पनि अरु कलाकार लिने पनि झरनाले बताएकी छिन् । यो चलचित्रको टिजर ६ महिना अघि नै सार्वजनिक गरिएको थियो । तथापि फिल्मलाई आगामी नयाँ वर्षमै ल्याउने योजना आफुहरुको रहेको पनि उनले बताएकी छिन् ।






